५ असार, काठमाडौं । के एउटै व्यक्ति दुईवटा पार्टीको केन्द्रीय अध्यक्ष बन्न सक्छ ? लिम्बुवानमा यस्तै जात्रा देखिएको छ । कुमार लिङदेन त्यस्ता नेता हुन्, जो दुईवटा पार्टीको साझा अध्यक्ष छन् ।
लिम्बुवानी नेता लिङदेनले निर्वाचन आयोगमा दर्ता गरिसकेको एउटा पार्टीको महाधिवेशनका लागि दर्ता हुन बाँकी रहेको अर्को पार्टीको लेटरप्याड प्रयोग गरेका छन् । तर, दुबै पार्टीको अध्यक्ष उनी आफैं हुन् ।
आजभन्दा दुई वर्षअघिसम्म लिङदेन ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ नामक पार्टीको केन्द्रीय अध्यक्ष थिए । सो दल निर्वाचन आयोगमा दर्ता थियो ।
पहिलो संविधानसभामा सोही मञ्चका तर्फबाट रुक्मिणी चौधरी र राजेन्द्र नाल्बो सभासद बनेका थिए । पछि पार्टी विभाजन भयो र रुक्मिणीले बेग्लै थरुहट बनाइन् । नाल्बो निश्क्रिय भए ।
धनकुटाको भेडेटारमा ०७१ सालमा आयोजना भएको एकता भेलाले पाँचवटा लिम्बुवानी पार्टीहरुलाई एकीकरण गरेर ‘संघीय लिम्बुवान पार्टी नेपाल’ गठन गर्यो । यो पार्टी निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा छ र यसको अध्यक्ष पनि कुमार लिङदेन आफैं छन् ।
यसैवीच निर्वाचन आयोगमा दर्ता रहेको तर, पार्टी एकीकरणपछि विघटन भएको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’को दोस्रो महाधिवेशनको आह्वान कुमार लिङदेनले गरेका हुन् ।
अझै रोचक त के छ भने लिङदेनले ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ पार्टीको महाधिवशेनबारे जारी गरेको प्रेस वक्तव्य अर्कै पार्टीको लेटरप्याडमा प्रकाशित गरेका छन् ।
हेर्नुहोस् लेटरप्याड
संघीय लिम्बुवान पार्टी नेपालको लेटरप्याडमा मञ्चको महाधिवेशनको माग गरिएको छ । र, मञ्चको महाधिवेशन सफल पार्न लिम्बुवान पार्टीका केन्द्रीय सदस्यलाई आह्वान गरिएको छ ।
महाधिवेशनका लागि तयार पार्टीको कार्डमा पहिल्यै खारेज भइसकेको ‘मञ्च सम्वद्ध संघीय लिम्बुवान पार्टी’को समेत नाम उल्लेख गरेर पुरानो पार्टीलाई जगाउने काम गरिएको छ ।
महासचिव भन्छन्- बैठक महाधिवशेनबारे थाहा छैन
यसैवीच संघीय लिम्बुवान पार्टी नेपालको लेटरप्याड प्रयोग गरेर पुरानो मञ्चको महाधिवेशन डाकिएकोबारे आफूलाई जानकारी नभएको संघीय लिम्बुवान पार्टी नेपालका महासचिव सूर्य माखिमले अनलाइनखबरलाई बताए ।
‘मञ्चको महाधिवेशन बोलाइएको बारे मलाई जानकारी छैन, माखिमले अनलाइनखबरसँग भने, ‘लामो छलफलपछि यही असार १५ गते पार्टीको केन्द्रीय बैठक बोलाउने अध्यक्षज्युसँग सहमति भएको थियो, तर मञ्चलाई जगाउने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन ।’
भेडेटारमा पाँच लिम्बुवान पार्टीवीच एकीकरण भएपछि पुरानो पार्टी स्वतः विघटन भएको माखिमले बताए । पाँचवटा लिम्बुवान पार्टी एकीकृत हुँदा मञ्चसम्वद्ध संघीय लिम्बुवानसमेत नयाँ पार्टीमा विलय भएको हो ।
तथापि पाँच पार्टीवीच भएको ९ बुँदे सहमतिमा मञ्चलाई जगाउनेबारे सोच्न सकिने एउटा बुँदा रहेता पनि यसबारे पार्टीमा छलफलै नगरी मञ्चको महाधिवेशन बोलाउनु गैरराजनीतिक चरित्र भएको माखिमको तर्क छ ।
लिङदेन के भन्छन् ?
उता दुबै दलको अध्यक्षमा रहेका लिङदेनले भने भेडेटार पारित एकताको ९ बुँदेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पहिचानवादी दलहरुको राष्ट्रिय शक्ति निर्माणका लागि अघि बढाउने सहमति भएको जिकिर गरेका छन् । र, त्यही सहमतिका आधारमा जेठ ३२ र असार १ गते बसेको मञ्चका पदाधिकारीको बैठकले झापाको दमकमा आगामी असार १७ देखि १९ सम्म दोस्रो महाधिवेशन गर्ने निर्णय भएको लिङदेनको तर्क छ ।
‘लिङदेनले लिम्बुवान फुटाए’
यसैवीच विघटित मञ्चका तत्कालीन महासचिव एवं संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमलाई यसबारे चासो राख्दा उनले बैठक र महाधिवेशनबारे अनभिज्ञता प्रकट गरे । उनले भने- ‘त्यो मञ्चको महासचिव म थिएँँ, जेठ ३२ मा बैठक बसेको मलाई थाहै छैन । महाधिवेशनका विषयमा पनि थाहा छैन । पार्टी एकीकरणपछि त्यो मञ्च नै अस्थित्वमा छैन ।’
एकीकरणबाट बनेको पार्टीलाई बाइपास गर्दै लिङदेनले संघीय लिम्बुवान पार्टी फुटाउने प्रपञ्च गरेको असन्तुष्ट पक्षको आरोप छ । स्रोतले भन्यो-‘लिङदेनले लिम्बुवान फुटाए ।’
प्रतिक्रिया 4