Comments Add Comment

‘बिराज सबैभन्दा गफाडी, अन्जन भावुक’

नेपाली फुटबलरहरुको स्वभाव र शैलीबारे रोहित चन्दको विश्लेषण

Rohit Chand१७ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् रोहित चन्द । यद्यपि चोटका कारण केही महिनादेखि उनी टिमबाट बाहिर छन् ।

घुँडाको शल्यक्रियापछि आराम गरिरहेका रोहित एक दिन अनलाइनखबरमा झुल्किए । उनीसँग बातचित गरियो उनका नेपाली राष्ट्रिय फुटबलरहरुको व्यक्तिगत स्वभाव र शैलीका विषयमा । यसरी विश्लेषण गर्छन् रोहित आफ्ना साथी खेलाडीहरुलाईः

१. बिराज महर्जन

बिराज दाइ एकदमै मज्जाको मान्छे हुनुहुन्छ । हाम्रो टिममा सबैभन्दा बढी हँसिमजाक गर्ने उहाँ नै हो । बिराज दाइलाई मैले सानैदेखि चिनेको भएर होला, मलाई एकदमै माया गर्नुहुन्छ । उहाँ नेसनल टिममा हुँदा हामी जुनियर थियौं । आजकाल उहाँसँग म एकदम नजिक छु । दुई वर्षदेखि हाम्रो घनिष्ठता बढेको हो । हामी प्रायः सँगै नै हुन्छौं ।

हामी एक-अर्काको गेमको विषयमा कमेन्ट पनि गर्छौं । मैले जेसुकै कमेन्ट गर्दा पनि उहाँ माइन्ड गर्नुहुन्न । बिराज दाइ मेन्टल्ली पनि स्ट्रोङ हुनुहुन्छ । महत्वपूर्ण म्याचहरु हार्दा पनि नरुने खेलाडीमा बिराज दाइ र म पर्छौं ।

२. नवयुग श्रेष्ठ

नवयुगलाई मैले चिन्न थालेको भर्खर भर्खर हो । नाम त पहिलेदेखि सुनेको हो तर नेसनल टिममा ढिला आयो । उ उमेरले भभन्दा सिनियर हो । क्याम्पमा आएपछि ट्रेनिङको दौरान सँगै भइयो र उसलाई अलिकति नजिकबाट बुझ्न पाएँ । नवयुग एकदमै ‘डिसेन्ट’ मान्छे लाग्छ मलाई । आर्मीको खेलाडी भएकाले अनुशासनको पार्ट एकदमै राम्रो छ । उसको राम्रो पक्ष भनेको मिहेनती स्वभाव पनि हो । सिनियर खेलाडीहरुलाई सम्मान गर्ने बानी छ । नेपालका अन्य स्ट्राइकरभन्दा उसको खेल स्तर अलिकति माथि छ जस्तो लाग्छ मलाई । उ भविष्यमा अझै माथि जान सक्छ ।

३. बिकेश कुथु

बिकेश पनि एकदमै अनुशासित खेलाडी हो । मैदानमा उ सँधै अनुशासनमा हुन्छ । प्राय टे्रेेनिङमा अरुभन्दा अगाडि पुगेको हुन्छ । बिहान सबैभन्दा छिटो उठ्ने विकेश नै हो । उसलाई जे कुरा पनि चाँडो गर्नुपर्छ । उसले चाँडो गर्दा अरुलाई पनि दवाव पर्छ । विकेशले सानो क्लवदेखि अरिअर स्टार्ट गरेको हो । एकदमै मिहिनेत गर्छ । हाम्रो सम्वन्ध राम्रो छ ।

४. अन्जन विष्ट

नेसनल टिमको युवा र प्रतिभाशाली खेलाडीमा पर्छ अन्जन । हामीभन्दा जुनियर भाइ हो । म उसँग पनि नजिक छु । उसको स्वभाव एकदमै बच्चा जस्तो लाग्छ मलाई । जिस्कने र उटपटाङ कुरा धेरै गर्ने बानी छ । उसको कुरा कहिले रमाइलो लाग्छ त कहिले रिस उठ्छ । बिस्तारै उमेर बढ्दै गएपछि परिपक्व हुँदै जाला । हाम्रो टिममा अलिकति फेसनबेल खेलाडीमा अन्जन पर्छ । उसलाई स्मार्ट भएर हिँड्नुपर्छ । अरु जे भए पनि सिनियरलाई सम्मान गर्छ । अन्जनको खेल एकदमै राम्रो छ, तर उसलाई कसैले गाइड गरिरहनु पर्छ । बल धेरैबेर खुट्टामा राख्ने बानी छ, त्यो उसले सुधार्नुपर्छ । मेरो विचारमा अन्जन १० नम्बर पोजिसन -स्ट्राइकर र मिडफिल्डरबीच) मा सुट गर्छ ।

५. बिमल घर्तिमगर

सानै उमेरमा ठूलो नाम कमाउन सफल भएको खेलाडी हो बिमल । उसको हाइटदेखि सबै कुरा राम्रो छ । लेफ्ट फुटेड हो । म उसँग धेरै घुलमिल भएको छैन । हामी दुवै जना देशबाहिर धेरै भयौं । उसको विषयमा मैले प्राय न्युजहरु पढिरहेको हुन्छु । अलिकति स्टारडम देखाउने गरेको भन्ने खालका न्युजहरु पनि आएका थिए । तर अहिले उसले आफूलाई निकै परिपक्व बनाएको छ । पछिल्लो समयमा उसलाई नवयुगले उछिनेको जस्तो देखिएको छ । तर, बिमल पनि उत्तिकै राम्रो स्ट्राइकर हो । फुटबल खेल्दा मैदानमा बेलाबखत अलिकति एटिच्युड पनि देखाउनुपर्ने हुन्छ । नत्र विपक्षीले हेप्छन् । त्यस्तो खालको एटिच्युड बिमलमा छ ।

६. अनन्त तामाङ

अनन्त पनि मसँग एकदमै क्लोज छ । म उसलाई धेरै कुराहरु सम्झाइरहन्छु । कहिलेकाहीँ भनेको मान्दैन । तर, मान्छे एकदम कुल छ । हत्पत्ति रिसाउदैन । नेसनल टिममा धेरै चान्स पाएको छैन उसले । चान्स पाएको बेला आफूलाई प्रुफ गर्न सक्छ । भविष्यमा नेपालको डिफेन्समा जन्म सक्ने प्लेयर हो अनन्त । डिफेन्समा चाहिने सबै गुणहरु उसँग छन् । भोली मैले आफ्नो पोजिसनका लागि उसँग फाइट गर्नुपर्ने पनि हुन सक्छ ।

७. रविन श्रेष्ठ

रविन दाइ हामीभन्दा सिनियर हुनुहुन्छ । हामीभन्दा पहिले उहाँले नेसनल टिममा डेब्यू गर्नुभएको हो । मान्छे लुरे हुनुहुन्छ तर, खेल चाहिँ कडा छ । पावरफुल गेम खेल्नुहुँछ छ । हामीले एन्फा एकेडेमीमा सानैदेखि सँगै खेलेका हौं । एकदमै कमान्ड गरेर खेल्नुहुन्छ । खेल्दा कराइरहनुहुन्छ । हाम्रो टिमभित्र बढि मेहनत गर्ने खेलाडीमा पर्नुहुन्छ रविनदाई । कहिलेकाहीँ कुनै अप्ठेरो सिचुएसन आयो भने पन्छिन खोज्नुहुन्छ । नत्र अरु सबै कुरा ठीक छ ।

र, यो पनि

सबैभन्दा गफाडीः बिराज महर्जन । पहिले-पहिले दीपक भुसाल दाइ हुनुहुन्थ्यो । सन्दिप दाइले पनि हँसाउनुहुन्थ्यो । अहिले बिराज दाईले नै बढि हँसाउनुहुन्छ । अलिअलि गफ त जसले पनि हान्छ ।

सबैभन्दा रिजर्भः सिनियरहरुसँग जुनियर खुलेर बोल्न हिच्किचाउँछन् । दिनेश राजबंशी सबैभन्दा लजालु छ ।

फेसनेबलः  अन्जन बिष्ट, अनन्त तामाङ जगजित श्रेष्ठ फेसनमा अगाडि छन् ।

खानामा सौखिनः रजिन धिमाल होला । उ जे पाए पनि मज्जाले खान्छ । खाना कम खाने चाहिँ म र विकास दाइ हो । विकास दाइ थोरै खाने तर, एकदमै टाइम लगाएर खानुहुन्छ । छिटो खाने चाहिँ रविन श्रेष्ठ हो ।

बिहान ढिला उठ्नेः बिहान ढिला उठ्ने र ग्राउन्डमा सबैभन्दा ढिलो पुग्ने जगजित श्रेष्ठ हो । चाँडो पुग्ने चाहिँ विकेश कुथु ।

केटी घुमाउनेः केटीलाई गफ सबैले दिन्छन् । अहिलेका योङ प्लेयरहरु अझै यसमा अगाडि छन् । उनीहरुको फ्यान फलोइङ पनि राम्रो छ । बढी केटी घुमाउनेमा नयाँ प्लेयरहरु नै पर्छन् ।

फोनमा झुण्डिनेः बिराज दाइको गर्लफ्रेन्ड बाहिर भएकाले उहाँ धेरै फोनमा झुण्डिनुहुन्छ । जुनियर भाइहरु त सबै फोनमा झुण्डिन्छन् ।

फेसबुकमा झुण्डिनेः सबैले मोबाइल खेलाइरहेका हुन्छन्, के हेर्छन् थाहा हुन्न । तर, फेसबुक सबैले चलाउँछन् । धेरै चलाउनेमा म पनि पर्छु ।

सबैभन्दा अल्छीः अनन्त तामाङ एकदमै अल्छी छ । बाहिर घुम्न जाउँ न भन्दा जान्न एकदम अल्छी लागिरहेको छ भनेर टार्छ ।

सबैभन्दा जाँगरिलोः विशाल श्रेष्ठ जाँगरिलो छ । विकेश र बिराज दाइ पनि जाँगरिलै छन् ।

फिल्म हेर्न क्रेजीः यसमा सायद म नै पर्छु । तर, म हलमा गएर हेर्दिँन । घरमै सीडी ल्याएर हेर्छु । त्यसपछि विशाल श्रेष्ठ र जगजीत श्रेष्ठ पनि धेरै फिल्म हेर्छन् ।

धेरै घाइते हुनेः सबैभन्दा धेरै इन्ज्योर्ड हुने सायद रविन श्रेष्ठ दाइ होला । उहाँको हार्मस्टिङमा प्रोब्लम छ ।

सबैभन्दा रुन्चेः अन्जन विष्ट सबैभन्दा भावुक छ । ठूलो म्याच हार्दाखेरि र हार्दाखेरि सबैभन्दा धेरै रुन्छ ।

प्रस्तुतिः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment