+
+

केपी ओलीले गल्ती गरे, अब राजीनामा दिनुपर्छ: नारायणकाजी

'भद्र सहमति मानेको भए गठबन्धन भत्कने थिएन'

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २९ गते १९:०४

२९ असार, काठमाडौं । माओवादी पार्टी सरकारबाट बाहिरिएकोमा शीर्षनेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् भन्ने राजनीतिक बजारमा चर्चा छ । नेता श्रेष्ठको असन्तुष्टि वा फरक मत केमा हो ? अनलाइनखबरले यसबारे जान्न खोज्दा उनले यसरी व्याख्या गरेः

Narayankaji Shresth Prakash

सरकारबाट समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णयप्रति मैले विरोध जनाएको भन्ने जहाँसम्म कुरा छ, यस्तो निर्णय हुनुपूर्व औपचारिकरुपमा जानकारी भएन । मैले मिडिया र टेलिफोनबाट थाहा पाएँ । तर, यो आन्तरिक विषय भएको हुनाले यसबारे म पार्टीभित्रै आफ्ना कुराहरु राख्छु ।

ओलीको गल्तीः भद्र सहमतिको उल्लंघन

हाम्रो पार्टीको निर्णय राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने भन्ने हो । तर, मुख्यतः कांग्रेसको अर्धेल्याइँ र एमालेको तत्परताको अभावका कारण राष्ट्रिय सरकार बन्न सकेन ।

राष्ट्रिय सरकार बन्न नसक्ने अवस्थामा बहुमतीय सरकार बन्ने अवस्था आएपछि यसमा मेरो धारणा के थियो भने अहिलेको यही गठवन्धनलाई नै कायम राखेर नयाँ सरकारको नेतृत्व हामीले लिनुपर्छ भन्ने हो । म केपी ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा उभिएको भन्ने प्रचार गलत हो ।

एमाले र हामीवीच सत्ता हस्तान्तरणको भद्र सहमति भएकै हो । तर, त्यसलाई कार्यान्वयन नगरेर एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीले गल्ती गरे । यसो गरेर ओलीले परिस्थितिलाई यहाँसम्म ल्याउने आधार दिए ।

यो सम्भव छ भन्ने प्रश्न पनि उठ्छ । यो गठबन्धनलाई नभत्काइकन प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सम्भव थियो भन्ने मेरो भनाइ हो । अहिलेको गठबन्धनलाई नभत्काइकन हाम्रो नेतृत्वको सरकार बनाएर कांग्रेसलाई पनि ल्याउने तरिका अपनाइनुपर्थ्यो र मेरो विचारमा समचेतापूर्वक कदम चालेको भए सकिन्थ्यो ।

अब ओलीले राजीनामा दिनुपर्छ

अब आफ्नो सहयोगी दलले समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । राजीनामा नदिएर ओलीले गल्ती गरेका छन् । नैतिकताको कोणबाट पनि अनुपयुक्त काम गरेका छन् ।

यदि सरकारमै नभएको अर्को कुनै दलले ओलीलाई समर्थन गर्ने संकेत दिएको भए संसद फेस गर्छु भन्नु स्वभाविक हुन्थ्यो । तर, त्यस्तो केही देखिएको छैन । त्यसैले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएर गल्ती गरेका छन् ।

(माओवादी नेता श्रेष्ठसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?