२५ साउन, चितवन । चितवनमा घरजग्गाको कारोबार बढेको छ । गएको वर्ष आएको भूकम्पपछि जिल्लामा हवात्तै घरजग्गाको कारोबारमा बढेको मालपोत कार्यालय चितवनको तथ्यांकले देखाएको छ । जग्गा किनबेच महिलाको नाममा बढी भएको देखिन्छ ।
कार्यालयको तथ्यांक अनुसार चितवनमा गत आर्थिक वर्षमा महिलाको नाममा बढी लिखत पारित भएका छन् । चितवनमा गत आर्थिक वर्ष २०७२/७३ मा ४३ हजार एक सय ५० लिखत पारित भएका थिए । ति मध्ये महिलाको नाममा २७ हजार दुई सय ६७ लिखत रहेको छ । यसैगरी पुरुषको नाममा १५ हजार आठ सय ८३ वटा लिखत पारित भएको मालपोत कार्यालय चितवनका सूचना अधिकारी एवम् मालपोत अधिकृत हरिकृष्ण सुवेदीले बताए ।
चितवनको ग्रामीण क्षेत्रमा महिलाको नाममा दुई हजार ४६ र सहरी क्षेत्रमा २५ हजार दुई सय २१ लिखत पारित भएका छन् ।
जग्गाको किनबेच बापत मालपोत कार्यालय चितवनले गत वर्ष एक अर्ब १८ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको सुवेदीले जानकारी दिए ।
महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र एकल महिलाको नाममा ३५ प्रतिशत राजस्व छुट हुने भएकाले पनि महिलाको नाममा जग्गा दर्ता गर्ने परिपाटी बढेको सुवेदीले बताए । पछिल्लो समय पुरुषहरु विदेशिने र महिलाहरुमा समेत सशक्तिकरण जागेका कारण महिलाको नाममा जग्गाको कारोबार बढेको सुवेदीको भनाइ छ ।
अनलाइन रजिष्ट्रेशन बढ्दै
मालपोत कार्यालय चितवनले सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले मालपोतको रजिष्ट्रेसन अनलाइन मार्फत गर्दै आएको छ । गत आर्थिक वर्ष २०७२/७३ को चैत महिनाबाट सुरु भएको अनलाइन रजिष्ट्रेसन सुरुमा चार वटा गाविसका लागि सुरु गरिए पनि साउनको दोस्रो हप्तासम्म १२ वटा गाविसका लागि सेवा प्रदान गरिएको छ ।
कविलास, कोराक, चण्डीभञ्ज्याङ र श्रीपुर गाविसका जग्गाहरुबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसन चालु आर्थिक वर्ष २०७३/७४ को साउनसम्म आइपुग्दा विस्तार गरी १२ गाविसमा पुर्याइएको छ । चैतबाट सुरु भएको अनलाइन सेवामा गत असार १ गते लोथर र काउले गाविसको जग्गाको कारोबार समेत समावेश गरियो ।
कामको चापलाई ध्यान दिँदै चालु आर्थिक वर्षको साउन ९ गतेदेखि फेरि सिस्वार, अयोध्यापुरी, दारेचोक, माडीको कल्याणपुर, बडहरा र उपरदाङगढीको जग्गाको लागि सेवा विस्तार गरिएको कार्यालयका सूचना अधिकारी सुवेदीले बताए ।
चैतबाट सुरु गरिएको अनलाइन सेवामा गत आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म चार सय ३९ लिखत पारित भएको सुवेदीको भनाइ छ ।
त्यसैगरी, अन्य गाविसहरुमा सेवा थप गरिएसँगै चालु आर्थिक वर्ष २०७३/७४ को साउन २० गतेसम्म एक सय ६८ वटा लिखत पारित भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4