
२६ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई बुधबार राजधानीमा भएको एक कार्यक्रममा निकै खुलेर प्रस्तुत भए । र, उनले भारतीय राजदूतको नामै लिएर उनीसँगै चीन-नेपाल-भारतको त्रिपक्षीय सहकार्यबारे पटक-पटक छलफल गरेको बताएका छन् ।
राजधानीमा भएको ‘चीन-नेपाल-भारत आर्थिक मार्गः सम्भावना र दृष्टिकोण’ विषयबारे आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत राय भने अनुपस्थित थिए । आयोजकहरुका अनुसार कार्यक्रमका लागि उनलाई पनि बोलाइएको थियो । तर, राजधानी बाहिर भएकाले उनी आउन सकेनन् ।
कार्यक्रममा चिनियाँ राजदूत चुन्ताईले साढे तीन वर्षे नेपाल बसाईंका क्रममा आफूले त्रिपक्षीय सहकार्य बृद्धि गर्न लागेको बताए । भारतीय राजदूतसँग झण्डै प्रत्येक महिना जस्तै छलफल हुने गरेको भन्दै उनले अघि भने, ‘चीन-नेपाल-भारतबीच सहकार्यबारे मैले पटक-पटक भारतीय राजदूत राणजीत रायसँग छलफल गरेको छु ।’
यसबारे नेपालका नेताहरु, भारतीय राजदूय राय र बुद्धिजिवीहरु पनि सकारात्मक पाएको उनले बताए ।
नेपालमा दीगो शान्ति, प्रगति र राजनीतिक स्थायित्व कायम होस् भन्ने चीनको चाहना रहेको भन्दै उनले यसका लागि हरसम्भव सहयोग गर्ने बताए । साथै नेपालको भौतिक पूर्वाधार निर्माणका लागि पुँजी र प्रविधि चीनले जुटाइदिने प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ थिङ्क ट्यांक सीआइसीआइआरका अध्यक्ष जी झेइले ‘वान बेल्ट वान रोड’ अवधारणा छिमेकी देशको विकासका रणनीतिसँग सामनजस्य कायम गर्नु भएको बताए । उनले भने, ‘यो हाम्रो रणनीति होइन । चीनको नियत सफा छ । आफूसँग आफ्ना छिमेकीको पनि दीगो आर्थिक विकास सुनिश्चित होस् भन्ने अभिप्रायले यो अघि सारेका हौं ।’
नेपाल-भारतका जनताले पूर्वाधार विकाससँगै आर्थिक प्रगति हेर्न चाहेको भन्दै उनले तीनवटै देश मिलेर यसमा अग्रसर हुनुपर्ने बताए ।
पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले आर्थिक मार्ग निर्माणमा त्रिदेशीय सहमति पहिलो आवश्यकता भएको बताए ।
प्रतिक्रिया 4