२५ असोज, काठमाडौ । बडादशैंको अवसरमा रंग वा अवीरयुक्त टीकाको बढी मात्रामा प्रयोग गरिन्छ । यसरी लगाइने टीकामा होलीमा प्रयोग हुने रंगभन्दा अवीरले छालालाई कम हानी गर्छ ।
निधारमा प्रयोग गरिने यस्तो टीकाले छालालाई खासै असर गर्दैन । तर, पनि कसैकसैमा टीकाले एलर्जी पैदा गर्दछ । विशेषगरी टीकामा केरा, दही र अवीरको प्रयोगले यस्तो समस्या आउने गर्छ ।
टीकाकै कारण निधारमा एलर्जी भएमा छाला रातो हुने, स-साना बिमिरा देखिने, टाटो बस्ने, चिलाउने, सुन्निने इत्यादि समस्या देखिन्छ । यस्तो समस्या देखिँदा बेलैमा उपचार नगरे छाला कालो तथा बाक्लो हुन सक्छ ।
दशैंमा प्रयोग गरिने यस्तो टीका निश्चित ठाउँ र निश्चित समयमा मात्रै प्रयोग गरिने हुदाँ यसलाई त्यतिधेरै हानिकारक मानिँदैन । यसले छालामा त्यति ठूलो समस्या पनि पैदा गर्दैन ।
तर, यसको विपरीत होलीमा प्रयोग गरिने किसिमको रंगबाट भने हामी सकेसम्म बच्नुपर्दछ । होलीमा प्रयोग हुने रंगमा सनमाइका, लीड इत्यादिको प्रयोग अत्यधीक मात्रामा गरिएको हुन्छ ।
जब कि दशैंमा प्रयोग गरिने अवीरमा कमै मात्रामा रंगको प्रयोग गरिएको हुन्छ । त्यसैले, अवीरलाई त्यति धेरै हानिकारक मानिँदैन । यसमा धेरै मिसावट गरिएको पनि पाइँदैन । तथापि, यसैका कारण निधारमा एलर्जी भएको अनुभव भएमा तलका उपायहरु अपनाउन सकिन्छ सकिन्छ ।
१. सकेसम्म टीकाबाट टाढा रहने
२. लगाउनै परे मोइस्चराइजर क्रिमको प्रयोग गर्ने
३. त्यति गर्दा पनि छाला कालो, बाक्लो भयो वा छाला रातो हुनुका साथै निधारमा बिमिरा देखिएमा छाला रोग विशेषज्ञसित सम्पर्क गर्ने ।
(यो टिप्स डा. अनिलकुमार झासितको कुराकानीमा तयार पारिएको हो । उनी हाल नेपाल मेडिकल काउन्सिलमा कार्यरत छन् )
प्रतिक्रिया 4