Comments Add Comment

बुढानीलकण्ठमा आयुर्वेद तथा योग अस्पताल बन्ने, १ करोड लगानी

yoga

२१ पुस, काठमाडौं । सरकारले काठमाडौंको बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बुढानिलकण्ठ- ४ मा सरकारी लगानीमा केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

१३ रोपनी ११ आना जग्गामा फैलिने आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र सुरुमा ५० शैयाको हुनेछ । यसमा नसर्ने रोगहरुको उपचार आयुर्वेदिक पद्दतीबाट गरिने छ ।

स्वास्थ्य मन्त्रालय आयुर्वेद विभागका चिकित्सक डा. शंकर गौतमका अनुसार केन्द्र स्थापनाको लागि आयुर्वेद विभागले एक करोड रुपैयाँ बजेट समेत छुट्याइसकेको छ । थप बजेट केन्द्र स्थापना भएसँगै थपिँदै जाने डा. गौतमले बताए ।

उनले भने, ‘हालका लागि पञ्चकर्मसहित नसर्ने रोगबारे उपचार गरिने यस केन्द्रमा सम्पूर्ण उपचार आयुर्वेद, योग र  प्राकृतिक चिकित्सा पद्धतिमा आधारित हुनेछ । त्यसको लागि हामीले कार्यक्रम मन्त्रिपरिषदमा आजै पेश गरेकोमा पारित पनि भएको छ ।’

अब बजेट आउनासाथ अगाडिको काम सुरु हुनेछ । यद्यपी, अहिले नितिगत निर्णयमात्र भएकाले केन्द्रको निर्माण कहिलेसम्म हुन्छ भनेर अहिले नै यकिन भन्न नसकिने डा. गौतम बताउँछन् ।

हाल काठमाडौंको नरदेवीमा आयुर्वेदिक सरकारी अस्पताल छ भने सिंहदरवार वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ । हालै बारामा योग गुरु रामदेवको प्रमुख लगानीमा आयुर्वेदिक उद्योग स्थापना भएको थियो ।

बुढानिलकण्ठमा आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र स्थापना भएपछि जडिबुटीको क्षेत्रमा धनी मानिएको नेपालमा जडिबुटीको विकास तथा प्रवर्द्धनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment