
२ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् ।
छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् ।
आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट कार्की दम्पती दिल्लीतिर लागेका हुन् ।
कार्की परिवार दिल्लीमा स्वास्थ्योपचारका लागि केही दिन बस्ने र त्यसपछि क्यानडा जाने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
कार्कीले केही महिनाअघि क्यानडा भ्रमणका क्रममा त्यहाँ छोराका नाममा घर समेत किनेको दाबी स्रोतले गरेको छ । तर, यसको पुष्टि हुन बाँकी छ ।
सुरक्षाकर्मी हेडक्वार्टर तानिए
यसैवीच लोकमानसिंह कार्कीले आफ्नो र घरको सेक्युरिटीमा प्रयोग गर्दै आएका तीन दर्जनभन्दा बढी प्रहरीहरु हेडक्वार्टरमा हाजिर भएका छन् । उनीहरुलाई अख्तियारमा समेत नराखी हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।
उता पुरानो बानेश्वरमा सामसुङ कम्पनीका वितरक दीपक मल्होत्राले भाडामा लिएको लोकमानसिंहको घरमा समेत ५ जना प्रहरीलाई गार्डका रुपमा राखिएको पाइएको छ । मल्होत्राको कार्यालयलाई सुरक्षा प्रदान गरिरहेका ती प्रहरीहरु पनि हेडक्वार्टर फिर्ता भएका छन् ।
प्रतिक्रिया 4