चार वर्ष अगाडिको फेब्रुअरी १३ को कुरा हो, बिदाको दिन आफन्त भेट्न ट्रेन चढेर म प्लम स्टिड जान लागेको थिएँ । लण्डनमा निकै जाडो थियो । लण्डनब्रिज स्टेशनमा ओर्लेर दुर्गा दाइसँग थेम्स नदीछेउमा स्टारबक्सको कफी पिएर गफिँदै गर्दा एक परम मित्रको फोन आयो । मैले आफू यो ठाउँमा छु भनेर बताएँ ।
साथीले सोधे, ‘पक्कै पनि भोलि भ्यालेन्टाइन्स डे को लागि गिफ्ट किन्न आएको होला है ! ल ल राम्रो गिफ्ट किन्दिनू है ! म पनि यतै लिभरपुल स्ट्रिटमा छु,केहीबेरमै त्यतै आउँछु ।‘
एकै सासमा आफ्नो कुरा भनेर ‘म ट्युब चढ्दै छु अब फोनले टिप्दैन भन्दै‘ मेरो कुरा नसुनीकनै मित्रले फोन राखिदिए ।
पुराना मित्र भएकोले मैले उनलाई नाइँनास्ती गर्ने कुरै थिएन । नभन्दै मित्र आधा घन्टामा त्यहीँ आइपुगे ।
उनको हातमा गुलाफको आकर्षक झुप्पा थियो । अनि सपिङ पनि टन्नै गरेको देखिन्थ्यो । त्यो बेला भर्खर बजारमा आएको आइफोन फाइभ पनि थियो सायद । टी मोबाइलको पेपरब्याग पनि देखेँ ।
जाडो छल्न मित्र र मैले कफी थप्यौं ।
मित्रले श्रीमतीलाई किनिदिएको गिफ्टको बेलिविस्तार लगाए । सुनेँ तर मनमा गुनिनँ ।
उनको दुई वर्षअघि श्रीमतीसँग भएको डिभोर्स सम्झिएँ । गल्ती कसको भन्ने मैले खुट्याउने मौकै पाइनँ । तर,मेरो लागि त्यो एउटा नमीठो खबर थियो ।
डेढ वर्षअघि बिहे गरेकी श्रीमतीलाई खुसी पार्न उसले भव्य किनमेल गर्दा म चाहिँ रित्तै थिएँ । खासमा मलाई भ्यालेन्टाइन्स डेको भूत सवार भएकै थिएन ।
मैले मित्रको भ्यालेन्टाइन्स डे को भूत उतार्ने सुरले प्रश्नको वर्षा गरेँ: तिम्रा बा–आमाको बर्थडे कहिले हो ? उहाँहरुको बिहेको एनिभर्सरी थाहा छ ? रक्षाबन्धन र भाइटीकाको सुरुवात कसरी भयो ? कृष्णाष्टमी मनाउनुको कारण के हो ? हाम्रै नेपालमा मनाइने ल्होसार र माघी अनि छठपर्वको महत्व थाहा छ ?
मित्र अक्मकाए । ‘किन यो सबै सोधिरा यार ? तिमीले कफी पिएको हो कि ह्विस्की ?’
मित्रको कडा प्रहार मैंमाथि आयो ।

म लगातार कड्किएँ, ‘हेर, तिमीले सबैभन्दा पहिले आफ्नो बा–आमा र श्रीमतीको जन्ममितिबारे थाहा पाऊ । आफ्ना चाडपर्व र मान्यताबारे जानकारी राख । किन व्यर्थमा अरुको संस्कृतिको बारेमा डुबिरहन्छौ ? तिमी–हामीले रक्षाबन्धनमा जनै फेर्न भुल्ने, दशैंमा टीका लगाउन फुर्सद नहुने, तीजमा नेपालमा भएकी दिदीबहिनीलाई फोन गरेर सम्झन नसक्ने मान्छेले अरुको पर्व मनाउन किन यति मरिहत्ते ?’
म अझै बोलिरहेँ, ‘तिमीले सम्बन्धविच्छेद गर्नुभन्दा अगाडि सम्बन्धमा कतै आफ्नै भूमिका पो कमजोर थियो कि भन्ने कहिल्यै सोच्यौ ? यति धेरै किस डे, हग डे,प्रोमिस डे मनाउने यो मुलुकमा किन हप्तैपिच्छे ब्वाइफ्रेण्ड,गर्लफ्रेण्ड फेरिन्छ ? किन दैनिक हजारौं डिभोर्स हुन्छ ?यस्तो मायाको पर्व मनाउने मान्छेहरुको सम्बन्ध त दीगो हुनुपर्ने हैन र ? ‘
मैले लगातार प्रश्नको ओइरो लगाउँदा फेब्रुअरीको त्यो जाडोमा मित्र असिनपसिन भइसकेका थिए ।
मैले सेन्ट भ्यालेन्टाइनको बारेमा सोधेँ, ‘उनी कुन देशका थिए ? उनको कसुर के थियो ? भ्यालेन्टाइन्स डे पश्चिमी देशमा किन मनाइन्छ थाहा छ ?’
मित्र अप्ठेरो मानिरहेका थिए । मेरा तमाम प्रश्नको जवाफ दिन खोजे, ‘त्यो सबै त थाहा छैन यार । तर, प्रेम दिवसको रुपमा सबैले मनाएपछि हामीले पनि किन नमनाउने भनेर पो त ! मैले यस विषयमा खासै बुझेको छैन यार !‘
मैले छोटकरीमा बताएँ, ‘भ्यालेन्टाइन्स डे प्रेम र बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भनेर त्यसमा प्रतिबन्ध लगाएका थिए । तर, भ्यालेन्टाइनले सम्राट्को निर्णयलाई धर्मविरुद्ध मान्दै युवायुवतीलाई प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, सार्वजनिक स्थलमै सामूहिक विवाह समेत गरिदिए । यसरी निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईसापूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरी भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।‘
मैले उनलाई अघि भन्दै गएँ, ‘भ्यालेन्टाइन्स डे आफैंमा ख़राब नभए पनि यो हाम्रो पर्व होइन । हाम्रा पुर्खा मरेको सम्झने दिन पनि यो होइन । तिमी आफैंले भाउजूसँग डिभोर्स गर्यौ । तिम्रो दाम्पत्य सम्बन्ध भ्यालेन्टाइन्स डे मनाउँदा–मनाउँदै पनि किन दीगो हुन सकेन त ?’
मैले सम्बन्ध कसैको संस्कार अँगालेर नभई आपसी विश्वासको आधारमा टिक्ने पनि बताएँ । भनेँ, ‘हाम्रा बा–आमा र हजुरबा–आमाहरुको सम्बन्ध भ्यालेन्टाइन्स डे मनाएर यति बलिया भएका होइनन् ।‘
पछिल्लो समयम हाम्रो समाजमा यस्ता आयातीत पर्व र बर्थडे, एनिभर्सरी र पास्नीहरुमा फजुल खर्च गर्ने चलन बढेको छ । योभन्दा बरु भोकले सुकेका असहाय बालबालिका र वृद्धवृद्धालाई एक छाक खुवाउने वा लुगा किनिदिने गरेर मानव धर्म गर्न सकिन्छ भनेर पनि सम्झाएँ ।
सधैं आफ्नो कुरा माथि पार्ने मित्रलाई त्यो बेला मेरो कुरा चित्त बुझेछ, गह्रुंगो स्वरमा भने, ‘तिमीले त मेरो आँखा खोलिदियौ यार !‘
उनी आफ्नो बाटो लागे । म पनि सन्तोष मान्दै दुर्गा दाइसँगै प्लम स्टिडतर्फ हान्निएँ ।
साँझ मित्रलाई फोन गरेर जिस्किँदै सोधेँ, ‘आज किनेका सबै गिफ्ट भाउजूलाई नदिएर कतै रिटर्न त गरेनौ ?’
अर्को बिहान मलाई धन्यवाद दिँदै उनले भने, ‘तिम्रो कुराले प्रभावित भएर आज भ्यालेन्टाइन्स डे मा काठमाडौंको अनाथालयमा एक छाक खाना खान र लुगाहरु किन्न पचास हज़ार पठाइदिएँ । अब सधैं यसै गर्नेछु ।‘
मित्रको कुरा सुनेर अलौकिक आनन्दमा रमाएँ ।
प्रतिक्रिया 4