२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठवन्धन र एमाले सामू आफू ‘मरचेन्ट अफ भेनिस’ जस्तो भएको बताएका छन् । साथै उनले ४ गते संविधान संशोधन गराउन पहल गर्ने वचनसमेत दिएका छन् ।
सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन घोषणाको तयारीमा रहेको संघीय गठवन्धनले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न चाहेका थिए । प्रचण्डले भने प्रमुख विपक्षी एमाले र कांग्रेससहितको बैठक बोलाइदिए ।
बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक पास गराउन भएको पहलबारे जानकारी गराएका थिए । एक सहभागीका अनुसार प्रधानमन्त्रीले विलियम सेक्सपियरको ‘मरचेन्ट अफ भेनिस’को कथासमेत सुनाए । उनले आफू सेक्सपियरको नाटकको पात्र ‘भेनिसको व्यापारी’ जस्तै बन्न पुगेको दुखेसो पोखे ।
प्रमुख विपक्षी एमालेतर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले एउटा पक्ष संविधान पास हुन नदिनेमा रहेको बताए । फेल हुने भए हुन दिने तर, पास हुने भयो भने जसरी पनि रोक्ने उक्त पक्षको योजना रहेको उनले सुनाए ।
मधेसी मोर्चा /संघीय गठवन्धनर्फत संकेत गर्दै उनले अर्को पक्ष भने जसरी पनि पास हुनुपर्छ भन्ने फेल होला जस्तो भए रोक्ने पक्षमा रहेको बताए ।
‘यति किलो मासु काटेर दिनुपर्यो भन्ने तर, रगतचाहिँ एक थोपा पनि बग्न पाइँदैन भन्ने भएपछि मेरो हालत ‘मरचेन्ट भेनिस’ जस्तो भयो’ बैठकमा प्रचण्डले भने ।
विलियम सेक्सपियरको ‘मर्चेन्ट अफ भेनिस’ एउटा रोचक नाट्यकथा हो । कथाको पात्र एन्टेनियो एउटा उल्झनपूर्ण सहममतिको जञ्जिरमा जकडिएको हुन्छ । भेनिस सहरको एक नौजवान सुन्दरीको हृदय जित्नका लागि आफ्नो लक्ष (जवाहरत) प्राप्तिसम्मको यात्रा गर्न चाहन्छन् । तर, उनीसँग पैसा हुँदैन । शहरका एक व्यापारी एन्टेनियोसँग उनले पैसा सापट माग्छन्, तर उनको पैसा समुद्रमा जहाजमा फसेको हुन्छ । ती व्यापारीले अर्कोलाई भनेर सापटी त माग्छन् तर कठोर शर्त सहितको तमसुक बनाइन्छ ।
यसक्रममा नौजवान आफ्नो यात्रामा कसरी फस्छ र भेनिसको व्यापारीले एन्टोनियोले आफ्नो जमानतमा लिएको ऋण तिर्न कस्तो सास्ती पाउनुपर्छ भन्ने वर्णन मर्चेन्ट अफ भेनिसमा गरिएको छ ।
संशोधनको पक्षमा ४०१ पुगेको दाबी
उनले बैशाख १७ गते संविधान संशोधनको पक्षमा ४०१ मत पुगिसकेको अवस्थामा राप्रपाका १० सांसद अनुपस्थित भएका कारण संविधान संशोधन रोकिएको गठवन्धनका नेताहरुलाई सुनाए ।
आगामी जेठ ४ गते संसद बैठक रहेको भन्दै उनले संशोधन पास गर्ने प्रयास हुने बताए ।
प्रतिक्रिया 4