+
+

पोखराको माटेपानी गुम्बा उच्च जोखिममा

 सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ असार १७ गते १५:३९

१७ असार, पोखरा । पोखराको प्रसिद्ध धार्मिक स्थल माटेपानी गुम्बा पहिरोको उच्च जोखिममा परेको छ । अविरल वर्षापछि आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ माटेपानीमा रहेको उक्त गुम्बा जोखिममा परेको हो ।

गुम्बाको फेदीमा मापदण्ड पूरा नगरी जथाभावी मोटरबाटो खनेका कारण त्यहाँको माटो कमजोर हुँदा पहिरो गएको र सोही कारण गुम्बा जोखिममा परेको गुम्वा व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर भुजेलले बताए ।

गएराति आएको पहिरोले गुम्बा चढ्ने करीब १ सय ५० वटा सिंडीहरु भत्काएको छ । त्यस्तै, गुम्बा नजिकैसम्म चर्किएर गुम्बा पनि उच्च जोखिममा परेको छ ।

गुम्बाको तल्लो छेउबाट सडक डिभिजन कार्यालयले गुम्बा फेदीदेखि घुम्टे भिरसम्म सडक बनाइरहेको छ । बाटो पहिल्यै बनाइसक्नुपर्ने भएपनि ढिला गर्दा कमजोर माटो भत्किएर खसेको सचिव भुजेलको भनाइ छ ।

यसैबीच, गुम्बा ब्यबस्थापन समितिले गुम्बा संरक्षणको लागि सरकारलाई आग्रह गरेको छ । तत्काल संरक्षणको उपाय नअपनाए कुनैपनि बेला गुम्बा भत्कनसक्ने भन्दै समितिले त्यसको तत्काल संरक्षणमा पहलकदमी लिन आग्रह गरेको हो ।

समितिले पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी तथा कास्कीबाट निर्वाचित सांसदहरुलाई गुम्बा जोखिममा रहेको भन्दै संरक्षणका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको यो गुम्बा पर्यटकीय आकर्षणको केन्द्र पनि मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?