+
+

दशरथचन्द नगरपालिकामा राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनः मतगणनाको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते ९:०२

१९ असार, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मत परिणाम अस्वीकार गरेका छन् । कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मत अन्तरले पराजित जोशीले पुनः मतगणनाको माग गरेका छन् ।

नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा एउटा पनि सिट नजितेको राप्रपाले मत गणनामा धाँधली भएको दाबी गरेको छ ।

आइतबार सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गर्दै जोशीले मतगणनास्थलमा संलग्न केही कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरिएको आरोप लगाए ।

‘मैले ६२ मतले हारेको आधिकारीक जानकारी मलाई भएको छैन र एकतर्फीरुपमा मत परिणाम घोषणा गरियो,’ राप्रपाका उम्मेदवार जोशीले भने ।

मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमतिका बाबजुत पनि मुख्य निर्वाचन अधिकृतले औंठाछाप लगाएको मत पनि सदर गरेको आरोप पनि राप्रपाको छ ।

मतगणनाको समयमा बत्ती निभाउने, टर्च बन्द गर्ने, प्रतिनिधिबाहेक अन्य व्यक्तिहरु निरन्तर आवतजावत गर्ने, आफ्ना प्रतिनिधिहरुको सहीछाप विना एकतर्फ ढंगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेर धाँधली गरेको उनको आरोप छ ।

मतपरिणामको विवरण माइकिङ्ग गर्दा र कम्युटरमा राख्दा फरक राखेको पाइएको प्रमाण पाइएकाले कुनै हालतमा पनि मतपरिणाम स्वीकार गर्न नसकिने राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए ।  ‘षड्यन्त्रपूर्वक हरेक वडामा मतपरिणाम सार्वजनिक गरियो, ‘ उनले भने ।

पुनः मतगणनाका लागि उच्च अदालतमा अपिल

कर्मचारी र प्रतिस्पर्धी दलको प्रतिनिधिहरुको मिलेमतोमा धाँधली पूर्णरुपमा मतपरिणाम सार्वजनिक गरेर जनमतको अपहेलना गर्ने काम भएकाले पुनः मतगणनाका लागि उच्च अदालत कञ्चनपुरमा अपिल गरेको अध्यक्ष चन्दले बताए । ‘हामी सम्मानित उच्च अदालतको पर्खाइमा छौं,’ उनले भने, ‘बिजयी घोषणा भएका प्रतिनिधिलाई तत्कालै सपथग्रहण तथा पदबहाली नगराई पाउँ भनी जिल्ला अदातललाई पनि अपील गरेका छौं ।’

अन्तरिम आदेश नआए प्रक्रिया रोकिंदैनः मुख्य निर्वाचन अधिकृत

दशरथचन्द नगरपालिकामा खटिएका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले भने कुनै किसिमको धाँधली नभएको बताए । धाँधली भएको पुष्टी गर्न उनले चुनौति पनि दिएका छन् । मतपरिणाममा असन्तुष्टि राख्न पाउनु सबैको अधिकार भएको भन्दै उनले उच्च अदालतबाट अन्तरिम आदेश नआउँदासम्म आफूले प्रक्रिया नरोक्ने बताए । ‘अन्तरिम आदेश नआए प्रतिनिधिलाई शपथ ग्रहण गराउँछु,’ उनले भने, उच्च अदालतले आवश्यक ठानेमा पुनः मतगणना हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?