१६ कात्तिक, रौतहट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबार रौतहटमा २३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहटका ४ प्रतिनिधिसभा सदस्य संख्याका लागि कुल ९२ जनाको मनोनयन दर्ता भएको छ भने प्रदेशसभाको ८ सिटका लागि १४६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए ।
राजपा गठबन्धनका तर्फ बाट राजपा संयोजक मण्डलका सदस्य अनिल झाले रौतहट-१ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेका छन् भने बाम गठबन्धनका तर्फबाट सत्यनारायण भगतले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी कांग्रेसका तर्फबाट कृष्णा यादवले मनोनयन दर्ता गराएका छन् ।
रौतहटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा काग्रेंसका आफताब आलम र एमालेका तर्फबाट मोहम्मद मुस्ताक आलमले मनोनयन दर्ता गराएका छन् । यसै गरी राजपा गठबन्धनका तर्फबाट किरण साहले उम्मेदवारी दिएका छन् ।
रौतहटको क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका तर्फबाट माओवादीका प्रभु साहले उम्मेदवारी दर्ता गराएका छन् भने राजपा गठबन्धनका तर्फबाट ओमप्रकाश जयसवालले मनोनयन दिएका छन ।
रौतहटको क्षेत्र नम्बर ४ बाट कांग्रेसका देवप्रसाद तिमल्सिना र बाम गठबन्धनका तर्फ बाट एमालेका डा. वंशीधर मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । राजपाका तर्फबाट क्षेत्र नम्बर ४ को ‘ख’बाट प्रदेश सभा सदस्यका लागी नेपाल प्रहरीका पूर्व आईजी प्रदिप शमशेर राणाले पनि उम्मेदवारी दिएका छन् ।
राजपा गठबन्धनले टिकट नदिए पछि रौतहट क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका पूर्व सभासद बबन सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी चन्द्रनिगाहपुर बाट पनि एमाओवादीका राजु धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4