+
+

अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १६:५१


२० कात्तिक, काठमाडौं । धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनीहरले पनि मार्जिन कारोबार गराउन सक्ने वयवस्था गरेको छ । बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ जारी गर्दै यस्तो सुविधा दिएको हो ।

यो व्यवस्था अनुसार ब्रोकर कम्पनीहरुले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्न सक्ने भएका हुन् । यस्तो सेवा दिने ब्रोकर कम्पनीको पनि खुद सम्पत्ती कम्तिमा ५ करोड रुपैयाँ हुनु पर्नेछ ।

कम्तिमा १० हजार सेयरधनी भएका कम्पनीको सेयरमा मात्र ब्रोकर कम्पनीहरुले मार्जिन सुविधा दिन पाउने छन् ।   कम्पनीको नेटवर्थ सकारात्मक हुनुपर्नेछ, पछिल्लो दुई आर्थिक बर्षमा कम्पनीले कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको हुनुपर्नेछ । ग्राहकले ब्रोकरबाट कर्जा लिदा ५० प्रतिशत बराबर रकम प्रारम्भिक मार्जिनको रुपमा बुझाउनु भने पर्नेछ । यसरी प्रारम्भिक मार्जिन निर्धारण गर्दा सूचीकृत संगठित संस्थाको सेयरको १ सय ८० दिनको औसात मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको आधारमा लिनुपर्नेछ ।

मार्जिन कारोवार सुविधा अवधि भर वजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ब्रोकरले न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन पनि लिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, ग्राहकले मार्जिन कारोवारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा ब्रोकरले सो शेयर विक्री गर्न सक्ने भएको छ । ब्रोकरले यस्तो सेवा दिदा कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको वढीमा १० प्रतिशत सम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्नेछ ।

ब्रोकरले ग्राहकसंग सम्झौता गर्दा सुरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण लगायतका शर्त रव्यवस्थाहरु भने खुलाउनुपर्नेछ । यस सुविधा अन्र्तगत खरिद गरिएको सेयरसहितको मार्जिन रकम विवरण ब्रोकरले ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ । साथै, लेखापरिक्षण गरिएको कारोवार भएको सेयरको हिसाव किताव तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाल नेपाल राष्ट्र बैंकको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेण्डिङ्गको रुपमा रहेको सेयर धितो कर्जा भने यथावत रहेको छ । यस व्यवस्थाबाट दोस्रो बजारको तरलतामा अभिवृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?