Comments Add Comment

काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

प्रदुषणको नर्क बन्दैछ राजधानी उपत्यका

३ मंसिर, काठमाडौं । वर्षात् सकिएर काठमाडौंका सडकहरु हिलाम्यबाट धुलाम्यमा परिवर्तन भएका छन् । पानी पर्न रोकिएसँगै वायु प्रदुषणको मात्रा उकालो लागेको छ ।

उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको छ ।

उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेरौं । भैंसेपाटी क्षेत्रमा अहिले करिब ५० माइक्रोग्राम धुलो देखिन थालेको छ । वीरेन्द्र सैनिक स्कुल आसपासको क्षेत्रमा त त्यो ७९ माइक्रोग्रामसम्म पुगेको छ ।

शंखपार्क इलाकामा ५६ र रत्नपार्कमा ३० माइक्रोग्राम हाराहारीमा देखिएको छ, धुलो ।

ती यन्त्रहरुले दिने रिपोर्टबाट काठमाडौं खाल्डोमा वायु प्रदुषण कुन स्तरमा छ भन्ने बुझ्न सकिन्छ ।

वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ अनुसार धुलो ४० माइक्रोग्राम -पीएम-२.५) भन्दा बढी हुनु हुँदैन । काठमाडौंमा वषर्ायाममा त्यो पाँच माइक्रोग्राममा सीमित रहन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड छ, शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन ।

काठमाडौंमा भने अहिले नै चार गुणा हाराहारीमा वायु प्रदुषण बढिसकेको छ ।

काठमाडौंमा कात्तिक पहिलो सातादेखि प्रदुषणको मात्रा उकालो लाग्छ, जुन माघ पहिलो सातासम्म उच्च रहन्छ । अर्को वषर्ायाम शुरु नभएसम्म अर्थात् जेठ अन्तिम सातासम्म उपत्यकामा धुलो र धुवाँको सघनता रहन्छ ।

कारक गाडी र ईंटाभट्टाको धुवाँ

वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलका अनुसार अहिले उपत्यकामा बाली भित्र्याएर खेतमा बाँकी पराल र झारपातमा आगो लगाउने क्रम बढेको छ ।

र, वर्षायाममा बन्द रहेका इँटाभट्टाहरु सञ्चालनमा आएका छन् ।

चिसो बढेसँगै कागज र प्लास्टिक थुपारेर आगो बाल्ने क्रम पनि शुरु भएको छ । त्यसै पनि धुलाम्य सडकमा बेपर्वाह दौडिने सवारी साधनले उडाउने धुलो, त्यसमाथि खेत र टोल-टोलबाट निस्किने धुवाँ, काठमाडौं उपत्यका प्रदुषणको स्वर्ग नै बनेको छ, अहिले ।

पौडेल भन्छन्, ‘प्लास्टिकजन्य पदार्थ जलाउँदा निस्किने धुवाँ हानीकारक हुन्छ । त्यसबाट पनि स्वास्थ्यका लागि घातक कणहरु निस्किन्छन् ।’

वातावरणविद् भुषण तुलाधरका अनुसार वायु प्रदुषण गराउने कणहरु सवारी साधन र इँटाभट्टाबाट निस्किने धुवाँमा बढी पाइन्छ ।

बिहान नै बढी प्रदुषित

तुलाधरका अनुसार उपत्यकामा बिहान आठ बजे नै वायु प्रदुषण अधिक हुन्छ । उनी भन्छन्, ‘चिसो बढ्दै गएसँगै काठमाडौंमा प्रदुषणको मात्रा पनि बढ्दै जान्छ ।’

चिसो याममा बिहान ६ बजेदेखि बढ्दै गएको वायु प्रदुषण आठ बजे उच्च रहन्छ । मध्यान्हमा प्रदुषणको मात्रा केही कम हुन्छ । मध्यान्हपछि चल्ने पश्चिमी वायुले फेरि प्रदुषण बढाएर लैजान्छ ।

काठमाडौंमा ‘मर्निङ वाक’ नै गर्न नहुने चर्चा भने गलत रहेको तुलाधारको भनाइ छ । भन्छन्, ‘कम प्रदुषित ठाउँ पत्ता लगाएर मर्निङ वाकमा निस्किनु राम्रो हुन्छ ।’

घातक रोगहरुको कारक

केही दिनयता काठमाडौंको हावामा दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना धुलोका कण बढ्दै गएका छन् । ती कणहरुमा क्यान्सर, हृदयाघात र मस्तिष्कघात गराउने रसायनहरु हुन्छन् ।

त्यस्ता कण श्वासप्रश्वासमार्फत् सीधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् । र, रक्तसञ्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन् । रगतमार्फत् नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात गराउँछन् ।

तुलाधर भन्छन्, ‘उपत्यकामा मुटुरोगी र मस्तिष्कघातको समस्या बढ्नुको प्रमुख कारण नै यही हो ।’

दिनप्रतिदिन अस्वस्थकर बन्दै गएको छ, काठमाडौं । मुटुरोगी र मस्तिष्कघात मात्र होइन, दम, फोक्सोको क्यान्सरलगायत रोगको ग्राफ पनि उकालो लागेको छ ।

उपत्यकामा सञ्चालन हुने सवारी साधन बर्सेनी बढ्ने क्रममा छन् । त्यसबाट ट्राफिक जाम मात्र बढेको होइन, वायु प्रदुषण पनि त्यत्तिकै बढाइरहेको छ ।

सवारी साधन यही गतिमा बढ्ने र ईंटाभट्टाबाट निस्किने विषाक्त धुवाँ अहिलेकै मात्रामा कायम रहे काठमाडौं पनि भारतको राजधानी शहर नयाँदिल्लीजस्तै हुने तुलाधरको ठम्याइ छ । वायु प्रदुषणका कारण बाक्लो तुवाँलो लाग्न थालेपछि नयाँदिल्लीका बिद्यालयहरु नै बन्द गर्नु परेको थियो, एक साताअघि मात्र ।

काठमाडौंको धुलो- बालबालिकाको बुद्धि विकासको बाधक

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव खेमबहादुर कार्कीका अनुसार धुवाँ र धुलोका कारण गर्भमा रहेका शिशुलाई पनि असर पुग्छ ।

दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना कणमा रसायनको मात्रा उच्च रहन्छ, जसले बालबालिकाको मस्तिष्क विकासमा पनि असर पुर्‍याउँछ ।

कार्की भन्छन्, ‘धुलोका स-साना कण बालबालिकाको बुद्धिको विकासका पनि बाधक हुन् ।’

धुलोका ठूला कणले रुघाखोकी लगाउँछन् । तर, साना कण यति हानीकारक हुन्छन् कि स्वासनलीमा जमेर साँघुरो बनाइदिन्छन् ।

‘निर्माणका क्रममा निस्केको धुलोले हामीलाई एलर्जीलगायत समस्या देखिन सक्छ तर त्यो शरीरको भित्री भागसम्म पुग्दैन,’ कार्की भन्छन्, ‘तर, सवारी साधनबाट निस्केको धुवाँले क्यान्सर, हृदयघातजस्ता रोग निम्त्याउँछ ।’

घातक रोगको खानी

विश्व बैंकको अध्ययनअनुसार पीएम-२.५ बाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसको ज्यान उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले लिन्छन् । यस्तै, १४ प्रतिशतमा क्यान्सरको समस्या आउँछ ।

बाँकी १६ प्रतिशतमा पनि फोक्सोको समस्या देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा वायु प्रदुषणकै कारण बर्सेनि नौ हजार नौ सय ४३ जनाको मृत्यु हुने गरेको छ ।

विश्व बैंक तथ्यांकले त्यसभन्दा भयावह रुप देखाउँछ, जसअनुसार नेपालमा बर्सेनि २२ हजार जनाको मृत्युको कारक वायु प्रदुषण हो ।

सर्बियाको नुम्बिओ डटकमले मार्च २०१६ मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार काठमाडौं विश्वकै तेस्रो प्रदुषित शहर हो ।

उक्त वेबसाइटको अध्ययनअनुसार एसियाका प्रदुषित शहरको सूचीमा काठमाडौं पहिलो, मनिला दोस्रो र भारतको नोयडा तेस्रोमा पर्छन् ।

परिषद्का सदस्य-सचिव कार्की भने उक्त तथ्यांकलाई सही मान्दैनन् । भन्छन्, ‘प्रदुषण उच्च रहने समयमा गरिएको अध्ययनमा आधारित रिपोर्ट हो त्यो, हामीभन्दा भारतका शहरहरु ज्यादा प्रदुषित छन् ।’

भारतमा कृषकहरुले खेतमा जलाउने पराल र झारपात सरकारकै लागि चुनौतिको विषय बनेको छ । काममा नआउने कृषिजन्य वस्तुहरु ओसारपसार गर्दा महँगो पर्ने बताउँदै किसानले खेतबारीमै जलाउने गर्छन् ।

त्यसबाट निस्किने खरानीले उत्पादकत्व बढाउने भ्रम किसानहरुमा देखिन्छ । तर, त्यसका कारण सिर्जना हुने वायु प्रदुषणको मारमा किसान स्वयं पर्ने गरेका छन् ।

खासगरी, दिल्ली, हरियाणा, उत्तर प्रदेश र पञ्जाबमा वायु प्रदुषणको समस्या उच्च छ । भारतका चर्चित् श्वासप्रश्वाससम्बन्धि रोग विशेषज्ञ डा. रणदीप गुलेरिया वायुप्रदुषणलाई ‘साइलेन्ट किलर’का रुपमा व्याख्या गर्छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक रिपोर्टअनुसार विश्वमा बर्सेनी ३५ लाख मानिसको मृत्यु वायुप्रदुषणका कारण सिर्जित रोगहरुका कारण हुने गर्छ । त्यसमध्ये अतिकम विकसित र विकासोन्मुख देशहरुको हिस्सा ८२ प्रतिशत छ ।

सरकारले तत्काल पहल थाल्ने हो भने उपत्यकाको धुलो नियन्त्रणमा ल्याउन सकिने परिषद्का सदस्य-सचिव कार्कीको ठम्याइ छ । उनको बुझाइमा नियमित आकाशतिर पानीको फोहोरा फाल्ने र सडक सफाइमा केन्दि्रत हुने हो भने यसलाई नियन्त्रणमा ल्याउन गाह्रो छैन ।

तर, त्यसमा सरकारी निकायले केही काम गरेका छैनन्, अहिलेसम्म । त्यसैले तत्काल समस्याबाट पार पाइने कुनै सम्भावना देखिँदैन, जसलाई सही मान्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment