
४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकारवादी बजारलाई संरक्षण गर्ने गरी भारतसँगको पेट्रोलियम पाइपलाइनको सम्झौता भए पुनरावलोकन गरिने बताएका छन् । उनले चुनावपछि वाम सरकार बन्ने र त्यसले त्यस्ता एकात्मक बजारलाई संरक्षण गर्ने किसिमका सम्झौताहरू कायम नराख्ने बताए ।
सोमबार नेपाल उद्योग वाणिज्य संघले आयोजना गरेको चुनावी घोषणापत्रमा आर्थिक एजेण्डाबारेको कार्यक्रममा ओलीले आफूलाई भारतसँग त्यस्तो सम्झौता भएकोबारे जानकारी नभएको बताए ।
‘मलाई पाइपलाइनको सम्झाैतामा त्यस्तो गडबडी भएको जानकारी छैन । भएको भए कुनै एउटा एकाधिकारवादी बजारलाई संरक्षण गरेर सरकारले आफ्नै घाटीमा सुर्केनु कस्दैन,’ ओलीले भने ।
भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको रक्सौल-अमलेखगञ्ज पाइपलाइनसम्बन्धी सम्झौतामा भारतबाट निगमले १५ वर्षसम्म नेपालमा माग हुने सय प्रतिशत नै तेल ल्याउनुपर्ने उल्लेख छ ।
ओली नेतृत्वको सरकारलेनै चीनबाट ३० प्रतिशत तेल ल्याउने गरी समझदारी गरेको छ । तर, भारतसँगको सम्झौताले अप्ठेरो पर्ने भएपछि अर्को सरकारी कम्पनी नेशनल ट्रेडिङलाई चीनबाट तेल ल्याउने काममा सहभागी गराउने योजना बनाइएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय उल्ट्याएर विदेशी लगानीलाई हतोत्साही गरेको भन्दै चुनावपछि बन्ने वाम सरकारले त्यसलाई उल्ट्याउने बताए ।
कार्यक्रममा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले सबै दलको चुनावी घोषणापत्र महत्वकांक्षी भएको बताए ।
तर, माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले विकासका लागि महत्वकांक्षा र सपना देखोर अगाडि बढ्दा नै राम्रो हुने बताए ।
प्रतिक्रिया 4