Comments Add Comment

‘गाउँलाई बस्न लायक बनाउँछु’

दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्‍याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस भएको बताए । उनले भने, ‘अब यस्तै घरमा ल्याएर राखे, गार्‍हो भएको छ ।’

तनहुँको निर्वाचन क्षेत्र नः १ बाट ०४८ सालमा विजयी भएका पौडेलले ०५१ सालको मध्यावधि चुनाव तनहुँ २ बाट जिते । ०५६, ०६४, ०७० सालमा उनले लगातार ५ पटकसम्म तनहुँबाट जनताको प्रतिनिधि भएर काम गरे ।

जीवनको उत्तरार्धमा हिँडिरहेका पौडेलका लागि यसपटकको निर्वाचन निकै महत्वपूर्ण छ । यसअघिका निर्वाचनमा सजिलै जित्दै आएका पौडेलले यसपालि पनि चुनाव जित्ने दाबी गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलसँग उनको चुनावी अभियानबारे अनलाइनखबरका लागि सुवास पण्डितले गरेको कुराकानीः

चुनावी अभियान कसरी अघि बढाइरहनुभएको छ ?

क्षेत्र नं. १ मा के एउटा दुश्प्रचार गरियो भने अब यसले केही पनि काम गरेको छैन, चुनाव जित्यो गयो, आउँदा पनि आएन । दुई नम्वर क्षेत्रमा निर्वाचन लड्न गयो । यता छाडिदियो । मेराविरुद्ध यही कुरालाई बढी प्रचार गरिएको छ ।

केही हाम्रै पार्टीका मान्छेले बढाई चढाई गरेर चुनावी मुद्दा बनाएका छन् । ईश्र्या गर्ने जमातले थोरै-थोरै यस्तो प्रचार गरेका छन् । विचरा सीधा जनतालाई हो कि भनेजस्तो पर्नु स्वाभाविकै हो । तर, कुरा के भने त्यो सबै क्लियर हुँदैछ ।

मान्छेले बुझ्दै छन् कि रामचन्द्र पौडेल राष्ट्रिय झमेलामा, ठूला-ठूला मुद्दाहरुलाई किनारा लगाउन निरन्तर वार्ता र सहमतिमा लागेका कारणले उसलाई यहाँ जिल्लामा आउन आउन नमिलेको हो भन्ने कुरा जनताले बुझ्दैछन् ।

रामचन्द्र पौडेलले तनहुँको विकास गरेन भन्ने कुराचाँहि सत्य होइन ?

गरेन भन्ने कुरा त कसैले पनि पत्याउँदैन । विकास यहाँ सामुन्नेमा छ, मैले नगरे कसले गर्‍यो त ? कसैले गरेकै होइन । यसो कसै कसैले थपथापमात्रै गरे होलान् ।

मूलरुपमा यहाँका हरेक गाउँमा मोटरबाटो बिजुली, पानी, शिक्षा, स्वास्थ्य सिँचाई सञ्चार पुर्‍याउने काम त मेरै अगुवाइमा, मेरै प्रयत्नमा भएको हो । तनहुँ जिल्लाले जुन काँचुली फेरेको छ, त्यसमा ७५ प्रतिशतभन्दा बढी योगदान मेरो छ ।

मान्छेहरुले भन्छन् नि, रामचन्द्र पौडेल देशकै शीर्षस्थ र ठूलो नेता मध्येको एक हो, तर तनहुँ जिल्लामा एउटा सुविधासम्पन्न अस्पताल, एउटा गुणस्तरीय प्राविधिक शिक्षा दिने कलेज छैन । यो पनि त सत्य हो नि ?

होइन । जिल्लामा ठूलो अस्पताल म बनाउँदै पनि छु । गिरिजाप्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत करोडौं, अरबौंको लगानीमा अस्पताल बनाउँदैछु । भारतसँग सहमति पनि भैसकेको छ । अब अन्य अस्पताल पनि मैले सुधार्ने प्रयास गरेको छु । दमौली अस्पतालको जग्गाको कमीले गर्दा बेड थप्न समस्या थियो, त्यसलाई पनि सुल्झाएको छु ।

गाउँगाउँमा ठूल-ठूला स्वास्थ्यचौकीहरु बनेका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो काम भएको छ । र, अब सञ्चार… तपाईले देख्नुभएको छ, सबैका खल्तीखल्तीमा मोबाइल छ । वत्ती बिजुली सबैतिर बलेको छ । बाटो सबै ठाउँमा पुगेकै छ । वास्तवमा त्यसलाई ‘फिनिसिङ टच’ दिन बाँकी छ ।

पूर्वाधार निर्माण गर्ने काममा धेरै प्रगति भएको छ । अब आवश्यकता छ, रोजगारीको । जनतालाई गाउँगाउँमै, डाँडाडाँडामै रोजगारी दिने योजना पनि मैले अगाडि बढाएको छु । अब गाउँमा नै रोजगारीको अवसर सिर्जना हुन्छ ।

अहिले पनि तपाईको निर्वाचन क्षेत्रका कोटा, वैदी, सराङघाट ग्याँजेटार, छापस्वाँरा, हिलेखर्क, सराङघाट लगायतका अन्य दर्जनौं भेगका जनता अन्धकारमा बस्न बाध्य छन् । खानेपानी पुगेको छैन । स्वास्थ्य चौकी पुगेको छैन । अनि तपाई भन्नुहुन्छ कि सबै ठाउँमा यी सुविधा जनताले पाएका छन्…

त्यहाँ जाँदैछ । स्वास्थ्य चौकी बनेका छन् । विद्युत जाँदैछ । विद्युत लैजान अलि टाढा भयो । मेन लाइनबाट बिजुली दिने काम पनि अब सुरु भैरहेको छ । अलिकति किन ढिला भयो भन्दाखेरि सेती प्रोजेक्टले सबै गरिदिन्छु भन्यो । त्यसले गर्छ भनेर थोरै आशा पनि गरियो । नत्र भए त मैले सरकारी बजेटबाट सबैतिर पहिल्यै बिजुली बाल्दिइसक्थें ।

तपाईमाथि अर्को एउटा आरोप छ, ०४८ सालमा क्षेत्र नं १ बाट उठ्यो, छाडेर ०५१ मा क्षेत्र नः २ मा गयो । अहिले फेरि क्षेत्र नं १ मा फर्कियो भन्ने छ नि ? किन यस्तो ?

म ०४८ सालमा क्षेत्र नः १ मा निर्वाचन लडें । सारै अप्ठ्यारो क्षेत्रलाई सजिलो र सुगम बनाएँ । कांग्रेसको जो उठे पनि निर्वाचन जित्ने मैंले बनाइदिएँ । त्यति धेरै काम गरें । क्षेत्र नं २ को विषेश परिस्थितिका कारणले गर्दा मलाई पार्टी केन्द्रले क्षेत्र नं २ मा पठायो । यता, क्षेत्र नं २ लाई तनहुँको कणर्ाली भनिन्थ्यो । यो ठाउँलाई पनि मैले सुगम बनाइदिएँ । विपन्नलाई सम्पन्न र विकटलाई सुगम बनाएको छु । आज क्षेत्र एउटै भयो, जहाँ थिएँ, त्यहीँ छु ।

तपाईको क्षेत्रका चुनावी एजेण्डाहरु के के छन् ?

मेरो क्षेत्रका समस्या के हुन् भन्दा मैले ०४८ सालमा जे भनेको थिएँ, अहिले पनि त्यही छ । गाउँमा मान्छेहरुको मन विचलित छ । गाउँबाट बसाइँ सर्ने, विदेश जाने प्रवृत्ति अहिलेसम्म पनि रोकिएको छैन । त्यसकारण गाउँमै सेवा सुविधा पुर्‍याएर गाउँमै बस्ने वातावरण बनाउने हो ।
यसले मात्रै पनि पुगेन । रोजगारी र गाउँमा नै आम्दानी गर्ने वातावरण निर्माण गर्ने हो । म गाउँमै रोजगारी र आम्दानीको स्थिति बनाउन चिन्तित छु । योजना पनि बनाएको छु । कृषि क्रान्ति, पर्यटनको विस्तार, उर्जा उत्पादन यी तीनवटालाई मैैंले मूल आधार मानेको छु । गाउँलाई बस्न लायक बनाउने नै मेरा एजेण्डा हुन् ।

तपाईका विपक्षी उम्मेदवारले भन्नुभएको छ कि रामचन्द्रजीले काम गर्न सक्नुभएन । उमेरले पनि पाको हुनुभयो । म युवा छु, मलाई मौका दिनुहोस्…. । यसमा तपाईको टिप्पणी केही छ ?

उमेरले बुढो, तरुनो भन्ने हुँदैन, विचारले हुन्छ । म वीपीको चेलो हो । थोत्रा विचार, सडेगेलका विचार बोक्नेलाई १६ वर्षे भए पनि म युवा मान्दिनँ । त्यसकारण नयाँ आइडिया, नयाँ विचार र समाज परिवर्तनको भिजन भएको मात्रै युवा हुन्छ ।

तनहुँ कांग्रेसको हकमा तपाई र गोविन्दराज जोशीवीचको टकरावले निर्वाचनको परिणाममा कुनै असर गर्दैन ?

कांग्रेसभित्र अनेकखालका नियत भएका मान्छे छन् । यहाँ असल नियतका मान्छेमात्रै छन् भनेर म दाबा गर्न सक्दिनँ । पार्टीमा कसैलाई पुलिङ गर्ने, रिस गर्ने, ईश्र्या गर्ने र पार्टीमा ‘आफू मरे….. राजा’ भन्ने, आफूले नपाए पार्टी डुबे पनि डुबोस् भन्ने नेगेटिभ सोचाइ भएका मान्छे पनि छन् । तर, पनि सालाखाला मिलाएर हामीले कांग्रेसलाई इन्ट्याक्ट राखेका छौं । कांग्रेसले जहिले पनि एक्लै सबै दलको सामाना गर्दै आएको छ । र, अहिले पनि कांग्रेस सक्षम छ ।

पार्टीभित्रको असन्तुष्टिले चुनावमा कति असर गर्ला ?

असन्तुष्टि केही निहीत व्यक्तिको वीचमा रहन्छ, जनतामा त्यो पुग्न पाउँदैन । आम जनताले पार्टीलाई साथ दिन्छन् । मलाई साथ दिन्छन् ।

तपाईले गोविन्दराज जोशीको उम्मेदवारी खारेज गराइदिनुको कारण चाहिँ के ? भ्रष्टाचारी भएकाले हो ?

पार्टीको मान्छे हुँ भन्ने, कांग्रेसको मान्छे हुँ भन्ने ? त्यत्रो केस हुँदाहुँदै मेरै खिलापमा उम्मेदवारी दिने ? (आक्रोशित हुँदै) लिगल प्रश्न उठ्यो । मैले नउठाएको भए अरुले उठाउँथे । मैले त सामान्य दाबी विरोधको प्रकृयामात्रै अवलम्वन गरेको हुँ । भ्रष्टाचारी भनेर आरोप लगाउने काम मैले गरेको पनि छैन, म गर्दापनि गर्दिनँ । अरुले भनेका छन्, मैले कानुनी प्रकृया मात्रै समातेको हुँ ।

कांग्रेसका नेताहरुले आफुखुसी धमाधम भावी प्रधानमन्त्री घोषणा गरिरहेका छन् । खासमा भावी प्रधानमन्त्री को हो ?

अरुले भनेका छन् । मैले मेरो आफ्नै मुखले भनेको छैन । तर, चाहाना नै नभएको होइन । चाहना नभएको त को राजनीतिमा लाग्छ र ?

र, एउटा कुराचाँहि के हो भन्देखिन मैंले जो सोच, जो चिन्तन, जो प्लानिङ, योजना बनाएको छु त्यसलाई कार्यान्वय गर्न पाउनुपर्छ भन्ने हो । देशलाई यसरी बनाउँछु भन्ने मसँग जो विचार छ, यो विचारले मूर्त रुप पाउने अवसर पाउनुपर्छ । र यसबाट नेपाल र नेपाली वञ्चित बन्नुहुँदैन ।
मसँग भएको सोच, मसँग भएको आइडिया, विचार र योजनाबाट नेपालले फाइदा लिन पाउनुपर्दछ । मेरो दाबी सधै रहन्छ ।

कांग्रेस तनहुँका कतिपय युवा नेताहरुलाई अगाडि बढ्न सधैं रामचन्द्र पौडेलले बाटो छेक्ने गरेका छन् भन्ने आरोप पनि छ नि ?

कसैलाई मैले रोकेको छैन । आफ्नो प्रतिभालाई लिएर आउने सबैलाई मैले अवसर दिएको छु । मैले जति अवसर कमैले मात्र दिन्छन् । कुनै रोकथाम गरेर आफूमात्रै लाभको पदमा पुगौं भन्ने छैन । आफूमात्रै स्थापित हौं भन्ने मैले कहिल्यै पनि सोचिनँ । मलाई त बढी लुज भयो भन्छन् बरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment