+
+

प्रधानमन्त्री आफैंले भय र त्रास सिर्जना गरिरहेका छन्ः नेम्बाङ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते १८:२२

१२ मंसिर, इलाम । पूर्व सभामुख तथा इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई आलोचना गर्ने नाममा समाजमा भय र त्रास फैलाउँदै आएको बताएका छन् ।

उनले कम्युनिष्टहरु मिलेर बाम गठबन्धन बनाएर अधिनायकवाद ल्याउन खोजेको र बाम गठबन्धनले जिते हाँस्न पनि नपाइने भन्दै त्रास फैल्याउने काम गरेको बताए ।

‘आउनु होस् ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्’ भनेर भन्नुपर्ने प्रधानमन्त्रीले उल्टै भय र त्रास सिर्जना गरेको भन्दै नेम्बाङले प्रश्न गरे, ‘हामी सबैको सुरक्षाको दायित्व लिएका प्रधानमन्त्री आफैंले हास्न पनि पाइन्न, रुनु पनि पाइन्न भनेर भय, डर र त्रास फैलाउन पाइन्छ ?’

इलाम नगरपालिका वडा नं. ५ विब्ल्याँटे बजारमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेम्बाङले बाम गठबन्धनदेखि नआत्तिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

‘यो कुनै अधिनायाकवाद होइन, विश्वले अभ्यास गरेको लोकतान्त्रिक प्रक्रिया हो’, उनले भने, ‘जनताले जसलाई आर्शिवाद दिन्छन्, उसले पाँच बर्ष सरकार चलाउँ, नत्र प्रतिपक्षमा बसौं । स्थायी सरकार र समृद्धिका लागि हामीले गठबन्धन गरेका हौं ।’

उनले जनताले स्थायी सरकार, विकास र समृद्धिका लागि बाम गठबन्धनलाई जिताउने भन्दै नेपाली कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न सुझाव दिएका छन् ।

नेम्वाङले थपे, ‘पाँच वर्ष ढुक्कले प्रतिपक्षमा बस्नुहोस्, आफ्ना गल्ती कमजोरीहरु केलाउनु होस्, यसैमा कांग्रेसको स्वास्थ्य सप्रिन्छ ।’

नेम्बाङले नागरिकले राजनीतिक अधिकार पाइसकेकाले अब विकास र समृद्धिमा लाग्नु पर्ने बताए ।

उनले भने, ‘हामी पाँच वर्ष सरकार चलाउँछौं र देशलाई समृद्ध पनि बनाउँछौं । हामीसँग मुलुकलाई समृद्ध बनाउने योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?