+
+

हवाई भाडा बढाएपछि वायुसेवा संघमा आपूर्ति विभागको छापा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते १७:३२

२५ मंसिर, काठमाडौं । मंगलवारदेखि लागू हुनेगरी व्यवसायीले हवाई भाडा बढाउन लागेपछि सरकारले वायुसेवा सञ्चालक संघमा छापा मारेको छ । इन्धनको मूल्य बढेको नाममा भाडा बढाउने निर्णय गरेसँगै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमवार संघमा अनुगमन गरी कागजात नियन्त्रणमा लिएको हो ।

संघले मंगलवारदेखि हवाई भाडामा २ सय २० रुपैयाँसम्म वृद्धि गरेपछि उक्त भाडा मूल्य अस्वभाविक भएको भन्दै संघमा अनुगमन गरेको हो । भाडा बढाउने निर्णय गरेपछि विभागले संघसँग हालसम्मका सबै कागजात मगाएको छ । ‘भाडा बढाउनुपर्ने कारण, सम्बन्धित कागजात र यसअघिका अभ्यास सबै समेटेर विस्तृत विवरण २४ घण्टाभित्र विभागमा पेस गर्न निर्देशन दिएका छौं,’ अनुगमन टोलीका निर्देशक रमेशकाजी श्रेष्ठले भने ।

संघले सोमवार हवाई भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । जसअनुसार संघले काठमाडौं देखि धनगढीसम्मका लागि १२ हजार ३ सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । हालसम्म सोही दूरीको यात्रामा यात्रुले १२ हजार १ सय रुपैयाँ तिर्दै आएका छन् ।

मंगलवारदेखि हिमाली क्षेत्रको उडानमा एक सय ७० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय संघले गरेको छ । त्यस्तै, नेपालगञ्जको उडानमा एक सय ६५, भद्रपुरका लागि एक सय ५० रुपैयाँ र विराटनगरका लागि एक सय २० रुपैयाँ वृद्धि गरेको छ ।

भैरहवामा एक सय ५, तुम्लिङ्टारमा ९५ रुपैयाँ, पोखरामा ८० रुपैयाँ, जनकपुरमा ६० रुपैयाँ, भरतपुरमा ५५ रुपैयाँ र सिमारामा ४५ रुपैयाँले वृद्धि गरिएको छ ।

आयल निगमले गत शुक्रबार हवाई इन्धनको मूल्य बढाएसँगै भाडा बढाउनुपरेको दावी संघको छ । निगमले हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसअघि प्रतिलिटर हवाई इन्धनको मूल्य ८२ रुपैयाँ बाट ८७ रुपैयाँ पुर्‍याएको थियो ।

संघका कार्यकारी निर्देशक कमलेशकुमार बर्माले हवाई भाडा बढाउनका सरकारबाट स्वीकृति प्राप्त गरिसकेको बताए । ‘इन्धनको मूल्य बढेसँगै भाडामा पनि पुनर्विचार गर्न हामीले सरकारलाई आग्रह गरेका थियौं,’ उनले भने, ‘नागरिक उडड्यन प्राधिकरणले भाडा बढाउन निर्देशन दिएपछि बढाइएको हो ।’ उनका अनुसार भाडा बढाउने संघको निर्णयमा प्राधिकरणले आइतवार स्वीकृति दिएको छ ।

संघको नियमावली अनुसार भाडादर बढाउन आइतवार नै प्राधिकरणमा सिफारीस गरेको थियो । प्राधिकरणले संघको प्रस्तावमा सदर गरेपछि भाडा बढाउने निर्णय गरिएको संघका कार्यकारी निर्देशक बर्माले बताए । ‘तेलको मूल्य पाँच रुपैयाँभन्दा बढी बढ्दा भाडा बढाउन मिल्ने व्यवस्था अनुसार भाडा वृद्धि गरिएको हो,’ बर्माले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?