३ फागुन, उदयपुर । जन्मदै बौद्धिक अपाङ्गताका कारण बाख्रा खोरमा थुनिएका उदयपुरका तर्कबहादुर खत्रीले खोरमै नागरिकता पाएका छन् ।
बोल्न नसक्ने तथा कहिल्यै लुगा नलगाउने कटारी नगरपालिका १ कालीखोलाका खत्रीलाई ५४ वर्षको उमेरमा खोरमै नागरिमता प्रमाणपत्र दिइएको हो ।
बिहीबार इलाका प्रशासन कार्यालय कटारीले उनलाई कालीखोलास्थित थुनिएको खोरमै गएर नागरिकता दिएको हो । खोटाङको साविक डिकुवा गाविस ७ मा जन्मेका उनी परिवार बसाईं सरेर कालीखोला आएपछि सँगै आएका थिए ।
बाल्यकालदेखि बोल्न नसक्ने, सँधै नाङ्गै बस्ने उनको बारेमा खबर पाएपछि इप्रका प्रमुख सुनिल पौडेलले घरमै पुगेर नागरिकता दिएका हुन् । खत्रीलाई नागरिकता दिलाउन भाञ्जा नाता पर्ने महेश बस्नेतले केही दिनअघि इलाका प्रशासन कार्यालय प्रमुख पौडेलसँग आग्रह गरेका थिए ।
‘बोल्न नसक्ने, कपडाबिनै बस्ने बौद्धिक अपाङ्गले नागरिकता नपाएको खबर आएपछि घरमै गएर नागरिकता दिएको हुँ’ पौडेलले भने ‘उनलाई पहिलो पटक देख्दा अचम्म लाग्यो । मान्छे कस्तोसम्म भएर बस्दा रहेछन्, भन्ने लाग्यो ।’
कार्यालय सहयोगी महेन्द्र आचार्यसहित त्यहाँ पुगेका बेला तर्कबहादुर खसी बाख्रासँगै खोरमा थुनेर राखिएका थिए । भाइको परिवारसँग बस्दै आएका उनलाई गाउँघरमा जथाभावी विगार गर्ने गरेका कारण थुनेर राख्नुपरेको जवाफ पाएको पौडेलले बताए ।
तर्कबहादुरकी दिदी इन्द्रकुमारी कार्कीका अनुसार उनी सानैदेखि बोल्दैनथे, कपडा लगाउँदैनथे, ठूलो भएपछि पनि कपडा लगाइदिए खोलेर फालिदिन्थे । युवावयमा पुगे पनि सँधै नाङ्गो बस्न थालेपछि परिवारले बाध्य भएर उनलाई खोरमा राख्नुपरेको इन्द्रकुमारीको भनाइ छ ।
२०२० साल माघ २ गते जन्मेका उनका बाबु २०६४ र आमा २०६७ मा बितेपछि उनको पालनपोषण भाइ चेवनबहादुर खत्रीले गर्दै आएका छन् । ३ दाजुभाइमध्ये उनी जेठा हुन् ।
खत्री परिवार सामान्य खेती किसान गरेर गुजारा गर्दै आएको छ । खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने तर्कबहादुरलाई भाइ चेवनले बेलाबेलामा खोरमै गएर सफा गरिदिने गरेको बताए ।
५४ वर्ष पुगेका तर्कबहादुरले अपाङ्ग भत्ता पाउने आशमा नागरिकता बनाउन भाञ्जा महेशले पहल गरेका थिए । ‘आमा-बाबु बितेपछि कान नसुन्ने कान्छो भाइको सहारामा बिजोग भएर बसेको छ’ दिदी इन्ऽकुमारीले भनिन् ‘कता अपाङ्गले भत्ता पाउँछन् रे भन्ने सुनेर छोरोलाई मामाको नागरिकता बनाइदिन लगाएँ ।’
इन्द्रकुमारीले दिदी-बहिनी मिलेर उनलाई सानो घर बनाइदिएको भए पनि तर्कबहादुर खोरमै बस्नु परेको गुनासो गरिन् । भाइको यस्तो अवस्था देख्दा दुःख लाग्ने गरेको भन्दै इन्द्रकुमारीले अब नागरिकता बनेपछि नगरपालिका र सरकारले उनलाई सहयोग गर्ला कि भन्ने आशा पलाएको बताइन् ।
अभिमन्यु लामिछानेबाट
प्रतिक्रिया 4