Comments Add Comment

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौथो शिखर सम्मेलन राजधानीमा

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौथो शिखर सम्मेलन भोलिदेखि राजधानीमा सुरु हुने भएको छ ।

‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीको लागि उच्चस्तरीय अनुसन्धान’ भन्ने नाराका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा एक हजार भन्दा बढी नेपाली वैज्ञानिकहरूको सहभागिता रहने जानकारी परिषद्द्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।

सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले गर्ने कार्यक्रम रहेको छ । सम्मेलन मुख्यतः स्वास्थ्य प्रणालीमा केन्द्रित रहनेछ ।

सम्मेलनमा अनुसन्धानकर्ताहरूले स्वास्थ्य तथा जनसंख्यासित सम्बन्धित विषयमा केन्द्रित रहेर आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६५ वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुतिका साथै ६७ वटा पोस्टरको प्रस्तुति गर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनी कुमार झाले बताए ।

आमन्त्रितमध्ये आठजना विज्ञद्वारा संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेको स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिको बारेमा जानकारी, नेपालमा नसर्ने रोग र गरिबीको बारेमा प्रस्तुतीकरण तथा छलफल गरिने झाले बताए ।

त्यसैगरी, परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेधनाथ धिमालले सम्मेलनमा नसर्ने रोग, पोषण स्वास्थ्य, प्रजनन लैंगिक र मातृ स्वास्थ्य, मानसिक स्वास्थ्य, वित्त, प्रशासन र स्वास्थ्य प्रणाली लगायतका आठ विधामा प्रस्तुति दिने बताइएको छ ।

सम्मेलनको समापनमा सातजना उत्कृष्ट अनुसन्धानकर्ताहरूलाई सम्मानित गरिनेछ ।

‘नेपालमा चौथो पटक हुन लागेको यसप्रकारको सम्मेलनले युवा अनुसन्धानकर्ताहरूलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्ने राम्रो थलो त प्रदान गरेको छ नै । यसबाट आएको नतिजाको आधारमा सरकारलाई स्वास्थ्य नीति बनाउन सजिलो हुने विश्वास हामीले लिएका छौँ,’ डा. झाले भने ।

झाले विगतमा भएका यस्ता सम्मेलनबाट आएको नतिजाकै आधारमा नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको नतिजा सार्वजनिक भएको स्मरण गर्दै यस पटकको सम्मेलनबाट प्राप्त नतिजा पनि महत्वपूर्ण हुने आशा व्यक्त गरे ।

सम्मलेन विगत चार वर्षदेखि विभिन्न विषयमा केन्द्रित रहेर सञ्चालन हुँदै आएको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment