१४ असार, काठमाडौं । राजधानीको पूर्वी नाकातर्फ अवस्थित कोटेश्वरमा यतिबेला जामले हैरानी पार्ने गरेको छ ।
बिहानैदेखि सवारीको चाप बढ्ने कोटेश्वरको जाम अब साउनदेखि घट्ने होइन, झनै बढ्ने सरकारी अधिकारीहरु बताउँछन् ।
सडक विभागले कलंकीमा अन्डरपास निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । साउनबाट अन्डरपास-वे चलाउने सडक विभागले तयारी गरिरहेको छ । त्यहाँको अण्डरपास खुलेपछि कोटेश्वरको जाम अरु बढ्ने भएको हो ।
कलंकीको अण्डरपासले कोटेश्वरमा कसरी बढ्छ जाम ?
सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठका अनुसार अबको १० दिनभित्रै कलंकी अन्डरपास-वे निर्माणको काम सकिनेछ । साउनबाट त्यसलाई सञ्चालन गर्न विभागले चीनसँग अनुरोध गरिरहेको छ ।
अन्डरपास-वे सञ्चालन भएपछि कलंकी चोकमा सवारी आवागन निकै सहज हुनेछ । तर, जति सजिलो कलंकीमा हुनेछ, त्यति नै अप्ठ्यारो अब कोटेश्वरमा हुनेछ ।
अहिले कलंकीमा एउटा गाडीलाई कम्तिमा आधा घण्टा जाममा बस्नैपर्ने बाध्यता छ । पिक आवरमा त एक घन्टासम्म गाडीहरु कलंकीमै रोकिने गरेका छन् । अण्डरपास खुलेपछि कलंकीबाट सजिलैसँग गाडीहरु पास हुनेछन् ।
तर, अन्डरपास सञ्चालन भएपछि त्यहाँबाट छुटेका गाडीहरु अब कोटेश्वरमा गएर थुप्रनेछन् । अर्थात, कलंकीको अण्डरपास सञ्चालनमा आएपछि अब कोटेश्वरबाट बालकुमारीतर्फ गाडीको चाप निकै बढ्नेछ ।
उसै पनि कोटेश्वरमा पिक आवरमा अहिले दुई घण्टासम्म जाममा बस्नुपर्ने बाध्यता छ । खासगरी वीपी राजमार्ग भएर पूर्व जाने, अरनिको राजमार्गमा चल्ने तथा भक्तपुर र काभ्रेका ग्रामीण भेगमा जाने सवारीको चापले काटेश्वरमा सास्ती बढेको छ ।
धुलिखेतर्फबाट आउने गाडीहरु भक्तपुरको ६ लेनको सजिलो बाटोबाट छिट्टै काटेश्वर आइपुग्छन् । तर, चोकमा आइपुग्नुअघि नै लामो समय जाम बस्नुपर्ने बाध्यता छ ।
त्यसैगरी रिङरोड भएर आउजाउ गर्ने सवारीको संख्यामा पनि बढेको बढ्यै छ । रिङरोड विस्तारका कारण कलंकीबाट कोटेश्वरसम्म सहज रुपमा गाडी आउनेछन् । तर, कोटेश्वर चोकले ती गाडीहरुको चापलाई थाम्न सक्ने अवस्था छैन ।
अब कलंकीको अण्डरपास चलेपछि त्यताबाट आएका गाडीको लाइन पनि बालकुमारी पुलसम्मै पुग्ने आँकलन ट्राफिक प्रहरीको छ । यस्तो अवस्थामा ट्राफिक व्यवस्थापन कम्ति चुनौतिपूर्ण हुनेछैन ।
के छन् त विकल्प ?
सडक विभागले कोटेश्वरको जाम हटाउन विभिन्न विकल्पहरु माथि विचार गरिरहेको छ । विभागमा महानिर्देशक श्रेष्ठ दीर्घकालीन रुपमा कोटेश्वरमा सुरुङ बनाएरमात्रै जामको समस्या हल गर्न सकिने बताउँछन् । त्यसबारे यो वर्षको बजेटले पनि बोलेको छ ।
तर, तत्कालका लागि भने कोटेश्वर चोकमा आएर रिङरोडतर्फ जाने गाडीलाई जडीबुटीबाटै डाइभर्ट गर्नेगरी भौतिक संरचना विकासको योजना पनि विभागले बनाएको श्रेष्ठ बताउँछन् ।
‘विद्यमान सडकलाई सुधार गरेर मनहरातिरबाट गाडी डाइभर्ट गर्न सकियो भने कोटेश्वरको जाम हट्छ कि ?’ श्रेष्ठ भन्छन्, ‘हामीले यसबारे अध्ययन गर्नुपर्नेछ । साउनबाट त्यसका लागि काम सुरु गर्छौं । र, सम्भव भएसम्म वैकल्पिक सडकलाई प्रयोग गर्न प्रोत्साहित गर्ने योजना छ ।’
त्यस्ता वैकल्पिक सडकका कतिपय स्थानमा बेलिब्रिज हाल्नुपर्ने हुन सक्ने श्रेष्ठले अनलाइनखबरलाई बताए । अहिले स्थानीय तहले बनाएका पुलहरुले धेरै सवारीको चाप थेग्न नसक्ने भएकाले बेलिब्रिज बनाएरै भए पनि सवारीलाई विकल्प दिने अवधारणा तयार गरिएको हो ।
सडक विभागले जडीबुटीबाट कोटेश्वर आउने सडकको दायाँबायाँ एक-एक लेन थप गर्न सकिन्छ कि भनेर अध्ययन गरेको छ । तर, त्यसका लागि एयरपोर्टको जग्गा चाहिने भएकाले नेपाल नागरिक उड्ययन प्राधिकारणसँग छलफल गर्नुपर्ने महानिर्देशक श्रेष्ठले बताए ।
‘प्राधिकरणले जग्गा दियो भने लेन थप्न सकिन्छ । त्यसले पनि ट्राफिक व्यवस्थापन केही सहज हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर, यसमा छलफल हुन बाँकी नै छ ।’
विभागले कोटेश्वरमा अस्थायी र सस्तो प्रकारको आकाशे पुल निर्माणका लागि विचार गरिरहेको छ ।
‘केही घण्टा त पैदल यात्रुलाई सडक वारपार गराउँदै पनि समय जान्छ । त्यसैले पुरानो बसपार्कमा जस्तै पछि झिक्न मिल्नेखालको पुल बनाएर पैदल यात्रुको व्यवस्थापन पनि गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘हामीसँग भएका विकल्पहरुमा साउनबाट मात्रै काम सुरु गर्न सक्छौं ।’
प्रतिक्रिया 4