+
+

उपेन्द्र देवकोटाबारे डा. बसन्त पन्त भन्छन् : उहाँबाट जिन्दगीका कुरा धेरै सिकें

टिचिङ अस्पतालले जागिर नदिँदा निजी अस्पताल

ऋचा अर्याल ऋचा अर्याल
२०७५ साउन २९ गते ३:००

२८ साउन, काठमाडौं । वरिष्ठ न्युरो सर्जन स्व. डा. उपेन्द्र देवकोटाका प्रतिस्पर्धी हुन्- डा. बसन्त पन्त । हाल माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा कार्यरत पन्त उनै डाक्टर हुन्, जसले टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनी गंगा-जमुनाको शल्यक्रिया गरेका थिए ।

इरानी जुम्ल्याहा युवती लालेह र लाडेन विजानीको शल्यक्रियामा समेत भूमिका निर्वाह गरेका डा. पन्त एक समय डा. उपेन्द्र देवकोटाका सहकर्मी थिए, त्यसपछि उनी स्थायी प्रतिस्पर्धी बने ।

डा. देवकोटा र डा. पन्तवीच यसअर्थमा पनि प्रतिस्पर्धा थियो कि देवकोटाले बाँसबारीमा न्यूरो अस्पताल खोलेका थिए, पन्तले माइतीघरमा अर्को न्युरो अस्पताल खोले ।

के थियो डा. देवकोटाको सपना ?

डा. उपेन्द्र देवकोटाको निधनप्रति समवेदना जनाउँदै डा. पन्तले एउटा स्टाटस लेखेका थिए, जसमा भनिएको थियो-

‘डियर देवकोटा सर, २८ वर्ष अगाडि तपाईले आफ्नो सपनाबारे बताउनुभएको थियो । त्यो सपना यति ठूलो थियो कि त्यसलाई पूरा गर्न एउटा जुनी नै कम हुन्छ । हाल विभिन्न संस्थाहरुबाट विभिन्न तरिकाले धेरै उपेन्द्र देवकोटाहरु उत्पादन भैसकेका छन्, जसले त्यसलाई मिशनका रुपमा अगाडि बढाउँछन् । यो नै तपाईका लागि सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनुपर्छ । मलाई त्यो सपना देखाउनुको भएकोमा धन्यवाद । मसित मिसन छ । तपाईको अभाव सधै महसुस हुनेछ । आदरणाीय सर ।’

देवकोटाका सपनाबारे वर्णन गर्दै डा. पन्तले अनलाइनखबरसँग भने- ‘डा. देवकोटाको सपना भनेकै नेपालमा पनि न्युरो साइन्सको विकास होस् भन्ने ठूलो मिसन थियो । जसमा एउटा प्रमुख इन्सटिच्युट होस्, त्यसमा सबै किसिमका काम होस् । र, त्यसले अन्तर्राष्ट्रिय स्तरमा अरु ठाउँहरुमा पनि नेटवर्किङ्ग गरोस् । जसले गर्दा उच्च शिक्षा हासिल गर्न बाहिर गएका मानिसहरु पनि फर्केर यहीँ तालिम लिन सकून् ।’

डा. पन्तले करिब २८ वर्षअघि न्युरो सर्जरीको प्राक्टिस सुरु गर्दा डा. उपेन्द्र देवकोटा पनि वीर अस्पतालमै कार्यरत थिए । वीरमा रहँदा नै डा. बसन्तले डा. देवकोटासित करिब एक वर्ष सँगै काम गर्ने अवसर पाए ।

वीर अस्पतालमै रहँदा डा. देवकोटाले आफूलाई उनका सपनाहरुबारे जानकारी पाएको पन्त बताउँछन् । तर, सँगै काम गरेको एक वर्षमै यी दुवै डाक्टरहरु अलग भए । उनीहरुलाई फेरि सँगै रहेर काम गर्ने अवसर जुटेन । बरु दुबैले बेग्लाबेग्लै प्राइभेट न्युरो अस्पताल चलाए ।

‘जति समय डा. देवकोटासंँग रहेर काम गरें, उहाँबाट धेरै कुरा सिकें । सर्जरीको क्षेत्रमा भन्दा पनि जिन्दगीका अन्य कुराहरु धेरै सिकें,’ डा. पन्त भन्छन्- ‘कति कुराहरु गर्नुपर्ने रहेछ भनेर सिकें, कति गर्नुहुँदैन रहेछ भनेर सिकें ।’

यद्यपि, आफूहरुबीचको भिन्नताले देशलाई कहिल्यै घाटा नभएको डा. पन्तको दाबी छ । उनी भन्छन्- ‘डा. देवकोटासित तपाईको कुरा कहिल्यै मिल्दैन भनेर धेरैले मलाई भन्ने पनि गर्थे । तर, मेरो र डा. देवकोटाबीचको मतभेदले देशलाई कहिल्यै घाटा भने लागेन । त्यो मतभेदका कारण बरु न्युरो साइन्सको क्षेत्रमा देशले प्रगति नै गर्‍यो । एकले अर्कासित प्रतिस्पर्धा गर्‍यौं । तर, एकअर्काको खुट्टा तान्ने कहिल्यै गरेनौं ।’

टिचिङ अस्पतालले जागिर नदिँदा निजी अस्पताल

न्युरो सर्जरीको क्षेत्रमा डा. देवकोटाका प्रतिस्पर्धी भनेर चिनिएका डा. पन्त वाल्यकालमा निकै चञ्चले स्वभावका थिए । चञ्चले भएकै कारण काठमाडौंको बालाजुमा घर हुदाँहुँदै परिवारले उनलाई पढ्नका लागि पोखरास्थित गण्डकी बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिए । त्यहीँबाट उनले एसएलसी गरे ।

मोडेल अस्पतालमा रहदाँ नै उनले टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनी गंगा-जमुनाको शल्यक्रिया गरेका थिए

पढ्नभन्दा घुमघाम गर्न तथा ट्रेकिङ्ग जान रुचाउने उनी बुवाले हेल्थ असिस्टेन्ट (एचए) मा भर्ना गर्दा कलेजबाटै भागे । फेरि बुवाले हेल्थ असिस्टेन्टमै भर्ना गरिदिएपछि भने उनले पढाइलाई निरन्तरता दिए ।

‘त्यस अघिसम्म मेरो सौख भनेको घुम्नु र रमाईलो गर्नु नै थियो । त्यसैले, मेरो एसएलसी तथा एचएकै रिर्जल्ट हेर्नुहुन्छ भने पनि खासै राम्रो नम्बर आएको देखिँदैन’ डा. पन्त भन्छन्- ‘जब १९ वर्षको उमेरमा पहिलोपटक एचए भएर गाउँमा पुगें, त्यतिबेला सबैले डाक्टर भनेर बोलाएको सुन्दा बल्ल मलाई आˆनो महत्व थाहा भयो र बुवाले भनेको ठिकै रहेछ भन्ने लाग्यो । त्यसपछि पढाइमा ध्यान दिएँ, कक्षामा दोस्रो हुनु परेन ।’

डा. पन्त न्युरो सर्जन बन्नुमा उनका ठूलोबुवाको राम्रै हात छ । एमबीबीएस सकेर इन्टर्नशिप गदागर्दै डा. पन्तका ठूलोबुबालाई ब्रेन ट्युमर भयो । उपचारका लागि उनलाई दिल्ली लगियो । दिल्लीमा शल्यक्रिया गर्ने क्रममा पन्तले पहिलोपटक मानिसको टाउको कसरी खोलिन्छ भनेर हेर्ने मौका पाए ।

त्यही क्रममा एकपटक सिकें भने त म आफैं पनि यस किसिमको शल्यक्रिया गर्न सक्छु भन्ने लागेर उनी वीर अस्पताल फर्केका थिए, जहाँ उनले झण्डै एक वर्ष डा. देवकोटासित रहेर न्युरोमा काम गर्ने अवसर पाए ।

त्यसपछि पीएचडी गर्न जापान पुगेका पन्तले त्यहाँ करिब ६ वर्ष न्युरो सम्बन्धी अध्ययन गरे । जापानको पढाई पूरा गरेर नेपाल फर्किएपछि डा. पन्त जागिर माग्दै त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्ज पुगे ।

त्रिवि शिक्षण अस्पतालले पन्तलाई १० महिना भोलिन्टियरका रुपमा काम गरायो । तर, १० महिना काम गर्दासमेत जागिर दिनुको सट्टा धन्यवाद लेखिएको चिठ्ठी थमाइएको पन्त सुनाउँछन् ।

‘एक त म नेपालकै दोस्रो न्युरो सर्जन,१० महिना भोलिन्टियरका रुपमा काम गर्दासमेत जागिर दिनुको सट्टा धन्यवाद लेखिएको पत्र थमाएपछि मसित आफैं केही गर्नुबाहेक अन्य विकल्प रहेन,’ डा. पन्त भन्छन् ।

लगत्तै, भृकुटीमण्डपस्थित काठमाडौं मोडल हस्पिटलमा आवद्ध भएका उनले त्यहाँ झण्डै १२ वर्ष काम गरे । मोडेल अस्पतालमा रहदाँ नै उनले टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनी गंगा-जमुनाको शल्यक्रिया गरेका थिए ।

बसन्त पन्तको अब एउटा मात्रै चाहना छ, न्युरो साइन्सको क्षेत्रमा नेपाललाई विश्वमै चिनाउने । त्यसबाहेक, विज्ञानलाई अगाडि बढाउने

त्यसपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल सुरु गरेका उनी त्यसयता सोही अस्पतालमा आवद्ध छन् । जसलाई डा. पन्त लगायतका अन्य डाक्टरहरुको टिमले सञ्चालन गर्दै आइरहेको छ ।

नेपाललाई न्युरोको हब बनाउने सपना

डा. पन्त व्यक्तिलाई भन्दा पनि संस्थालाई बलियो बनाउन जरुरी रहेको तर्क गर्छन् । उनी भन्छन्, ‘संस्था बलियो भए मात्रै बिरामीले उच्चस्तरीय सेवा प्राप्त सक्छन् । हामीले व्यक्तिलाई हैन, संस्थालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

डा. पन्तले सञ्चालन गरेको न्युरो अस्पतालमा न्युरो सर्जरीसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान हुँदै आएको छ । जसअन्तर्गत न्युरो अस्पतालले वर्षको कम्तिमा १० वटा अनुसन्धान प्रकाशित गर्नुका साथै न्युरोसम्बन्धी विभिन्न उपकरणसमेत निर्माण गर्दै आएको उनी बताउँछन् ।

यस वर्षदेखि अस्पतालमा न्युरो सर्जरीसम्बन्धी पोष्ट ग्राजुएशन पढाउने कोर्ष सुरु गर्ने अस्पतलाको लक्ष्य रहेको उनी बताउँछन् ।

विश्वमा नै जटिल मानिएको विभिन्न शल्यक्रिया गरेर नाम कमाइसकेका बसन्त पन्तले हाल न्युरो अस्पतालमा पार्किन्सन्स, डिस्टोनियाको शल्यक्रियादेखि विश्वमै दुर्लभ मानिएको छारे रोगको सफल शल्यक्रिया गर्दै आएका छन् । उनको टिमले टाउको नखोलिकनै एनोरिज्म सर्जरी (मस्तिष्कमा रगतको नशा बिग्रिएर रगत जमेमा गरिने शल्यक्रिया) गर्नेदेखि मुभमेन्ट डिसअर्डर सम्बन्धी शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गर्दै आएको उनी बताउँछन् ।

डा. पन्तको टिमले औषधीको सेवनले ठीक नभएका डिप्रेशन लगायत गम्भीर मानसिक समस्याका विरामीहरुलाई मस्तिष्कको शल्यक्रियामार्फत निको पार्ने उनी दाबी गर्छन् । ‘मस्तिष्कमा एउटा भाग हुन्छ, जसलाई थोरै मिलाएको खण्डमा यस्ता रोगलाई ठीक पार्न सकिन्छ,’ डा. पन्त भन्छन्, ‘जुन हामी सुरु गर्ने तयारीमा छौं ।’

बसन्त पन्तको अब एउटा मात्रै चाहना छ, न्युरो साइन्सको क्षेत्रमा नेपाललाई विश्वमै चिनाउने । त्यसबाहेक, विज्ञानलाई अगाडि बढाउने । यसका लागि उनको संस्थाले न्युरोसम्बन्धी विभिन्न अध्ययन अनुसन्धानको कामलाईसमेत अगाडि बढाउँदै आएको डा. पन्तले अनलाइनखबरलाई बताए ।

यसबाहेक, डा. पन्तको इच्छा भनेको लाइभ चेञ्जिङ्ग सर्जरी गर्ने हो । ‘नेपालमा न्युरो साइन्सले स्पिड लिइसकेको छ, राम्रा-राम्रा चिकित्सकहरु उत्पादन भैसकेका छन् । दक्ष जनशक्तिको विकास त भैसकेको छ,’ डा पन्त भन्छन्- ‘तर अब हामीले गर्नुपर्ने भनेको व्यक्तिलाई बनाउने हैन, संस्थालाई मजबुत बनाउनुपर्छ, जुन डा. उपेन्द्र देवकोटाको पनि चाहना थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?