२४ भदौ, विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरमा बहस सुरु भएको छ । न्यायधिश खिलबहादुर कार्की र उमेशकुमार सिंहको ३ नम्बर बेञ्चमा बहस सुरु भएको हो ।
आइतबार बिहान ११ बजेबाट सुनकाण्डको बहस सुरु भएको सुरु भएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले अनलाइनखबरलाई बताए ।
उच्च अदालत, विराटनगरले छुट्टाछुट्टै बेञ्चबाट जिल्ला अदालत मोरङबाट भएको आदेश उल्टाउन माग गर्दै निवेदन गर्ने अभियुक्तहरु हेमन्त गौतम, राजन थापा, महावीरप्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीको हकमा जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको थियो भने जिल्लाले छाड्ने आदेश दिएका प्रहरी हवल्दार अम्बरबहादुर थापा र जवान बिष्णुबहादुर खड्कालाई पनि पुर्पक्षकालागि थुनामा राखेर कारवाही प्रकृया अघि बढाउन आदेश दिएको थियो ।
उच्च अदालतले छुट्टाछुट्टै पेसी तोकेपछि कानुन व्यावसायीले अघोषित रुपमा भदौ ७ गतेदेखि पाँच दिन बेञ्च बहिस्कार गरेका थिए ।
तर, २२ बुँदे सुझाव पेस गर्दै मुद्दा नफुटाउन दबाव दिएपछि अदालतले सुन मुद्दाको पेसी एउटै बेञ्चमा तोकेपछि पहिलो पटक आइतबारबाट बहस सुरु भएको हो ।
जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेका पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, निलम्बित प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, दिवेश लोहनी, प्रहरी उपरीक्षक बिकाशराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलले जिल्लाको आदेश बदरको माग सहित १७ नम्बर निवेदन दिएका छन् ।
त्यस्तै, एलबी मगर भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, भुजुङ गुरुङ, दोराम खत्री, माधव भन्ने मदनप्रसाद घिमिरे, आरके भन्ने राजेन्द्रकुमार शाक्य, तुलाराम थारु, विरेन्द्रमान श्रेष्ठ ,अमरमान डंगोल, राजु महर्जन, कपिलराज पुरी, मदन सिलवाल, रामकुमार तिवारी, फाल्दुङ फुल्टुङ भन्ने लक्षुबहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पाले उजुरी दिएका छन् ।
त्यस्तै, एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लि र कान्तिपुर होलिडेज प्रा.लि. खोल्न १७ नम्बर निवेदन परेको छ ।
प्रतिक्रिया 4