२५ मंसिर, काठमाडौं । महंगीविरुद्ध आन्दोल चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् । टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन् ।
कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले बताएका छन् । ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।
तर धनाड्यहरुलाई कर लगाउन भने नसकिने उनले बताए । म्याक्रोले भने, ‘यसबाट हामी कमजोर हुन्छौं, जबकी हामीलाई नयाँ रोजगारी सिर्जना गर्नुछ ।’
यो पनि पढ्नुहोस फ्रान्समा राष्ट्रपतिको राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शन, १७०० पक्राउउनले अबदेखि फ्रान्सका सबै क्षेत्रका मेयरहरुसँग भेट्ने र जनताका समस्या बुझेर समाधानको पहल गर्ने आश्वासन समेत दिए ।
इन्धनमा लगाइएको करले अत्यधिक मूल्य वृद्धि भएको र त्यसको मारमा सर्वसाधारण जनता परेको भन्दै फ्रान्समा विगत चार हप्तादेखि सरकारविरुद्ध आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिएपछि राष्ट्रपति म्याक्रोले सोमबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले हिंसात्मक प्रदर्शनको विरोध गरे, तर प्रदर्शनकारीका कतिपय माग जायज भएको पनि बताए ।