२८ मंसिर, पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालले शुक्रबार सपथ लिएका छन् । चार महिनाअघि सदस्यमा नियुक्त भए पनि उनले शुक्रबार मात्रै सपथ लिएका हुन् । उनलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलले सपथ गराए ।
सपथ कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बराललाई आफूले नीति तथा योजना आयोगको सदस्य नियुक्त गर्दा तत्कालिन राजा महेन्द्र सम्झेर नियुक्त गरेको बताए ।
उनले भने, ‘मैले योजना आयोगको सदस्य नियुक्त गर्दा तत्कालिन राजा महेन्द्र सम्झेर गरेको हुँ, त्यत्तिकै कामको अपेक्षा पनि गरेको छु ।’ उनले संघीय सरकारले प्रदेशका लागि ३५ प्रतिशत बजेट छुट्याउनैपर्ने र त्यो हुने पनि बताए । तर त्यत्तिले मात्र प्रदेशको विकास सम्भव नभएकाले निजि क्षेत्रलाई पनि समेटेर लैजाने गरी योजना बनाउन आग्रह गरे । उनले भने,‘अहिलेको जमानामा निजी क्षेत्रबिना विकास र समृद्धि सम्भव छैन, त्यसैले निजी क्षेत्रलाई समेटेर योजना बनाउनुस्, चाहे त्यो स्वदेशी होस् वा बिदेशी, दुबैलाई समेट्नुस् ।’
मुख्यमन्त्री गुरुङले प्रदेशको नीति तथा योजना आयोगलाई प्रदेश योजना आयोग मात्र बनाउनुपर्ने धारणासमेत राखे । उनले भने, ‘प्रदेशले नीति बनाउने होइन, यो संघीय सरकारको काम हो, हामीले त योजना मात्रै बनाउने हो, त्यसैले नीति हटाएर प्रदेश योजना आयोग मात्रै बनाउनुपर्छ ।’ उनले योजना बनाउने हिसाबले ७ प्रदेशमध्ये गण्डकी प्रदेश सबैभन्दा अब्बल रहेको दाबी गरे ।
मुख्यमन्त्री गुरुङले ५ वर्षभित्र प्रदेश सरकार शक्तिशाली बन्ने उद्घोष गरे । त्यतिञ्जेलसम्म पनि प्रदेश सरकार शक्तिशाली नबने संघीयता नै असफल हुने चेतावनी दिए । उनले भने, ‘५ वर्षभित्र प्रदेश सरकार शक्तिशाली बनेन भने संघीयता नै असफल हुन्छ, तर यसलाई असफल बनाउन कसैले पनि सक्दैन, असफल बनाउने छुट पनि छैन र असफल बनाउने कसैले हिम्मत पनि गर्दैन ।’
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले आफूलाई कर्मचारी नभई प्रदेश सरकारको सहयोगीको रुपमा सम्झेर प्रदेश सरकारको योजना बनाउने सहयोगीको रुपमा काम गर्न आग्रह गरे । उनले सबै क्षेत्रलाई सन्तुलन मिलाएर योजना बनाउनुपर्ने भएकाले यो अवसर र चुनौति दुबै भएकाले यसमा खरो उत्रिन सुझाव दिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले राजनीति, कर्मचारी, जनता र ट्रेड युनियनलाई सन्तुलन मिलाएर काम गर्नुपर्ने बताउँदै यो चुनौतीपूर्ण रहेकाले सजगतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त सदस्य बरालले आफूले योजना आयोगमा रहुञ्जेल प्रदेश र जनताका लागि ईमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले आफूमा विदेश मोह नभएको बरु नेपालमै केही गर्ने योजना भए मुताविक गण्डकी प्रदेशका जनताको सेवक भएर आफू आएको बताए ।
प्रतिक्रिया 4