श्रीमती र छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९ नेवारपानीस्थित राप्ती खोलामा फालेर फरार भएको आंशकामा प्रहरीले भारत मोतिहारीका रमजान मिया दर्जीलाई पक्राउ गरेको हो ।
प्रहरीले गत मंसिर १८ मा राप्तीखोलामा बालिकाको शव भेटेको थियो । मंसिर २२ गते महिलाको शव पनि फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । महिलाको खल्तीमा केही टेलिफोन नम्बर देखिएपछि प्रहरी घटनाको नजिक पुगेको थियो ।
दर्जीले भाइसँग मिलेर श्रीमती २५ वर्षकी लालमुन खातुनको हत्या गरेको र टना खुल्ने डरले भाइको सहयोगमा १ वर्षकी छोरी रोषन खातुनको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वुद्धिराज गुरुङका अनुसार दर्जीले घटना आफूले भाइको सहयोगमा गराएको स्वीकार गरेका छन् । उनले पत्नी परपुरुषसँग सम्पर्कमा रहेको थाहा पाएपछि आवेगमा घटना गराएको बयान दिएका छन् ।
प्रहरीका अनुसार भारतमा हुँदा पनि यही विषयमा उनीहरुबीच पटक पटक झगडा हुँदै आएको थियो । त्यहाँको प्रहरीमा पनि घरेलु हिंसासम्बन्धी मुद्दा परेपछि दर्जी श्रीमती, छोरी र भाइसहित नेपाल आएका थिए । नेपाल आएर उनले हेटौंडामा तार जाली बुन्ने काम गर्दै आएका थिए । तर हालै श्रीमतीसँग सम्बन्ध भएका भारतीय युवकसमेत नेपाल आएको जानकारी पाएकाले आफूले हत्या गरेको दर्जीले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
नेपाल आएर दर्जी उनको श्रीमती र भाइ हेटौंडा १९ नेवार पानीस्थित एक तारजाली बनाउने उद्योगमा काम गर्ने गर्थे । घटनाको दिन काम गर्ने उद्योगमा बुबा आमा आएको भन्दै दर्जीले श्रीमती र छोरीलाई हेटौंडा ५ स्थित डेराबाट अटो चढाएर उद्योगतर्फ लगेका थिए । उद्योगको हाइवेपट्टिको गेट बन्द भएपछि पछाडिपट्टी रहेको गेटबाट जाने भन्दै राप्ती किनारमा लगी घाँटी थिचेर हत्या गरेको दर्जीले स्वीकार गरेको प्रहरीले बताएको छ ।
केही दिनको फरकमा दुईवटा लास फेला परेपछि प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा अनुसन्धान टोली खटाइएको थियो । दर्जीलाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको हो भने दर्जीका भाइ अरमान मियाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
युवतीको शवमा भेटिएको डायरीमा उल्लेखित मोवाइल नम्बरका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । डायरीमा भएको ४ वटा टेलिफोनमध्ये एउटामा सम्पर्क भएको आधारमा प्रहरी अभियुक्तसम्म पुगेको थियो ।
प्रतिक्रिया 4