२ पुस, काठमाडौं । थाइल्याण्डमा आयोजित वल्र्ड बडी बिल्डिङ च्याम्पिसनसीपमा नेपालले स्वर्णपदक जित्दा पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आयोजक वर्ल्ड फिजिक फेडरेसन (डब्लुपीएफ) ले क्षमायाचना गरेको छ ।
डब्लुपीएफका महासचिव डाटुक पाउल चुआले नेपाल बडी बिल्डिङ एसोसिएसनलाई इमेल लेख्दै गल्ती भएको स्वीकारेका हुन् ।
एसोसिएसनका महासचिव दिनेश राजभण्डारीले डब्लुपीएफको इमेल एसोसिएसनका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्वोधन गरेर आएको बताए ।
‘हामीले यसलाई नै आधिकारिक क्षमायाचना मानेका छौं, तर खेलकुद परिषदले यसलाई स्वीकार्छ या स्वीकार्दैन थाहा भएन,’ राजभण्डारीले अनलाइनखबरसँग भने ।
गल्ती भएको विषयमा एसोसिएसनको तर्फबाट आपत्ति व्यक्ति भएपछि आयोजकले क्षमायाचना गरेको उनको भनाइ छ ।
‘आयोजकको गम्भीर हेलचेक्र्याइँका कारण ठूलो त्रुटी हुन पुगेको थियो, तर माफी मागिसकेपछि यो विषयलाई धेरै चर्काइरहन आवश्यक ठानेका छैनौं । भविष्यमा गल्ती नदोहोर्याउने उनीहरुले बताएका छन्,’ राजभण्डारीले भने ।
अध्यक्ष श्रेष्ठलाई पठाएको इमेलमा डब्लुपीएफका कर्मचारीले राष्ट्रिय धुन डाउनलोड गर्दा गल्ती हुन पुगेको उल्लेख छ ।
‘हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि काममा खटिएका व्यक्तिले असावधानीपूर्वक डाउनलोड गरेका थिए । हामी गम्भीर क्षमायाचना गर्छौं,’ पत्रमा लेखिएको छ ।
राखेपले पत्र लेख्ने
नेपाल खेलकुद परिषदले पुरानो राष्ट्रिय धुन बजाइएको विषयमा आज आयोजकलाई पत्र लेखेर स्पष्टीकरण सोध्ने भएको छ । परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले आरपीएफले यस विषयमा सार्वजनिक विज्ञप्ति जारी गरेर क्षमायाचना गर्नुपर्ने बताए ।
‘मौखिक कुराकानीमा उनीहरुले गुगलमा सर्च गरेर राष्ट्रिय धुन डाउनलोड गर्दा गल्ति भएको बताएका छन् । एसोसिएसनलाई पत्राचार गरेर क्षमा मागिएको पनि सुनिएको छ । तर, त्यतिले हुँदैन । उनीहरुले आधिकारिक विज्ञप्ति नै जारी गर्नुपर्छ,’ तिम्सिनाले भने ।
सामाजिक सञ्जालमा रोचक प्रतिक्रिया
थाइल्यान्डमा पुरानो राष्ट्रिय धुन बजेको विषयलाई लिएर नेपालमा भने रोचक प्रतिक्रियाहरु आएका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा ‘श्रीमान गम्भीर’ बजेकोमा धेरै नेपालीहरु खुशी भएको देखिन्छ । कतिपयले त यसलाई नेपालमा राजतन्त्र फर्किने संकेतको रुपमा समेत अर्थ्याउन भ्याएका छन् ।
‘धेरै समयपछि श्रीमान गम्भीरको धुन सुन्न पाएँ, मन आनन्दित भयो,’ कार्यक्रमको भिडियोमा कृष्ण कट्टेलले लेखेका छन् ।
‘अब श्रीमान गम्भीरलाई पुनर्स्थापना गर्नुपर्छ,’ श्वेता केसीले लेखेकी छन्, ‘अहिलेको राष्ट्रिय गान गतिलो भएन ।’
अहिलेको राष्ट्रिय धुन राम्रो कि पहिलेको भन्ने आन्तरिक बहस आफ्नो ठाउँमा छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा पुरानो राष्ट्रिय गान बजाइनु आपत्तिजनक विषय भएको विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया 4