Comments Add Comment

ग्लोबल आइएमईका सीईओ जनक शर्माले दिए राजीनामा

Photo Credit : फाइल फाेटाे

७ माघ, काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । कार्यकाल शुरु भएको डेढ वर्ष पनि नपुग्दै पौड्यालले सञ्चालक समिति समक्ष पदबाट राजीनामा दिएका हुन् ।

पौड्यालले आइतबार नै सञ्चालक समिति समक्ष पदबाट राजिनामा बुझाएको बैंक श्रोतले बताएको छ । अघिल्लो वर्षमात्रै सीइओमा नियुक्त भएका पौड्यालको बैंकमा अझै करिब ३ वर्ष कार्यकाल बाँकी थियो ।

पौड्यालले सीईओ पदबाट किन राजीनामा दिए भन्ने विषयमा बैंकले केहि खुलाएको छैन । पौड्यालले राजीनामा दिए पनि स्वीकृत भइसकेको छैन । आइतबार नै राजिनामा दिए पनि पौड्याल कार्यालयमा सोमबार हाजिर भएका छन् ।

‘सीईओ सरले आइतबार नै राजीनामा दिनु भएको हो, तर सोमबार (आज) पनि कार्यालय आउनु भएको छ’, बैंकका एक अधिकारीले भने, ‘राजीनामा स्वीकृत अहिलेसम्म नभएको भन्ने कुरा आएको छ, स्वीकृत नभएसम्म सीईओ सर कार्यालय आउनु हुनेछ ।’

पौड्याल बैंकिङ क्षेत्रमा ३ दशक भन्दा लामो समय विताइसकेका व्यक्ति हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकर पौड्याल पूर्व शिक्षकसमेत हुन् । बैंकिङ क्षेत्रमा प्रवेश गर्नु अघि उनी अध्यापन गर्थे ।

एसएलसी उतिर्ण भएसँगै पौड्यालले काठमाडौंको सरस्वती क्याम्पसमा रात्रीकालिन कक्षा लिने गरी आईकम भर्ना भए । मध्यम वर्गीय परिवार जन्मिएका पौड्यालले उच्च तहको शिक्षा अध्ययनका लागि आफैं कमाए ।

सरस्वती क्याम्पसमा रात्रीकालिन कक्षामा अध्ययन गर्ने र दिउँसो काठमाडौंकै कन्या स्कुलमा पढाउन थाले ।  गणित विषयको शिक्षकको रुपमा उनले केहि वर्ष सोही स्कूलमा पढाए ।

आफैंले कमाएको पैसाले उनले उच्च शिक्षा हासिल गरे । कमर्श विषयमै उनले सरस्वती क्याम्पसबाटै स्नातक तहसम्मको अध्ययन गरे ।

पौड्यालले अध्यापन पेशा छाडेर केहि समय होटल सोल्टीमा लेखापालको जागिर समेत खाए ।  उनले सरस्वती क्याम्पसमा आईकम र बीकममै क्याम्पस टप गरेका थिए । पौड्यालको बैंकिङ करियर भने नविल बैंकबाट शुरु भएको हो ।

होटल सोल्टीमै काम गरिरहेका उनले नविल बैंकमा शाखा प्रवन्धक पदमा आवेदन दिए । पहिलो पटक नै उनले नाम निकाले, त्यसपछि शुरु भयो उनको बैंकिङ करियर । सन् १९८४ बाट उनले नविल बैंकमा काम शुरु गरेका थिए ।

उनले नविलमै ११ वर्ष विताए । त्यति लामो समय नविल बैंकमा काम गरेका उनलाई त्यसबेला सञ्चालनमा आउने तयारीमा रहेको तत्कालिन एआइसी बैंक (हालको एनआइसी एशिया) मा राम्रो अवसर आयो । उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत भारतीय नागरिक नियुक्त भएका थिए ।

नविलको भन्दा ३ तह माथिको पद साथै एनआइसीमा कार्यरत नेपाली कर्मचारीहरुको नेतृत्व गर्ने गरी उनी उक्त बैंकमा गए ।

एनआइसीमा आधा दशक विताइसकेपछि पौड्यालको व्यवसायी राजेन्द्र खेतानसाग भेट भयो । राजेन्द्र खेतानले त्यसबेला लक्ष्मी बैंकको लाइसेन्स लिएर बसेका थिए । तर, सञ्चालनमा आउन सकेको थिएन ।

खेतानले बैंकको नेतृत्व लिएर सञ्चालन गर्न अफर गरेपछि आफू एनआइसी छाडेर लक्ष्मी बैंकतिर गएको पौड्याल बताउँछन् । उनको नेतृत्वमा नै लक्ष्मी बैंकको स्थापना भएको थियो ।

तर, उनले लक्ष्मी बैंकमा धेरै लामो समय काम भने गर्न पाएनन् । स्नातकसम्मको मात्रै अध्ययन गरेका पौड्याललाई स्नातकोत्तर पनि गर्नै पर्छ भन्ने लाग्यो ।

त्यसबेला बैंकको सीईओका लागि स्नातकोत्तरको योग्यता चाहिन्छ भन्ने राष्ट्र बैंकमा चर्चा समेत चलेकाले उनले १५ महिना लामो अध्ययन बिदा लिए । खेतानले विश्वास गरेका कारण उनको यति लामो बिदा पनि स्वीकृत भयो ।

सबैभन्दा छिटो एक वर्षमै लण्डनमा एमबीए सकिने भए पछि उनी लक्ष्मी बैंकबाट बिदा मिलाएर त्यसतर्फ प्रस्थान गरे ।

वेलायतमा पढ्दापढ्दै उनमा त्यतै भविष्य खोज्ने सोच आयो । पछि पीआर पाउने भए पछि उनले लक्ष्मी बैंकबाट वेलायतबाटै राजीनामा दिए ।

वेलायतको पीआर पाएर बसेका पौड्यालसँग एक पटक वेलायतमा नै व्यवसायी चन्द्र ढकालसँग भेट भयो । भेटमा भएको छलफल पछि ग्लोबल आइएमईमा काम गर्न ढकालले प्रस्ताव गरे । ढकालले अफर गरेपछि उनी वेलायतको पीआर त्यागेर नेपाल फर्किएका थिए ।

नेपाल फर्केर उनले ग्लोबल आइएमई बैंकमा सहायक जनरल म्यानेजर (एजीएम) को पदबाट काम शुरु गरे । पछि एजीएमबाट बढुवा भएर उनी नायव महाप्रवन्धक, महाप्रवन्धक, नायव प्रमुख कार्यकारी अधिकृत (डिसीओ), वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) हुँदै हाल ग्लोबल आइएमई बैंकको कार्यकारी नेतृत्व लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment