९ वैशाख, काठमाडौं । एक वर्षको अवधिमा सेयर बजारमा १३१ अंकको गिरावट आएको छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा सेयर बजारमा १३१.१ अंकको गिरावट आएको हो ।
२०७४ फागुन मसान्तमा नेप्से परिसूचक १ हजार २८६.० विन्दु रहेको थियो । वार्षिक विन्दुगत आधारमा १०.१ प्रतिशतले ह्रास आई २०७५ फागुन मसान्तमा नेप्से परिसूचक १ हजार १५५.५ विन्दुमा सीमित भएको छ ।
२०७५ असार मसान्तमा नेप्से परिसूचक १ हजार २१२.४ विन्दु कायम भएको थियो । यस अवधिमा लगानीकर्ताहरुले करिब एक खर्ब रुपैयाँ गुमाएमा छन् । गत सालको फागुन मसान्तसम्म सेयर बजारको पुँजीकरण १,५०५ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
वार्षिक विन्दुगत आधारमा ६.२ प्रतिशतले ह्रास आई ०७५ फागुन मसान्तमा १४ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । जसअनुसार लगानीकर्ताहरुले एक वर्षको अवधिमा ९३ अर्ब ६९ करोड रुपैयाँ गुमाएका छन् ।
समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७४/७५ कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४६.९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष यस्तो अनुपात ५७.९ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या ०७५ फागुन मसान्तमा २०५ रहेको छ ।
सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २५ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।
सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ फागुन मसान्तमा ३ खर्ब ९१ अर्ब ६३ करोड पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।