
म कथाकार होइन, पाठक मात्र हुँ । तर, परिस्थितिले मलाई कथाकार बनाउन खोजिरहेको छ । जब आँखाअघि यथार्थ घटनाहरु कथा जस्तै अविश्वसनीय रुपले अघि बढ्न थाल्छ, मानिसलाई कुन यथार्थ हो र कुन कथा हो, भ्रम पर्न थाल्छ । म यही भ्रम लेखिरहेकी छु ।
जस्तो-केही मिनेटअघि मेरो घरको बार्दलीबाट एकजना व्यक्ति रोड पार गर्दै अघि बढेको देखें । उनको चालढाल हेरिरहँदा मलाई उनी कथाका पात्र जस्तै महसुस भए । किनभने उनी कुनै पनि कोणबाट चार महिना अघिका मैले जिल्लामा भेटेका व्यक्ति लागिरहेका थिएनन् ।
उनको नाम हो, केशव । थर नसोध्नु होला । आजको युगमा जात र धर्म जनाउने पात्रले समेत गलत अर्थ लगाइदिन सक्छन् । यति चाहीँ भन्नैपर्छ, उनी सम्पन्न परिवारका थिए र विदेशी विश्वविद्यालयबाट एक दुई डिग्रीहरु प्राप्त गरेका थिए । यो देशका धुरन्धर विद्धानहरुले पनि उनलाई सम्मानपूर्वक व्यवहार गरेको मैले आँखाले देखेकी हुँ । मलाई थाहा छैन, नेपालमा नेता भन्ने वित्तिकै आम मानिसले सम्मान गर्नुपर्छ ? उनका अघिपछि दुई-चार व्यक्ति लागेकै हुनुपर्छ कि । जे होस्, उनीसँग हरदम एक दुई मानिस पनि हुने गर्दथे ।
उनीसँग भाषण गर्ने विशेष कला थियो । यो कलालाई धार लगाउन उनका आसेपासेले उनलाई कुन पुस्तक पढ्ने, कुन ठाउँमा कसरी भाषण गर्ने सबै बताउँथे र कतिपय लेखेर पनि दिन्थे । ती कुराहरुलाई उनी गम्भीरताका साथ पालना गर्थे । जब मञ्चमा उनी भाषण गर्न थाल्थे, उनका चम्चाहरुले प्रत्येक वाक्यको अन्त्यमा थपडी बताइरहन्थे । यो बेग्लै कुरा हो, हरेक नेताका पछाडि यस किसिमका चम्चा हुन्छन् । त्यसैले उनी पनि त्यस्तै भिडभित्रका मध्यम कदका नेताहरुको छिमलमा पर्ने गर्दथे । जतिसुकै प्रयास गरे पनि उनी राजनीतिको केन्द्रमा भने आउन सकेका थिएनन् ।
प्रजातन्त्रदेखि गणतन्त्रसम्म उनी मध्यम छिमलकै राजनीतिज्ञका रुपमा रहे । उमेर बढ्दै गए पनि उनको राजनीतिक कद बढेन । यसले उनलाई पर्नु पीर परेको थियो । उनी यो रिस कुनै पनि बेला सार्वजनिक गर्ने अवस्थामा पुगिसकेका छन् भन्ने कुरा बाहिर पनि आउन थालेको थियो ।
एक पटकको कुरा हो, उनको आˆनो दलको नेतासँग मन्त्री कसलाई बनाउने भनेर निकै ठूलो छलफल भएछ । हरेक नेता पदका लागि इच्छुक भएपछि त्यसले झगडाको रुप लिन पुग्यो । केशवका लागि आफू चासोमा पर्ने राम्रो मौका थियो । उनले यो झगडालाई प्रेस र आफ्ना बफादार साथीहरुलाई सुनाए । घटनालाई ठूलो बनाउन केही कुर्सि तोडफोड गरे ।
सामान्य कुराबाट सुरु भएको यो तोडफोड आगजनीसम्म पुग्यो र केशबकै नेतृत्वमा जिल्ला बन्दको घोषणा भयो । केशवले नेतृत्व गरेको जिल्लामध्ये पनि उनको क्षेत्रमा सम्पूर्ण यातायाद बन्द गरियो ।
‘न्यायका लागि आजसम्म लडेँ, लडिरहने छु । तबसम्ब लडिरहने छु, जबसम्म हामीले न्याय पाउँदैनौं ।’ उनले रोडका बीचमा भाषण गर्दै भने, ‘एक दिन मात्रै होइन, हामी हजरौँ दिन जिल्ला बन्द गर्न तयार छौँ । उनको घोषणापछि जिल्लाका सबै स्कुल, सरकारी कार्यालय, अस्पताल र सार्वजनिक संस्थान बन्द भए । शिक्षक, विद्यार्थी, कर्मचारी र स्वास्थकर्मी सबैलाई आनन्द भयो ।
सरकारी कर्मचारीहरु आनन्दसँग अफिस जाने गर्न थाले । अफिसमा फाटफुट मात्र मान्छे आउने हुनाले, सरकारी कर्मचारीहरुलाई त्यही सुत्न, सहज हुन थाल्यो । मनमनै सरकारी कर्मचारी “केशवको जय, केशवको जय भन्न थाले । केशव पनि प्रशन्न थिए, जिल्लाभरि पार्टीबाट पाएको अपमानहरुको प्रचार गरिरहेका थिए ।
उनी दिउँसो साइकलमा हिँड्थे । रातिचाहीँ मोटरसाइकलमा कुद्थे । कहिले कहिले नदी तर्दा मान्छेको काँधमा पनि बसेर नदी तर्ने काम गरे । यसरी साता दिनभन्दा बढी जिल्ला बन्द भएपछि केन्द्रमा खबर पुग्यो । तर, जिल्लाको कुरामा कसको ध्यान जान्छ र ? केशब एक दिन आफैँ थाक्छ भन्ने ठानेर नेताहरु चुप लागे । केन्द्रीय नेता चुप लागेपछि अरु चुप लाग्नु स्वभाविक पनि थियो ।
बन्दको सबैभन्दा बढी फाइदा गृहिणी र किसानलाई भयो । गृहिणीलाई हतार हतार खाना बनाउनु परेन । स्कुल जान परेन, रुने कराउने बालबालिकालाई स्कुल जान परेन, सडक नै खेल मैदान बनेको थियो । किसानलाई त बन्द भए पनि के न भए पनि के तर उनका छोराहरु स्कुल कलेज जान नपरेकाले खेतमा काम गर्न जान थालेका थिए, त्यही नै किसानको आनन्दको कारण थियो ।
तर, बन्द सधैं सफल हुने कुरा थिएन । बन्द खुल्यो । जिल्लाका सबैले केशवको समस्या हल भयो होला भनेर धेरैले विचार गरे ।
वास्तविकता त केही महिनापछि पो थाहा भयो । हडतालका बेला केशवकी पत्नी गर्भवती थिइन् । ५ छोरीपछि पेटमा जाँच गराउँदा छोरा छ भनेर केशवका उनको परिवार प्रसन्न थियो ।
हडतालको बेलामा नै एकदिन केशव पत्नी ब्ााथरुममा लडिछन् । लडेपछि कता चोट लाग्यो कुन्नी, उनी अचानक रुन कराउन थालिन् । उनलाई अस्पताल लैजान खोज्दा एबुलेन्स त बन्द भनेर आएनन् । केही नलागेर नेता केशवका आमाबुबाले केशव पत्नीलाई रिक्सामा हालेर नजिकैको स्वास्थ चौकीमा लगे । बन्दका कारण बिरामी उति आउन छाडेका कारण डाक्टर र नर्सहरु अस्पतालमा थिएनन् । जिल्लामा यसै पनि स्वास्थ सामग्रीको अभाव हुन्छ । त्यसमाथि नेता पत्नीलाई उपचार गर्ने आँट कसैलाई भएन ।
एउटी नर्सले उनलाई अर्को जिल्लाको ठूलो अस्पतालमा लैजान कागज लेखिदिइन । त्यहाँ पुग्न गाडीमा एक घन्टा र रिक्सामा तीन घन्टा लाग्थ्यो । गाडी नभएपछि रिक्सामा बिरामी लैजाने आँट गरे । केशवलाई खबर गर्न बारम्बार फोन नगरिएको होइन, तर लामो दौडधुपले घरमा नआएका कारण हुन सक्छ, मोवाइल चार्ज नगरिएको हुन सक्छ । बारम्बार महिलाले पुनः फोन गर्ने प्रयास गर्नुहोस् भनिरहेकी थिइन् ।
ब्ााटोमै केशव पत्नीलाई रक्तश्राब हुन थाल्यो । ३ घन्टापछि छिमेकी जिल्लाको अस्पताल पुर्याएर इमेरजेन्सीमा भर्ना गर्दा गर्दै उनले अन्तिम सास फेरिन् ।
भ्ाोलिपल्ट श्रीमतीको शव र केशवको आगमन एकैपटक पर्यो । बाटोमा कसैले उनकी श्रीमती बाथरुममा लडेको कुरा बताए पनि यो दृश्यको साक्षात्कार हुनुपर्छ भन्ने कल्पना नै गरेका थिएनन् । हठात् देखिएको यो दृश्यले उनका लागि ट्रमा जस्तै हुन पुग्यो । श्रीमतीलाई जलाएपछि उनी लामो समयसम्म कता हराए, पत्तै भएन ।
करिब दुई महिनापछि केशवका आमाबुवालाई कसैले सुनायो, ‘केशवजी काठमाडौं छन् । बेला-बेलामा उनी रोडमा जान्छन् र गाडीका अघि हठात् पुगेर भन्छन्, ‘श्रीमतीलाई अस्पताल लैजानुभएको हो ? उनलाई केही भएको त छैन नि, होइन ?’
****
ठीक यही समयतिर केशवकै जिल्लाको अस्पतालमा कार्यरत थिए, डा. राज । समयक्रममा उनी चिकित्सकका नेता हुन पुगे । नेता यसअर्थमा कि सरकारले चिकित्सकहरुको तलब बृद्दि नगरेको भन्दै उनले आन्दोलनको नेतृत्व गरेका थिए । केही दिन कालो पट्टी हुँदै उनको नेतृत्वमा सबै सरकारी अस्पताल बन्दको घोषणा भएको थियो । बाहिरतिर बन्दको कति प्रभाव पर्यो थाहा भएन, तर उनकै नेतृत्वमा भएको आन्दोलनका कारण हुन सक्छ, जिल्ला अस्पताल पूर्ण बन्द रह्यो ।
सरकारी अस्पतालमा उपचार गर्न आउने भनेका विद्यार्थी, एकल महिला र गरिब परिवारहरु नै हुन् । उपचार नपाएर सरकारी अस्पतालमा शल्य कि्रयाको लागि ६ महिना अघि नै समय दिएका विरामीहरु अस्पताल आउँदा डा. राजहरुले हामी हडतालमा छौँ भन्ने गरेका थिए । त्यति मात्र होइन, सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको संस्थाले विज्ञप्ति निकालेर विरामीहरुलाई सरकारी अस्पतालमा नआउनू भन्ने विज्ञप्ति नै जारी गरेको थियो । अप्ठ्यारो परे निजी अस्पतालमा जानु विरामीहरुको बाध्यता थियो ।
एकपटक सरकारी अस्पताल बन्द गर्नुपर्ने कारण देखाउन डा. राजले जिल्लामा पत्रकार सम्मेलन गरे । पत्रकारलाई उनले भने, ‘सरकारले हाम्रो तलब नबढाएर भोकै मर्न बाध्य गरेको हुनाले हामीले सरकारी अस्पतालमा काम नगर्ने तर निजी अस्पतालमा २४ घन्टा नै सेवा दिने राम्रो निर्णय गरेका छौँ । गरिबलाई हामीले दश प्रतिशत छुट दिने निर्णय गरेका छौं । सरकारी अस्पताल हडत्ाालको कारणले शल्यक्रिया नगरेर फिर्ता पठाएका व्यक्तिहरुलाई पनि हामी २० प्रतिशत छुटमा सेवा दिने निर्णय गरेका छौं ।’
जिल्ला आखिर जिल्ला नै हो । केन्द्रले यो कुरालाई महत्व दिएको कहिल्यै सुनिएन । डाक्टर राज र उनका साथीहरुको हड्ताल जारी रह्यो । बिरामीले निजी अस्पतालमा सेवा पाई रहे । तर, एक दिन अचानक एक्कासी हडताल रोकियो । कारण कसैले थाहा पाएनन् । डा. राज आराम गर्न राजधानी गएको खबर प्राप्त भयो ।
केही दिनपछि थाहा भयो, डा. राज नेता केशवजस्तै गाडी-गाडीमा गएर तपाईको बच्चा बिरामी त भएको छैन ? म उपचार गर्छु, म डाक्टर हुँ भन्न थालेका रहेछन् ।
पछि थाहा भयो, सरकारी अस्पताल हड्ताल गर्ने क्रममा क्वार्टरमा बसेका दुई सन्तानमध्ये ५ वर्षको सन्तानलाई निमोनिया भएछ । बुढा आएर उचित हेरचाह गर्छन् भन्ने सोचेकी श्रीमतीले सुरुमा निजी अस्पताल लैजान खर्चका कारण डराइन् । तर, बच्चाको अवस्था बिग्रँदै गएपछि निजी अस्पताल लैजान बाध्य भइन् । अस्पतालले सुरुमै ५० हजार जम्मा गर्न आदेश दियो । आफू डाक्टरकी श्रीमती भएको बताउँदा नर्सले भनिन्, ‘हामीलाई त्यस्तै अर्डर छ, के गर्नु म्याम, म केही गर्न सक्दिनँ ।’
बल्ल डा. राजलाई उनले खबर गरिन् । आफैंले बनाएको नियम भन्दै उनी पैसा बोकेर अस्पताल गए । अस्पताल पुग्दा छोराको हालत खराब भैसकेको थियो ।
उपचार शुरु भएको १० मिनेटमै बालकको प्राण गयो । आफैं डाक्टर भए पनि उनले केही गर्न सकेनन् ।
‘हामीलाई अपसोच छ । तपाईले पैसा जम्मा गर्न ढिला गर्नुभयो ।’ डा. राज झोक्राएर बसिरहेको अवस्थामा अस्पतालकी नर्सले भनिन्, ‘हामीले बालकलाई बचाउन सकेनौं ।’
यो घटनापछि जिल्ला छाडेका डा. राज र नेता केशव काठमाडौंका चोकतिर नाड्गो भुतुङ्गो अवस्थामा रोडहुँदी देखिन्छन् । तपाईंहरुमध्ये कतिपयले उहाँहरु दुबैलाई यस्तो अवस्थामा देखेको हुनुपर्छ ।
प्रतिक्रिया 4