
२७ वैशाख, काठमाडौं ।सरकारी जग्गासमेत बेचेर खाने माफियाहरु हिजोआज सम्पदातिर पनि सल्किरहेका छन् । ठूला ठूला कम्प्लेक्स बनाउनु समृद्धिको पहिचान ठान्नेहरुको जमातमा सल्बलाइरहेका माफियाको आँखा यतिबेला असनको घडी घरमा छ ।
घडी घर भनेर चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक बिहार’ मासेर ब्यापारिक कम्प्लेक्स बनाउन मिलेमतोमा जे भइरहेको छ, त्यसमा माफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको भेटिन्छ ।
यसैले ‘सम्पदा बिक्रीमा, बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व बेखबर’ लेखिएको प्लेकार्ड बोकेर सम्पदा बचाउ अभियानमा स्थानीयसँगै अभियन्ताहरु शुक्रबार घडी घर अगाडि विरोध सभामा सामेल भए ।
पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता कायमै रहेका बेला गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर ब्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरेपछि स्थानीयहरु सम्पदा बचाउ अभियानमा लागेका हुन् ।
घडी घरसँग सम्बन्धित रहेका १४ परिवारमध्येका एक सजीव बज्राचार्य आफूहरुसँगको करार सम्झौता हुँदा हुँदै थाहा नै नदिई सबैको मिलेमतोमा जसरी पुरातात्विक, धार्मिक महत्वको सम्पदा बेच्ने काम भएको छ, त्यसलाई रोक्न आफूहरु निरन्तर लागिरहने बताउँछन् ।
के हो घडी घर ?
मल्ल कालमा राजाहरुले विकास गरेको व्यापारिक केन्द्रमा घडी घर सबैभन्दा ठूलो पसल थियो । नेवार समुदाय संलग्न उक्त घरपछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’ सुरु गरेको जानकार बताउँछन् ।
गुठी चलाउन पहिले तालुकदारहरु थिए । उनीहरु घरमा रेखदेख गर्दै वर्षौंदेखि बसिरहेकासँग भाडा उठाउँथे । सुसारेहरु यही घरमा बस्थे । जसले दरबारमा कोही मरेमा वायु शान्ति गर्न हनुमानढोकामा पूजा लैजाने गर्दथे । वायु शान्तिको उक्त प्रचलन राजा वीरेन्द्रका पालासम्म नै थियो ।
घरको भुँइतलामा १६ औँ शताब्दीको बुद्धको मूर्ति रहेको पुरातत्व विभागले नै प्रमाणित गरिसकेबाट पनि यसको महत्व झल्कन्छ । जहाँ नेवारहरुले पन्चदानको अघिल्लो दिन पूजा होम गरी भोज खाने निजी गुठी अहिलेसम्म छ । अशोक वृक्ष महाविहारसमेत त्यहीँ छ । घर नै पनि झण्डै ५ सय वर्ष पुरानो रहेकाले यसको पुरातात्विक र ऐतिहासिक महत्व पनि भिन्न छ ।
आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको घडी घरमा अहिले १३ वटा पसल छन् । सैयौँ वर्षदेखि बस्दै आएका उनीहरुले नै अहिलेसम्म सबै रेखदेख गर्छन् । तर अहिले भने यसको धार्मिक पुरातात्विक महत्वसमेत मासेर संरक्षणको जिम्मेवारी पाएको गुठी संस्थान नै ब्यापारिक प्रयोजनका लागि बिक्री गर्न उद्धत्त छ ।
०७२ सालको भुँइचालोपछि जीर्ण बनेको घडी घरको पुनर्निर्माण गर्ने भन्दै ब्यापारिक कम्प्लेक्स बनाउन गुठी संस्थानले चालेको कदम धर्म र सम्पदा मास्ने षडयन्त्र भएको स्थानीय बताउँछन् ।
हुन पनि सजीव बज्राचार्यका ६ पुस्तादेखि नै यही घरमा बसेर संरक्षण गर्दै आएको उनी बताउँछन् । ‘धर्म लोप नहोस् गुठी सञ्चालन होस् भनेर हामीले गुठी संस्थामा बहाल बुझाउँदै आइरहेका छौँ । यसमा बाबुबाजेदेखि चलिरहेको रीतिथिति हामीसम्म पनि कायमै छ’ उनी भन्छन् ।
पहिले गुठी चलाउन रेशम बिक्रम शाह, चित्र विक्रम शाह, लीला विक्रम शाह, यक्ष विक्रम शाह तालुकदार थिए । घरमा बस्नेसँग बहाल उठाएर दरबारमा मरेका मान्छेहरुको वायु शान्तिका लागि हनुमान ढोकामा पूजा लैजाने उनीहरु नै थिए ।
गुठी संस्थानमा तालुकदार खारेज भएपछि घरको जिम्मा लिएकाहरुले नै निरन्तर गुठी संस्थानमा बाहल पनि बुझाउँदै आइरहेका छन् ।
भएको के हो ?
‘श्री ५ को वायु देवता गुठी’ सञ्चालन भएपछि पनि काठमाडौं महानगरपालिका वडा नम्बर २५ को कित्ता नम्बर १७६७ को उक्त जग्गामा रहेको घडी घरमा अहिलेसम्म रहेका १४ परिवारका पुर्खाहरुले भूबहाल तिरेर बस्दै आएका थिए । जहाँ त्यही घरमा जन्मिएका सन्तानहरु अहिले घडी घर बचाउन लागिपरेका छन् ।
२०३१ सालमा नापी विभागले गरेको कित्ताकाटमा घरमा रहेका पसलहरु सानो सानो कित्तामा बाँडिएकाले नापीको असहजता हुँदा ‘फिल्डबुक’ बनाएको देखिन्छ । जहाँ सन्तान दरसन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको भन्ने उल्लेख छ ।
१९९० सालको भूकम्पमा घर पूर्णरुपमा क्षति हुँदा गुठीका तालुकदार समक्ष १४ परिवारले पुनर्निर्माणका लागि श्री ५ को वायु देवता गुठीका तालकुदारसँग कुरा गर्दा ‘तपाइँहरुकै सन्तानको भोगचलन रहने भएकाले पुनर्निर्माण जिम्मेवारी पनि तपाइँहरुकै हो’ भन्ने जवाफपछि आफ्ना पूर्खाले १९९३ सालमा जगदेखि नै पुनर्निर्माण गरेको सजिव बज्राचार्य बताउँछन् ।
बसिआएका १४ परिवारसँग ०७० साल फागुन ८ गते गुठी संस्थानले करार सम्झौता पनि गरेको थियो । जसमा उनीहरुले बहाल तिरेको दिनसम्म भोगचलन गर्न पाउने भन्ने नै उल्लेख भएको छ । जसअनुसार हरेक पाँच वर्षमा बहाल पुनरावलोकन हुन्छ ।
आफ्नै पूर्खाले आर्जेको थलोमा बस्दा पनि वर्षको ५० रुपैयाँदेखि बहाल तिर्न थालेका आफूहरुले अहिले वर्षको ७ लाख ८० हजार रुपैयाँ गुठीलाई बुझाउने गरेको सजीव बताउँछन् ।
तर यी सबै कुराको वेवास्ता गर्दै २०७४ साल भदौमा बज्रयोगिनीका राजेन्द्र बहादुर गोर्खाली (राजु गोर्खाली) सँग गुठी संस्थानले सम्झौता गरेको छ । जसअनुसार त्यहाँ ब्यापारिक कम्प्लेक्स बनाएर २५ वर्षका लागि भाडामा दिने उल्लेख छ ।
यसमा पनि ३० वर्षको सम्झौतामा तीन वर्ष निर्माण समय र दुई वर्ष सम्झौता गर्न सहयोग गर्ने तालुदारले भाडा खाने सहमति भएको स्रोत बताउँछ । जसमा गुठी संस्थानसँग असनको केन्द्रमा रहेको भवनबाट वर्षको ८ लाख ४० हजार भाडा तिर्ने सम्झौता छ ।
बज्रयोगिनीसँगको उक्त सम्झौतामा कानुनी अधिकार नै नभएका गुठी हेर्ने तालुकदारसहित भएको देखिन्छ । जसमा घरको बहाल तिर्दै रेखदेख गरिआएकालाई कुनै जानकारी भएको छैन ।
जबकि बहाल बृद्धि हुनु समय अगावै २०७५ माघमा आफूहरु गुठी संस्थानमा गएर आफ्नो धर्म परम्परासँग जोडिएको घर भएकाले आफै पुनर्निर्माण गर्छौं भन्दा समय भएको छैन भनेर फिर्ता पठाएको सजिवको भनाइ छ । त्यसपछि बारम्बार ताकेता गर्दा पनि गुठी संस्थानबाट केही जानकारी नआएको उनी बताउँछन् ।
व्यापारिक प्रयोजनका लागि अर्कोपक्षसँग सम्झौता गर्ने र कुनै जानकारी नदिने भएपछि उनीहरुले जिल्ला अदालतमा करारको पालना होस भनेर फिराद पत्र दिए । गुठी संस्थानले अदालतमा प्रतिउत्तर पेश गरेपनि तीन दिनभित्र घर खालि गर्नु भनेर वडा कार्यालय मार्फत घरमा बसिरहेकालाई सूचना जारी गरेको छ ।
अदालतमा मुद्दा विचाराधीन हुँदा र जेठ ४ गते तारेख रहेका वेवास्ता गर्दै स्थानीयलाई उठाउने र धार्मिक पुरातात्विक महत्वको घर मास्ने गरी गुठीले किन सूचना पठायो त ?
‘कमाउ र खाउ’ भन्ने सम्पदा माफियाको उद्देश्य प्रष्ट रहेकाले सम्पदा जोगाउन आफूहरु निरन्तर लागिरहने सम्पदा बचाउ अभियानका गणपतिलाल श्रेष्ठ बताउँछन् ।
हुन पनि राज गुठीअन्तर्गतको छुट गुठीको जग्गालाई ‘रैकर’ भनेर उल्लेख गर्ने, खारेज भइसकेको तालुकदारमार्फत फर्जि लालपुर्जामा नक्शा पास गर्ने कामसमेत भएको प्रमाणहरु देखिएका छन् । जसमा महानगरपालिको समेत चलखेल देखिन्छ ।
सक्कली लालपूर्जामा ‘श्री गुठी संस्थान श्री ५ को वायु देवता गुठी असन’ उल्लेख भएकोमा फर्जी लालपुर्जामा ‘श्री ५ को वायु देवता’ मात्रै उल्लेख भएको देखिन्छ ।
यस्तोमा गुण्डाहरुसमेत परिचालन गरेर रातारात डोजर चल्न सक्ने डर रहे पनि आफूहरु निरन्तर खबरदारीमा लागिरहेको र कुनै पनि हालतमा सम्पदा मास्न नदिन जागरुक रहेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4