Comments Add Comment

अकबरे खुर्सानीः पीरो तर गुनिलो

अभिनेत्री नम्रता श्रेष्ठ अकबरे खुर्सानीको सौखिन । उनी भन्ने गर्थिन्, ‘म अकबरे खुर्सानीको कति क्रेजी हुँ भने, साथमा बोकेरै हिँड्थें ।’

गायक उदय सोताङको पनि मुखमा पानी आउँछ, अकबरे खुर्सानीको कुरा गर्दा । अकबरे खुर्सानी छ भने उनको भातको डोज बढ्छ । फुटबलर विमल घर्तीमगरलाई खानाको साथ अकबरे खुर्सानी भए गाँस अरु रुच्छ । रायोको साग मिसाएर पकाएको सुँगुरको मासु, भातसँग त उनलाई अकबरे खुर्सानी नभई हुन्न ।

अकबरे खुर्सानी सम्झनसाथ धेरैको मुख रसाउँछ । कतिपय यस्ता हुन्छन्, अकबरे नभए गाँस नै नरुच्ने । हरेक गाँसमा खुर्सानी चपाउनुपर्छ । हुनपनि नेपाली खाना दाल, भात, तरकारीसँगै अकबरे खुर्सानी खान पाए स्वाद दोब्बर हुन्छ । त्यही कारण त अधिकांशको भान्सामा अकबरे खुर्सानीको माग छ ।

रैथाने उत्पादन

अकबरे खुर्सानी नेपालको धेरै भू-भागमा उत्पादन हुन्छ । कतिपय किसानले व्यवसायिक ढंगले अकबरे खुर्सानी उत्पादन गर्छन् । इलाम, पाँचथर जस्ता ठाउँ त अकबरे खुर्सानीकै लागि कहलिएको छ ।

अकबरे हाम्रो रैथाने उत्पादन हुन् । दोमट एवं केही चिम्टाइलो माटोमा अकबरे खुर्सानी राम्ररी सप्रन्छ । भिरालो एवं पाखो बारी पनि अकबरेका लागि उपयुक्त मानिन्छ । त्यसो त कतिपयले घरको छतमा, बार्दलीमा, बगैंचामा समेत अकबरे खुर्सानी रोप्ने गर्छन् । अकबरे खुर्सानीलाई सकेसम्म अग्र्यानिक विधीबाट उत्पादन गर्नु राम्रो हुन्छ । गाउँघरमा गाईबस्तु, परेवा तथा कुखुराको मल प्रयोग गरेर अकबरे खुर्सानी रोप्ने गर्छन् । यसमा किरा लागेमा गोमूत्र लगाइन्छ । यसरी अग्र्यानिक ढंगले उत्पादन गरिएको अकबरे खुर्सानीको असली स्वाद पाइन्छ ।

औषधिय महत्व

अकबरे खुर्सानी पिरो हुन्छ । पिरोको पनि आफ्नै स्वाद हुन्छ । यसमा एक किसिमको वास्ना पनि महसुष गर्न सकिन्छ । अबकरे खुर्सानीले कुनै हानी गर्दैन । बरु यसबाट स्वास्थ्य लाभ पो मिल्छ ।

अकबरे पिरो मात्र होइन, गुनिलो पनि हुन्छ । विभिन्न खबरमा जनाइए अनुसार अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुन्छ । ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ ।

अकबरे खुर्सानीले मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाई कम गर्न सहयोग गर्छ ।

यद्यपी ताजा खुर्सानी नै यसका लागि उपयोगी हुन्छ । बोत्तलमा राखिएको खुर्सानी त्यती फाइदाजक मानिदैन ।

भण्डारण गर्न सकिने

अकबरेको अर्को विशेषता हो, यसलाई लामो समय राखेर सेवन गर्न सकिन्छ । काँचको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ । यसका लागि बोटमा पाकेको अर्थात रातो भएको अकबरे खुर्सानीलाई बोत्तलमा नुनसँग राख्न सकिन्छ । यसरी राखेको खुर्सानी लामो समयसम्म प्रयोग गर्न सकिन्छ । अर्को विधी पनि छ । रातो खुर्सानीलाई उसिन्नु पर्छ । उसिनेको खुर्सानी घाम वा आगोमा सुकाइन्छ । यसरी सुकाएको खुर्सानी पनि आवश्यक्ता अनुसार लामो समय राखेर प्रयोग गर्न सकिन्छ ।

कोसेली पनि

कतै आफन्तकहाँ जाँदै हुनुहुन्छ भने तपाईंलेको लागि गज्जब कोसेली हुनसक्छ, अकबरे खुर्सानी । सुकाएको वा बोत्तलमा राखिएको अकबरे खुर्सानी तपाईंले कोसेलीको रुपमा बोक्न सक्नुहुनेछ ।

आफन्त, छिमेकमा मात्र होइन, विदेशमा समेत नेपालीहरुमाझ चलेको कोसेली हो, अकबरे खुर्सानी । प्राय विदेश जानेले स्वदेशबाट मगाउने गुन्द्रुक, सिन्की जस्तै अर्को चिज हो अकबरे खुर्सानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment