Comments Add Comment

गृहमन्त्री र व्यवसायीले गरे तातोपानी नाका अवलोकन

व्यवसायी भन्छन्- भन्सारमा हाम्रो सीधा पहुँच हुनुपर्छ

Photo Credit : Ram Bahadur Thapa 'Badal'/Facebook

१२ जेठ, काठमाडौं । चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने बताएपछि गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेको छ ।

आगामी साता नाका खुलाउने भएपछि त्यहाँको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको हो । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको बताए ।

लामो समयदेखि बन्द रहेको नाका खुला भए दुवै देशलाई राम्रो हुने भन्दै यसका लागि नेपाल सरकारबाट गर्नुपर्ने काम भइरहेको समेत बताए । नाका सञ्चालनमा आएपछि हुने सुरक्षा लगायतका कामहरु गर्न सरकार प्रतिवद्ध रहेको उनले जानकारी दिए ।

नाका सञ्चालनमा आएपछि सामानहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरुले माग गरेका थिए ।

‘सडक पूर्वाधार कमजोर’

अवलोकनका लागि नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरु तातोपानी नाका पुगेका थिए । महासंघका अध्यक्ष नरेश कटुवालले नाका सञ्चालनमा आएपछि भन्सार र व्यवसायीहरुको सीधा पहुँच हुनुपर्ने बताए ।

भन्सारमा विचौलियाहरुको विगविगी हुने गरेको भन्दै अध्यक्ष कटुवालले विचौलियालाई बाहिर खेदाएर व्यवसायीहरु आफैंले भन्सार छुटाउन सक्ने वातावरण बनाउनु पर्ने बताए । आगामी १७ गते नाका सञ्चालनमा आउने अनौपचारिक जानकारी आफूले पाएको भए पनि आवश्यक पूर्वाधार भने अझै अपुग भएको बताए ।

‘नाका त सञ्चालनमा आउँदैछ, तर बाटो अझै दुरावस्था छ,’ अध्यक्ष कटुवालले भने, ‘सरकार सडक पूर्वाधार र व्यवसायको सुरक्षामा गम्भीर हुनुपर्छ ।’

नाका खुल्ने भएपछि व्यवसायीहरु उत्साहित भएको समेत उनले बताए । सरकारीतर्फबाट सुरक्षाको प्रत्याभूति आफूले पाएको भन्दै यसलाई व्यवहारमा पनि उतार्न आवश्यक रहेको उनले बताए ।

‘गृहमन्त्रीज्यू आफैं अवलोकनमा आउनु भएको छ, सीडीओ सापले पनि सुरक्षामा सम्झौता हुँदैन भन्नु भएको छ,’ उनले भने, ‘अब यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।’

महासंका अध्यक्ष कटुवाल, प्रथम उपाध्यक्ष नयन पण्डित क्षत्री, उपाध्यक्ष गोविन्द कार्की, महिला उपाध्यक्ष रुपमणी सेढाईं, सहकोषाध्यक्ष कुसुम महर्जन लगायतको ३४ जनाको टोलि शनिबार नाका तातोपानी पुगेको थियो ।

सञ्चालनमा आए ‘नम्बर वान’ बन्छ : भन्सार अधिकृत

तातोपानी नाका सञ्चालनमा आए चिनियाँ नाकाहरु मध्येकै नम्बर वान बन्ने प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए । उनले सुविधा सम्पन्न डाइपोर्ट बनेको भन्दै नाका सञ्चालनका लागि अब सहज हुने समेत बताए ।

सडक पूर्वाधारको भने केही समस्या अझै रहेको उनले बताए । उनले भने, ‘अब सडकको थोरै समस्या छ, तर त्यो पनि चिनियाँ पक्षले नै मर्मत गर्ने कुरा भएको छ ।’ भौगोलिक बाहेकका अन्य समस्याहरु नाकामा आब नदेखिने समेत उनले दाबी गरे ।

चीन सरकारले आफ्नै लगानीमा नेपालमा सुख्खा बन्दरगाह निर्माण गरिदिएको छ । बन्दरगाह निर्माण सपन्न भइसकेको भए पनि हस्तान्तरण भने गरिएको छैन । कहिले हस्तान्तरण गरिन्छ भन्ने मिति तय नभएको भए पनि धेरै समय नलाग्ने बस्नेतले बताए ।

भन्सार अधिकृत बस्नेतका अनुसार कार्यालय सञ्चालनका लागि फर्निचर अझै खरिद गरिएको छैन । उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासमा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर खरिद गरिदिन आग्रह गरिएको छ ।

०७० पुस ५ गते सुख्खा बन्दरगाहको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी नदीको बाढीले निर्माण कार्य रोकिएको थियो । चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुरु भएको थियो । चीन सरकारले केही दिनमा नै सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गरेपछि भन्सारसम्बन्धी सबै काम यहीँबाट हुने तातोपानी भन्सार प्रमुख बस्नेतले जानकारी दिए ।

नेपाल-चीन सीमा क्षेत्र र हालको भन्सार कार्यालय रहेकोभन्दा ६ किलोमिटर तल निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह अन्तर्राष्ट्रिय स्तरको छ । ४.२ हेक्टर क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवं उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गो र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको ढकालले जानकारी दिए । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ ।

बन्दरगाहमा भन्सार कार्यालय, जाँचपाँस यार्ड, चेक पोष्ट, बैंक, क्वारेन्टाइन, लगायतका संरचनाहरु निर्माण भएका छन् । कर्मचारीहरुका लागि आवास समेत बन्दरगाहभित्रै निर्माण गरिएको बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment