Comments Add Comment

शौचालयमा पुस्तकालयः मोवाइल होइन पुस्तक हेर्ने कि ?

सौचालयमा पुस्तकालय भन्नसाथ तपाईंको पारो तात्न सक्छ । किनभने शौचालय, जहाँ शौच गरिन्छ, त्यो फोहोर ठाउँ हो । त्यो घिनलाग्दो ठाउँ हो । हामीलाई लाग्छ त्यस्तो ठाउँमा पुस्तक राख्नु भनेको कृतिमाथिको अपमान हो ।

हामीलाई के पनि लाग्छ भने पुस्तकलाई सम्मानित ढंगले सजाउनुपर्छ । यसरी सजाएर राख्दा घरको शोभा हुन्छ । बालबच्चा वा घर परिवारका सदस्यले पुस्तकको मूल्य पनि बोध गर्छन् । पुस्तक भनेको अमूल्य चिज हो भन्ने कुरा महसुष गर्छन् । त्यसैले पुस्तकलाई सबैले देख्ने, भेट्ने ठाउँमा आकर्षक शैलीले संग्रहित गर्नुपर्छ ।

शौचालयमा पुस्तक राख्दा फोहोर हुन्छ । लेखक/कविहरुलाई त यो कुरा असह्य हुनसक्छ । उनीहरुलाई आफ्नो कृति वा सिर्जनामाथि अपमान भएको महसुष हुनसक्छ ।

भिन्न पठन संस्कृति र स्वास्थ्य

शौचालयमा पुस्तक राख्नुको अर्थ पुस्तकप्रतिको अपमानको नियतले होइन । बरु यसले भिन्न किसिमको पठन संस्कृतिलाई बढाव दिनसक्छ ।

शौचक्रिया गरिरहँदा कतिपयले पत्रपत्रिका पढ्ने गर्छन् । यसको दोहोरो फाइदा छ, एक त पत्रपत्रिका पढ्नका लागि अतिरिक्त समय लागेन । समयको वचत । अर्कोतिर शौचक्रियामा हतार भएन । आरमसाथ गर्न पाइयो ।

स्वास्थ्यको हिसाबले हेर्ने हो पनि यो राम्रो काइदा हो । भनिन्छ, शौच क्रिया आरमले गर्नुपर्छ । चिकित्सकहरु भन्छन, शौच क्रिया कनेर वा बल गरेर गर्नुहुँदैन । हतारमा गर्नुहुँदैन । जबरजस्ती गर्नुहुँदैन । शौच क्रिया गर्ने आफ्नै प्राकृतिक विधी छन् । हाम्रा पितापूर्खाले त्यस्ता विधी पनि बताउँदै आएका छन् । शौच क्रिया गर्दा शरीरको पोजिसन कस्तो राख्ने भन्ने पनि तरिका छ । शौच एक अनिवार्य क्रिया भएकाले यो हाम्रो जीवनशैलीकै हिस्सा पनि हो ।

अतः शौच क्रियालाई सरल र सहज बनाउनका लागि पुस्तक पढ्ने राम्रो काइदा हुनसक्छ । पुस्तक पढ्दै शौच क्रिया गरिरहँदा एकातिर पढ्ने समय मिल्छ, पढ्ने बानी बस्छ । अर्कोतिर शौच क्रियामा हतार गरिदैन ।

त्यो भन्दा पनि फाइदा चाहि तपाईंका घरका सबै सदस्यमा पढ्ने बानीको विकास हुन्छ । अर्थात पठन संस्कृतिको विकास हुन्छ । सबैजना एकपटक शौच क्रिया गर्न जानैपर्छ । शौचक्रिया गरेकै बेला भएपनि उनीहरुले पुस्तक पढ्छन् ।

साना बालबच्चालाई पनि यसमा अभ्यस्त गराउन सकिन्छ । उनीहरुले शौचालयमा बसिरहँदा केही न केही नयाँ कुरा सिक्छन् ।

मोवाइलबाट मुक्ति

भनिरहनु पदर्ैैन कि शौचालयमा बस्दा धेरैजसोले मोवाइल लिएरै बस्ने गरेका छन् । घरका हरेक सदस्य मोवाइल बोकेरै शौचालय पस्छन् र शौच क्रिया गरिरहँदा फेसबुक चलाउने, भिडियो हेर्ने इत्यादि गर्छन् ।

अहिले त यो ट्रेन्ड जस्तै भएको छ । यस्तो लाग्छ कि मोवाइल बिना शौच क्रिया नै फत्ते हुँदैन । खासमा यसरी शौच क्रिया गर्दा हतार गरिदैन । तर, मोवाइलमा लिप्त भएर आवश्यक्ताभन्दा बढी समय पनि बिताइन्छ । यसको फाइदा भन्दा बढी बेफाइदा छ । एक त मोवाइलको स्त्रिmनमा हाम्रो समय लबिन्छ, जो आफैमा घातक हो । अर्कोकुरा मोवाइल दुषित हुनसक्छ । त्यही मोवाइल हामी हातमा खेलाइरहन्छौ, त्यही हातले खानेकुरा खान्छौ ।

तर, पुस्तकमा यस्तो समस्या भएन । हामी पुस्तक हरक्षण बोक्ने वा हातमा खेलाइरहने गर्दैनौ । पुस्तकर राख्नका लागि शौचालयमै व्यवस्था गरिने हो भने त्यो हाम्रो भान्सा वा ओछ्यानसम्म पनि आइपुग्दैन, जसरी मोवाइल आइपुग्छ ।

शौचालयको स्वच्छता

शौच एक नियमित र प्राकृतिक क्रिया हो । यसकारण शौचालय हाम्रो अनिवार्य आवश्यक्ता हो ।

हरेक घरमा शौचालय निर्माण गरिन्छ । तर, शौचालय निर्माण गरिरहँदा त्यसको महत्वलाई हामी ख्याल गर्दैनौ । संभव भएसम्म सानो कुनाकाप्चा वा साँघुरो ठाउँमा शौचालय बनाउँछौ । दिसापिसाब गर्ने वा नुहाउने ठाउँ भव्य हुनुपर्छ भन्ने हामीलाई लाग्दैन ।

वैठक कोठा अर्थात लिभिङ रुमको भव्यतामा हामी जति मेहनत र खर्च गर्छौं, त्यस अनुरुप शौचालयमा खर्च गर्ने सोंच राख्दैनौ । शौचालयको डिजइनमा पनि त्यती ध्यान दिदैनौ । किनभने सबैले देख्ने ठाउँ भनेको बैठक कोठा हो, त्यसैको साजसज्जा विशेष बनाउनुपर्छ भन्ने हामीलाई लाग्छ ।

शौचालयलाई भने सामान्य ठान्छौ । तर, शौचालयलाई पनि महत्व दिनुपर्छ र त्यसको स्वच्छतामा अरु बढी सजग हुनुपर्छ । शौचालय भन्नसाथ साँघुरो, अँध्यारो वा ओसिलो ठाउँ हुन्छ भन्ने छैन । शौचालयलाई सफा र आकर्षक बनाउन सकिन्छ । फराकिलो बनाउन सकिन्छ ।

कसरी बनाउन सकिएला पुस्तकालय ?

शौचालय भन्नसाथ तपाईंले साँघुरो र ओसिलो ठाउँ सम्झनुभएन । त्यसलाई आकर्षक र सफा बनाउनुपर्छ ।

शौचालयमै सानो डस्बिन राख्ने । एकातर्फ इनडोर प्लान्ट राख्ने । त्यससँगै पानीले नभिज्ने ठाउँमा वा पानीले नभिज्नेगरी पुस्तकको सानो र सुहाउँदिलो दराज राख्ने । यस्ता दराजमा तपाईंले जीवनोपयोगी पुस्तकहरु राख्न सक्नुहुनेछ ।

कतिपय रेडिमेड दराज पनि पाइन्छ, जसको प्लाष्टिकको कभर हुन्छ । यस्तो दराज शौचालयमा उपयोगी हुनसक्छ । अब तपाईंलाई फेरी लाग्न सक्छ, हत्तेरी शौच गर्ने ठाउँमा पनि पुस्तक ?

तपाईं एकपटक ख्याल गर्नुहोस् त तपाईंले दाँत माझ्ने ब्रस र पेस्ट पनि त्यही छ । त्यही ब्रस तपाईंले मुखमा हाल्नुहुन्छ । बरु ब्रसलाई शौचालयबाट हटाउनुहोस्, पुस्तकालय राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment