Comments Add Comment

बालबालिकाको सुसाइड नोट : विद्यालय र आफन्तसँग गुनासो

अभिभावकको वेवास्ताले कलिलैमा देहत्याग गर्ने क्रम बढ्दो

१३ असार, काठमाडौं । ललितपुरको बागमती–२, माल्टाका ११ वर्षीय समिर लुङ्वाको शवमुनि ढुंगाले थिचेर राखिएको कागजमा लेखिएको थियो–‘आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजूले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु ।’

महानगरीय प्रहरी वृत्त, चापागाउँबाट खटिएका प्रहरी निरीक्षक दिवस बस्नेत भन्छन्, ‘कोठा खोलेरभित्र छिर्नेवित्तिकै भेटिएको चिटमा लेखिएको कुरा पढेर हामी अचम्मित भयौं ।’

कलिलो बालकको ‘सुसाइड नोट’ मा लेखिएको विवरण पढ्दा जो कोहीलाई विश्वास गर्न गाह्रो भएको अनुसन्धान अधिकृत बताउँछन् ।

अहिले महानगरीय प्रहरी वृत्त, चापागाउँ लुङ्वाको आत्महत्याको कारण खोतल्नतिर लागेको छ । उनले नाम उल्लेख गरेका तीनजना शिक्षकसँग पनि सोधपुछ गर्ने प्रहरीको तयारी छ ।

मुलुकी अपराध संहिताले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरेको छ । त्यसैले कारणको खोजी थालिएको हो । तर, हालसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन ।

ललितपुर प्रहरी परिसर, जावलाखेलका डीएसपी सन्तोष तामाङ भन्छन्, ‘हामीले समिरको लिखत परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि पठाइसकेका छौं ।’

अधिकृतका अनुसार पाटन हस्पिटलका चिकित्सकले गरेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले भने उनको झुण्डिएकै कारण मृत्यु भएको देखाएको छ ।

यो पनि पढ्नुहोस आत्महत्यामा विवाद: ‘बार्गेनिङ’ को भूमिका कति ?

बालकको आत्महत्या नौलो होइन

प्रहरी अधिकृतका लागि समिरको जस्तो घटना नौलो होइन । २८ जेठमा धादिङको ज्वालामुखी गाउँपालिकामा १३ वर्षीय बालकले पनि लुङ्वाकै शैलीमा देहत्याग गरेका थिए ।

विद्यालयबाट घर फर्किने क्रममा सुनिल परियारले बुबाआमाबाट माया नपाएको उल्लेख गर्दै ‘स्कुल ड्रेस’कै पासोमा झुण्डिएका थिए ।

स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेका उनले भाइलाई सम्बोधन गरेर सुसाइड नोटमा लेखेका थिए, ‘भाइ तिमीलाई बुबाआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बुबाआमासँगै बस्नु, म मर्छु ।’

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख राजकुमार वैदवारका अनुसार प्रारम्भिक अनुसन्धानमा सुसाइड नोट र सुनिलको अक्षरको परीक्षण रिपोर्ट मिलेको छ ।

‘अहिले परिवार काजकिरियामा संलग्न रहेकाले बुबाआमासँग सोधपुछ गर्न पाएका छैनौं’, प्रहरी उपरीक्षक (एसपी) वैदवारले अनलाइनखबरसँग भने, ‘घटनालगत्तै भएको सामान्य कुराकानीमा चाहिँ उहाँहरुले पढाइमा भाइभन्दा सुनिल कमजोर रहेको बताउनु भएको थियो ।’

अनुसन्धान अधिकृतहरु बुबाआमाले सुनिलको कतिपय आवश्यकता र भावना बुझ्न अभिभावक असमर्थ हुँदा दुःखद् परिणाम आएको हुनसक्ने बताउँछन् । घटनाको विषयमा थप अनुसन्धान जारी छ ।

१९ जेठमा काठमाडौंको धापासीका १४ वर्षीया बालक विनायक पाण्डे घरको शौचालयमा झुण्डिएको अवस्थामा भेटिए । घटनाको अघिल्लो दिन मात्रै अपी स्कुलको कक्षा ८ मा अध्ययनरत् पाण्डेको पढाइ कमजोर भएको भन्दै शिक्षकले आमासँग सिकायत गरेका थिए ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईं भन्छन्, ‘आमालाई बोलाएर स्कुल प्रशासनले छोरा ढिलो स्कुल पुग्छ, पढ्नमा ध्यान दिँदैन भनेर सम्झाउन आग्रह गरेको रहेछ ।’ त्यही कारण बालकले अप्राकृतिक मृत्युको बाटो रोजेको निष्कर्ष अनुसन्धान अधिकृतले निकालेका छन् ।

घटनाको दिन स्कुलबाट घर फर्किएलगत्तै पाण्डे आमालाई ‘फ्रेस भएर आउँछु’ भन्दै शौचालयतिर छिरेका थिए । तर, लामो समयसम्म पनि ननिस्किएपछि ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा उनी भेटिए ।

यो पनि पढ्नुहोस कक्षा २ मा पढ्ने बालकको सुसाइड नोट – कोपुको कारणले मरेको !

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याए पनि उपचार सम्भव भएन । अनुसन्धान अधिकृतका अनुसार बालकलाई आमाले गालीगलौज वा कुटपिट गरेको भने देखिएको थिएन । यस किसिमको घटनापछि अभिभावक शोकमा हुने र काजकिरियामा संलग्न रहने भएकाले अनुसन्धानमा कठिनाइ हुने गरेको एक प्रहरी निरीक्षक बताउँछन् ।

पाण्डेका बुबा वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । ६ फागुनमा पनि महाराजगञ्ज प्रहरीकै कार्यक्षेत्रमा पर्ने बुढानिलकण्ठको भंगालमा कक्षा २ मा पढ्ने बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा बसेका १२ वर्षीय समुन्द्र मल्लले दुई तले खाटको टुप्पोमा सलको पासो लगाएर आत्महत्या गरेका थिए ।

उनले सुसाइड नोटमा लेखेका थिए, ‘कोपुको कारण मरेको ।’ अभिभावकको स्नेहबाट टाढा रहेका समुन्द्रले माया गरेको होस्टलकी दिदी थिइन्, उनी । तर, उनले गाली गरेपछि समुन्द्र निराश थिए । त्यही आवेशमा प्राण त्यागे ।

नेपालमा बढ्दैछ आत्महत्याको दर

प्रहरी प्रधान कार्यालय, नक्सालका आर्थिक वर्ष ०७५/०७६ को वैशाखसम्मको रेकर्ड अनुसार मुलुकभर २ हजार २२ आत्महत्याका घटना भए । जसमध्ये २१६ जना बालबालिका छन् । तीमध्ये अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने विष सेवनबाट ३८ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा भएका ५ हजार ३ सय ४६ आत्महत्याका घटना मध्ये २ सय ५० घटनामा बालबालिकाले ज्यान गुमाएका थिए । ०७३/०७४ मा चाहिँ ५ हजार एक सय ३१ आत्महत्याका घटनामध्ये ३ सय ४ वटा घटनामा बालबालिका जोडिएका थिए ।

प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नगारिक सेवा निर्देशनालयका प्रमुख पिताम्बर अधिकारी बालबालिकाको आत्महत्याको बढ्दो दरलाई चुनौतिपूर्ण मान्छन् ।

‘विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार आत्महत्याको दर सबैभन्दा बढी भएको मुलुकभन्दा नेपाल शीर्ष १० मा पर्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) अधिकारीले भने, ‘त्यसमा पनि बालबालिकाको मृत्यु दर उच्च हुनु झनै संवेदनशील विषय हो ।’

आत्महत्याको दर न्यूनिकरणका लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामुलक कार्यक्रम चलाइरहेको उनी बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘सामाजिक मनोपरामर्शदाताको माध्यमबाट हामी विद्यालय–विद्यालयमा पुगेर चेतना फैलाइरहेका छौं ।’

कतिपय प्रहरी अधिकृतमा आत्महत्या न्यूनिकरणमा लाग्नु प्रहरीको दायित्वभित्र पर्छ कि पर्दैन भन्नेमा समेत विरोधाभाष देखिन्छ । तर, डीआईजी अधिकारी भने जसरी जघन्य प्रकृतिका अपराधको निराकरणमा प्रहरी लाग्छ, त्यसरी नै आत्महत्याको दर घटाउन पनि भूमिका खेल्नु पर्ने बताउँछन् ।

किन हुन्छ आत्महत्या ?

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बालबालिकाले आत्महत्या गरेको घटनाका पछाडि सामान्य किसिमका कारणहरु देखिने गरेको बताउँछन् ।

‘बालबालिकाले भौतिक सुविधा होइन, आमाबाबुको सामिप्यता र स्नेह खोजिरहेका छन्’, डीआईजी पोखरेलले भने, ‘तर, हाम्रो समाज त्यसमा चुकिरहेको छ ।’ विदेश बसेर सन्तानलाई खुसी दिइरहेको सोच्ने गरिए पनि सन्तानप्रति सिर्जना भइरहेको वितृष्णाबारे अभिभावक बेखबर रहनु घातकसिद्ध भएको उनी बताउँछन् ।

दाजुभाइ मध्ये एकजनाले अभिभावकबाट कम माया पाएको उल्लेख गर्दै आत्महत्या गरेको घटना प्रशस्तै रहेको बताउँदै उनले भने, ‘परिवारमा बालबालिकासँग कुराकानी र छलफल नै हुन छाडिसक्यो ।’

कुनै पनि कुरामा तुलना गर्ने बाल मनोविज्ञान नै भएको उल्लेख गर्दै उनले भने, ‘कतिपय अवस्थामा टेलिभिजन र इन्टरनेटमा देखाइने दृश्य सामग्रीले पनि नकारात्मक असर पार्दै गएको छ ।’

उनका अनुसार विभिन्न टेलिचलचित्र र चलचित्रले आत्महत्या गर्न सिकाएको मात्र छैन, त्यहाँ देखाइने व्यवहार र सम्बन्धको पक्षलाई बालबालिकाले वास्तविक जीवनमा पनि खोजी गरिरहेका छन् । जसले गम्भिर समस्या निम्त्याइरहेको उनी बताउँछन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमका फोकल पर्सन उत्तमराज सुवेदी बालबालिकालाई डाइभर्ट गराउने मुख्य विषयका रुपमा सामाजिक सञ्जाल देखिएको बताउँछन् । हाल काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख रहेका सुवेदीले भने, ‘फेसबुक, इन्स्टाग्राम जस्ता सोसियल नेटवर्कमा छोराछोरीले के गर्दैछन् भनेर निगरानी गर्ने बानी हाम्रो छैन ।’

आत्महत्या गर्नेले हरेक समस्याको अन्त्य आत्महत्या हो भन्ने ठान्छन् । तर, यो समस्याको होइन, जीवनको अन्त्य मात्र हो ।

‘अहिले अधिकांश एकल परिवारमा बस्छन् । तर, अभिभावकलाई छोराछोरीसँग बोल्ने फुर्सद हुँदैन’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले अनलाइनखबरसँग भने, ‘विद्यालयमा पनि नैतिक शिक्षाको कमी देखिन्छ ।’

समाजमा बौद्धिक र बुद्धिजीवी भनिएकै परिवारमा पनि बालबालिकाको जिज्ञासा र भावनामाथि सम्बोधन नहुने डीआईजी पोखरेलको अनुभव छ । उनी भन्छन्, ‘नजानेर मात्र होइन, जानीजानी पनि यो समस्या चलिरहेको देखिन्छ ।’

विज्ञहरुका अनुसार आत्महत्यालाई दुई प्रकारमा वर्गीकरण गरेर हेर्न सकिन्छ । पहिलो, आवेगशील जसमा सम्बधित व्यक्तिले सामान्य रिसको झोंकमा आत्महत्याको बाटो रोज्छ ।

जस्तैः प्रेमिकाले धोका दिँदा, आफूले माया/विश्वास गरेको व्यक्तिको दुर्घटनामा मृत्यु हुँदा, गोप्य तस्वीर वा विषय सार्वजनिक भएर क्षति हुँदा, एसएलसी वा अन्य कुनै महत्वपूर्ण परीक्षामा अनुत्तीर्ण हुँदा, इत्यादि ।

दोस्रो चाहिँ सुझबुझपूर्ण आत्महत्या । यसमा कुनै व्यक्ति एक्कासी आत्महत्या गर्ने निर्णयसम्म पुग्दैन । लामो समयदेखि भोगिरहेको दिक्क लाग्दो व्यवहारका कारण उनले योजनाबद्ध रुपमा आत्महत्याको बाटो राज्छ ।

डीआईजी अधिकारी भन्छन्, ‘आत्महत्या गर्नेले हरेक समस्याको अन्त्य आत्महत्या हो भन्ने ठान्छन् । तर, यो समस्याको होइन, जीवनको अन्त्य मात्र हो ।’

निको हुने मानसिक रोग

मनोविद् गोपाल ढकाल आत्महत्यालाई मासिक रोगको उपज मान्छन् । उनी भन्छन्, ‘मानसिक रोग वयस्कलाई मात्र हुन्छ भन्ने हामीलाई भ्रम छ । तर, यो गलत हो ।’

मनोविद् ढकाल

ढकालका अनुसार जन्मिएको केही समयदेखि नै मानसिक समस्या सुरु हुनसक्छ । ‘हामी बच्चाको सातो भयो भन्छौं । तर्सिएको कुरा गछौं । ती सबै मनका समस्या हुन्’, उनले प्रष्ट्याउँदै भने, ‘त्यसैले हामीले घरमा बालमैत्री वातावरण तयार गर्न आवश्यक छ ।’

उनका अनुसार घर परिवारका सदस्यले गर्ने व्यवहारमा सुधार आए मात्रै पनि मानसिक रोग निको हुनसक्छ । किशोरावस्थाका बालबालिकाको हकमा निराशा र कुण्ठालाई अभिव्यक्त गर्न पाएको हकमा सम्भावित दुर्घटना टर्ने ढकाल बताउँछन् ।

ढकालको जस्तै अनुभव बाल मनोविज्ञ रमा कार्कीको पनि छ । उनी भन्छिन्, ‘बुढानीलण्ठको एउटा विद्यालयमा मानसिक समस्याबारे राखिएको अन्तरक्रिया कार्यक्रमपछि एक जना बालिकाले एक महिनादेखि आत्महत्या गर्न मन लागि रहेको बताएकी थिइन् ।’

परिवारमा आर्थिक समस्या र आफूमा पनि अपाङ्गता भएका कारण पढ्न नपाएको गुनासो उनको थियो । ‘उनले होस्टलमा बसेर पढ्न पाए हुन्थ्यो भन्ने कुरा राखेपछि हामीले व्यवस्था मिलाइदिएका थियौं’, मानसिक सुस्वास्थ्य राष्ट्रिय अभियानको संयोजक समेत रहेकी कार्कीले भनिन् ।

उनका अनुसार बालबालिकाले आत्महत्या गर्नुअघि दैनिक गर्ने व्यवहारमा परिवर्तन आउने गरेको देखिन्छ । जसलाई पहिल्याउन सके आत्महत्या न्युनिकरण हुनसक्ने उनी बताउँछिन् ।

‘बच्चाले खेल्न मन नपाउने, झर्को मान्ने, चर्को स्वरमा बोल्ने जस्ता लक्षण देखिन्छन्,’ उनले अनलाइनखबरसँग भनिन्, ‘हामीले बच्चालाई मुखमुखै लाग्यो भनेर हकार्छौं । तर, उसले अभिभावकसँग अन्तरक्रिया गर्न खोजरहेको हुन्छ ।’

यस्तो अवस्थामा विद्यालयमा शिक्षकबाट समेत राम्रो व्यवहार हुननसके बालबालिका मानसिक रुपमा विक्षिप्त हुने उनी बताउँछिन् ।

मनोविद् ढकाल पनि भन्छन्, ‘बालबालिका झर्किनु, चर्को स्वरमा बोल्नु भनेको सहयोगका लागि मद्दत मागेको हुनसक्छ । तर, वास्ता गरेनौं र गाली गर्न थाल्यौं भने उसलाई कसैले माया गर्दैन रहेछ भन्ने फिल हुन्छ र अप्रिय निर्णय लिन पुग्छ ।’

कतिपय अवस्थामा मोबाइल र कम्प्युटर गेम र फिल्मका दृश्यहरुले पनि बालबालिकालाई आत्महत्या गर्न प्रेरित गर्ने ढकाल बताउँछन् । आत्महत्या गर्न बालबालिकालाई प्रेरित गरेकै कारण ‘ब्लू ह्वेल’ नामक कम्प्युटर गेमलाई प्रतिबन्ध लगाइएको थियो ।

अबको बाटो

सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले आत्महत्याविरुद्धको दिवसको नारा थियो, ‘कनेक्ट, कम्युनिकेट एण्ड शेयर ।’ नाराले भनेझैँ सम्पर्क, सञ्चार र छलफलले नै आत्महत्यालाई न्युनीकरण गर्न सकिने विज्ञ बताउँछन् ।

डीआईजी अधिकारी भन्छन्, ‘कोही मान्छे गलत मनोदिशामा छ भने उसलाई एक क्षण खर्च गरिदिउँ ताकि उनीहरुको सोचाइ बदलियोस् ।’ त्यो केही सकेण्डमा हुने काम भएको बताउँदै उनी भन्छन्, ‘सोचाइमा प्रभाव पार्न सकियो भने उसले आत्महत्याको बाटो त्याग्छ ।’

‘मनको बह अरुसँग पोख्न नपाएको स्थितिमा सुसाइड नोटमा दुःख लेखेर आत्महत्या गर्ने गरेको देखिन्छ’, उनी भन्छन् । त्यसैले बाल मनोविज्ञानलाई ध्यानमा राखेर विद्यालयमा पनि नैतिक शिक्षा प्रवाह गरिनु आवश्यक रहेको विज्ञ बताउँछन् ।

‘समय समयमा विद्यालयमा मनोसामाजिक परामर्श कार्यक्रम गरिनुपर्ने आवश्यक देखिन्छ’, मनोविद् कार्की भन्छिन्, ‘विद्यालयमा बाल क्लब र गाउँघरमा आमा समूहलाई पनि जागृत गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment