Comments Add Comment

गण्डकी प्रदेश : गाडी दुर्घटनामा यात्रुको पनि गल्ती, एक वर्षमै गयो २३३ को ज्यान

Photo Credit : फाइल तस्वीर

१६ असार, पोखरा । असार ७ गते पोखराको मणिपाल शिक्षण अस्पतालको हाताभित्र चिकित्सकले चलाएको गाडीले ठक्कर दिएर ३ वर्षीय बालकको ज्यान गयो । सर्जरी डिपार्टमेन्टका डाक्टर विश्वदीप तिमिल्सिनाको लापरबाहीको शिकार बने, ३ वर्षीय अवोध बालक संस्कार कँडेल ।

गएको साल मुक्तिनाथसम्म तीर्थयात्री लिएर हिँडेका चालक नै निदाएपछि पर्वतको चुवामा गाडी दुर्घटनामा पर्‍यो । गएको माघ ३ गते पर्वतकै मालढुंगामा मिनिबस दुर्घटनामा पर्‍यो  । प्रहरीका अनुसार चालकको लापरबाहीकै कारण दुर्घटनामा ७ जनाले ज्यान गुमाए ।

यी त उदाहरणमात्रै हुन् । पछिल्लो तथ्यांकले भन्छ, ‘जति पनि दुर्घटना भएका छन्, अधिकांश चालककै लापरबाहीले भएका छन् । गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा मात्रै ४ सय १७ दुर्घटना भएका छन् । चालकको लापरबाही, ओभरटेक, मादक पदार्थ सेवन र गाडीमा ओभरलोडका कारण अधिकांश दुर्घटना हुने गरेका छन् । २ सय ७५ दुर्घटना यीनै कारणबाट भएका प्रहरीसँग रेकर्ड छ ।

गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख वीरेन्द्र बस्याल भन्छन्, ‘यान्त्रिक गडबडी, सडकको अवस्था, पैदलयात्रुका कारणभन्दा बढी चालककै लापरबाहीले भएका दुर्घटनाले ज्यान लिएका छन् ।’

यात्रुको पनि गल्ती

चालकको लापरबाहीपछि यात्रुका गल्तीले बढी दुर्घटना निम्तिएका छन् । यो आर्थिक वर्षमा २८ दुर्घटना यात्रुका गल्तीका कारण भएका छन् । ‘यात्रुले गर्ने हेलचेक्राइँ र असावधानीले पनि दुर्घटना निम्तिएको छ,’ बस्याल भन्छन्, ‘साक्षरता बढेका कारण गएका वर्षहरुमा भन्दा दुर्घटना भने कम हुँदै गएका छन् ।’

२१ दुर्घटनामात्र यान्त्रिक गडबडीका कारण भएका छन् । सडकको अवस्थाका कारण ११ र मौषमका कारण जम्मा १ सवारी साधन दुर्घटनामा परेका छन् ।

यो आर्थिक वर्षमा गण्डकी प्रदेशमा भएका ४ सय १७ दुर्घटनामा ७ सय ७५ जना घाइते भए भने २ सय ३३ जनाले ज्यान गुमाए । यो तथ्यांक भने जेठ मसान्तसम्मको हो । अघिल्लो आर्थिक वर्षमा दुर्घटनाकै कारण ३ सय ३३ जनाको ज्यान गएको थियो ।

दुर्घटना र मृत्यु हुनेको संख्या भने घट्दै गएको ट्राफिक प्रहरीको निष्कर्ष छ । नागरिक सचेत हुँदै गएका कारण र दुर्घटना हुनेबित्तिकै प्रहरी छिटो घटनास्थलमा पुगेर उद्दार गर्न सहज भएकाले दुर्घटना कम हुँदै गएको उनको दाबी छ । पहिले विशेषगरी ग्रामिण क्षेत्रमा हुने दुर्घटनामा प्रहरीलाई समयमै पुग्न सकस पर्ने भएकाले धेरै ज्यान जाने गरेको बस्यालको भनाइ छ ।

मोटरसाइकल बढी दुर्घटनाको कारक

अहिले प्रत्येक युवाको सपना भइसक्यो, मोटरसाइकल । मोटरसाइकल अब शोखभन्दा पनि आवश्यकता बनिसकेको छ । सम्पन्न परिकारका छोराछोरीका साथमा मोटरसाइकल र गाडी दुवै हुन्छन् ।

जिकज्याक गर्दै हिँड्ने, ठूलो आवाज निकाल्ने मोटरसाइकल चालक प्रहरीको हैरानी नै बनिरहेको छ । सहरमा मोटरसाइकलको संख्यामात्रै बढेको छैन, यही दुर्घटनाको कारण पनि बनेको छ ।

जेठ मसान्तसम्म २ सय ४७ मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि दुर्घटना हुनेमा बस, ट्रक र जिप छन् । १ सय १८ बस दुर्घटनामा पर्दा ७४ ट्रक र त्यत्तिनै संख्यामा जिप र कार दुर्घटनामा परेका छन् ।

जुनसुकै सवारी साधन दुर्घटनामा परे पनि ज्यान गुमाउनेमा भने युवा नै बढी हुन्छन् । ‘दुर्घटनामा पर्ने र गराउने दुवैमा युवाकै संख्या बढी छ,’ प्रमुख बस्यालले भने ।

१६ देखि २५ उमेर समूहका यो वर्ष १ सय ९३ दुर्घटनामा संलग्न छन् भने २५ देखि ४० उमेर समूहका २ सय ७८ दुर्घटनामा संलग्न रहेको तथ्यांकले देखाउँछ । ४० भन्दा माथिका उमेर समूहका व्यक्ति भने कम नै दुर्घटनाका कारण बनेका छन् । ९९ दुर्घटनामा यो उमेर समूहका व्यक्ति संलग्न छन् ।

कारबाहीबाटै करोडौं उठ्छ राजस्व

ट्राफिक प्रहरीले दुर्घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्दा करोडौं रुपैयाँ राजश्व संकलन गर्छ । दुर्घटनाको प्रकृतिअनुसार ट्राफिक प्रहरीले जरिवाना लिने गरेको छ ।

कसुरका आधारमा ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गराउने अधिकार ट्राफिक प्रहरीलाई छ । यो आर्थिक वर्षमा भएका सवारी साधन दुर्घटनामा संलग्नलाई कारबाही गर्दा गण्डकी प्रदेशको ट्राफिक प्रहरीले झण्डै १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो आर्थिक वर्षको जेठ मसान्तसम्ममा ९ करोड ९९ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

‘हामी राजस्व संकलनकै लागि भनेर कारबाही गर्दैनौं,’ प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्र बस्याल प्रष्ट पार्छन्, ‘तर, दुर्घटनामा संलग्नलाई कसुरअनुसार कानुनी दायरामा ल्याउँदा यति रकम उठेको हो ।’

अघिल्लो आर्थिक वर्षमा ११ करोड ७१ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment