+
+

अस्ताए पोखराका शैक्षिक वीर बलवीर सिंह

अमृत सुवेदी अमृत सुवेदी
२०७६ असार २३ गते १३:५२

२३ असार, पोखरा । भारतको उत्तराञ्चल (गढवाल) को चामुल जिल्लाको दुर्गम इलाकामा जन्मेर एमए पढेका एक युवकलाई सरकारले ग्रामीण विकास योजनामा सहायक अधिकृत बनाएर तालिम लिन आग्रा पठाउँछ । आग्रामा उनको भेट केशवदत्त नामका एक ब्रम्हचारीसँग हुन्छ । उनीहरुबीच संवाद चल्छ ।

ब्रम्हचारी भन्छन्, ‘सरकारी जागिर खाएर के हुन्छ ? बरु तिमी अरु सेवा गर ।’

युवक भन्छन्, ‘सरकारी जागिर सानो होइन, झन् ठूलो सेवा हो ।’

ब्रम्हचारीले आफ्नो ज्ञानलाई पैसा आर्जनमा होइन सेवामा लगाउन पर्ने बताउँदै भन्छन्, ‘हेर बाबु, तिमी भोलि उपल्लो पदमा बढुवा पनि हौला, तर त्योभन्दा ठूलो कुरा जीवनलाई समाजमा अर्पण गर्न सक्छौ कि सक्दैनौं भन्ने हो । तिम्रो ज्ञान केमा खर्च हुन्छ भन्ने हो । तिम्रो शिक्षा अरुलाई शिक्षित बनाउन प्रयोग हुन्छ कि हुँदैन भन्ने ठूलो कुरा हो ।’

सरकारी जागिर पक्का गरेर तालिम लिन लागेका ती युवकको मन फेरिन्छ । सोध्छन्, ‘म के गर्न सक्छु ? अब त्यो बाटो बताइदिनुस् ।’

ब्रम्हचारीले एउटा चिठी लेखेर थमाइदिन्छन् । युवक तालिम स्थलतिर होइन, सिलगुडी जाने रेल स्टेशनतिर लाग्छन् । सिलगुडीबाट दार्जिलिङ हुँदै नेपालको इलाम छिर्छन् ।

त्यहाँबाट पोखरा आएर शिक्षाको ज्योति छर्न थाल्छन् । तिनै गढवाली युवक हुन्, पोखराको अमरसिंह मावि (पहिलेको सोल्जर हाइस्कुल), पृथ्वीनारायण क्याम्पस र कालिका क्याम्पसलाई यहाँसम्म ल्याइपु¥याउनेमध्येका एक हस्ती बलवीर सिंह नेगी । यो नाम बिर्सने हो भने पोखरेली शैक्षिक विकासको इतिहास अपांग बन्छ ।

बलवीर सिंह नेगीको आँखा अगाडि पोखराले काँचुली फेर्‍यो । ‘ती ब्रम्हचारीलाई नभेटेको भए म यती बेला भारतको कुनै सहरमा सेवा निवृत्त जीवन बिताइरहेको हुने थिएँ होला’, केही समयअघि ८५ वर्षीय नेगीले भनेका थिए, ‘तिनकै मार्गदर्शन र चिठीले आज नेपालको पोखरामा सन्तोषको श्वास फेरिरहेको छु ।’

ती ब्रम्हचारीले दार्जिलिङका लप्टन केशरबहादुर प्रसाईंलाई लेखेको चिठी नेगीलाई थमाएका थिए । प्रसाईंको घरमा इलामका बडाहाकिम सन्तवीर लामाका छोरा अमीरसँग उनको भेट भयो । अमीरले बुबालाई चिठी लेखेर नेगीलाई इलाम पठाए । उनी ट्रकमा चढेर इलाम पुगे ।

वयोवृद्व शिक्षा सेवी बलवीर सिंह नेगीलाई तिथि मिति कण्ठै सुनाएका थिए – २०१५ साल साउन । बडाहाकिम लामाले सानोतिनो भेला नै डाकेर ती भारतीय युवकलाई भने, ‘हाइस्कुलको हेडमास्टर बनाउँछौं, तलब चाहिँ बेसी दिन सक्दैनौं ।’

नेगीले २०१५ साल भदौ १५ गतेबाट इलाम बजारको सरस्वती कन्या हाइस्कुलमा काम थाले । मासिक तलब ७५ रुपैयाँ तोकियो, तर दिने बेलामा फिसबाट आएको पैसा दामासाहीले बाँड्दा हेडमास्टरको भागमा प¥यो जम्मा १४ रुपैयाँ । नेपालमा नेगीको जागिरे जीवन त्यही नेरु १४ बाट सुरु भयो ।

त्यहाँ स्नातकोत्तर गरेका उनी मात्र थिए, अरु त स्कुल फाइनल (१० पास) र बढीमा आईए । नेगीले हेडमास्टरी सम्हाल्दै बिटि (ब्याचलर अफ टिचिङ) पनि सके कै समयमा भारतीय दुतावासको टोली इलाम पुग्यो । टोलीमा रहेका जेडी करवाल नाम गरेका सैनिक अधिकृतले नेगीलाई पोखराको अमरसिंह चोकमा रहेको सोल्जर हाइस्कुल सम्हाल्न आग्रह गरे ।

त्यसरी उनी २०२० सालमा भैरहवा हुँदै पोखरा आए । पोखरा पस्नासाथ उनको मन हिमालले ह¥यो, मान्छेहरुको मुस्कानले मोहित र बतासले आनन्दित बनायो । ‘त्यो दिन पुरै हिमाल खुलेको थियो । सा–साना घर, ढुंगा छापिएका बाटा, सिस्नो घारी र हरिया फाँट’, केहि दिनअघि नेगीले सम्झिदै सुनाएका थिए, ‘पोखरा छोडेर कतै नजाने बाचा त्यसै दिन गरें ।’

२०२२ सालमा पृथ्वीनारायण क्याम्पसमा बिएमा इतिहास विषय सञ्चालन गर्ने योजना बनेछ । महेन्द्रसिंह थापाले नेगीलाई आग्रह गरे– ‘तपाईं आइदिनुप¥यो ।’ उनले मासिक सय रुपैयाँ तलबमा दैनिक एकपिरियड पढाउन थाले । २०२५ सालमा त उनी पृथ्वीनारायण क्याम्पसमा स्थायी नै भए । तलब पुग्यो ३७५ रुपैयाँ ।

त्यसबेला पृथ्वीनारायण क्याम्पसको संरचना साह्रै कमजोर थियो । त्यो कालखण्डमा जर्ज जोन सरले रातदिन गरेको दुःखको बयान नेगीले गरिरहन्थे । उनी भन्थे, ‘पछि हामी पनि साथ दिन पुगेका थियौं, पिएन क्याम्पस यहाँसम्म आइपुग्नुमा थुप्रैको धेरै मिहेनत परेको छ ।’

२०३५ सालमा क्याम्पस प्रमुख भएका नेगीले पृथ्वीनारायण निरन्तर २०५८ सालसम्म सेवा गरे । त्यसपछि उनकै अगुवाइमा कालिका क्याम्पस खुल्यो । वीरेन्द्रसिंह गुरुङ, डा. कृष्ण केसी, डा. चन्द्रबहादुर गुरुङ, महेश गुरुङ लगायतको पहलले सेती पारी कालिका क्याम्पस खोल्न सकिएको नेगी बताउँथे ।

कालिका क्याम्पस प्रमुखबाट २०७२ सालमा अवकास लिएका नेगी भन्थे, ‘पोखरामा पाइला राख्दा लोर्के ठिटो थिएँ, यही बुढो भएँ । के गरें, कति गरें पोखराले भन्ला, पोखरेलीले सम्झलान् ।’

उनका वैंशका उर्जावान दिनहरु सोल्जर हाइस्कुलमा खर्च भए । कति आशा–भरोसा पृथ्वीनारायण र कालिका क्याम्पसमा मिसिए । बुढ्यौलीका सयौं दिग्दारीहरु हजारौं विद्यार्थीका बढाई, पढाई, सफलता खुसीमा बदलिए ।

बिक्रम संवत १९९० सालमा गडवालमा जन्मेका बलवीर सिंह नेगीले पोखरालाई कर्मथलो र स्थायी घर बनाए । जीवनभर चक–डस्टर घोटेर यो सुन्दर उपत्यकामा शिक्षाको उज्यालो छरेका उनी गत बुधबार साँझ संसारबाट विदा भएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?