Comments Add Comment

गण्डकी प्रदेशमा ५ वर्षमा ३५ सय किलोमिटर कालोपत्रे !

चार थरी सडकलाई प्रादेशिक लोकमार्ग नामाकरण

६ साउन, पोखरा । सायदै कुनै गाउँ होला, जहाँ सडक पुगेको छैन । गाउँ गाउँसम्म सडकको जालो फैलिएको छ । सडकको यस्तो जालो, जहाँ सरकारको ठूलो लगानी फसेको छ ।

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सडक दीर्घकालीन छैनन् । जमिन छियाछिया बनाउँदै भइरहेको सडक क्रान्ति अझै रोकिएको छैन ।

तर गण्डकी प्रदेश सरकारले भने चार किसिमका सडकलाई मात्र प्राथमिकतामा राखेको छ । ती हुन् प्रदेश राजधानीदेखि स्थानीय तहसम्मको सडक, स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्मको सडक, एक निर्वाचन क्षेत्र एक सडक र एक जिल्लादेखि अर्को जिल्ला जोड्ने सडक । यी चार खालका सडकलाई प्रादेशिक लोकमार्ग नाम दिएर कालोपत्रे गर्ने प्रदेश सरकारको नीति छ ।

गण्डकी प्रदेशभित्र अहिले ९ सय ३७ कालोपत्रे सडक छ । ५ वर्षमा कालोपत्रे सडकको दुरी ३ हजार ४ सय ५० पुर्‍याउने प्रदेशको नीति तथा योजना आयोगले आइतबार सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको आधार पत्रमा उल्लेख छ । उक्त आधार पत्रअनुसार अबको १० वर्षमा भने गण्डकी प्रदेशभित्र ६ हजार ९ सय ५० किलोमिटर सडक कालोपत्रे भइसक्ने छ ।

२१०० सालसम्म प्रदेशभित्र १२ हजार किलोमिटर सडक कालोपत्रे हुने र त्यसले जनताको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय, कुल ग्राहस्थ उत्पादनमा सघाउ पु¥याउने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले बताए ।

प्रादेशिक लोकमार्ग कालोपत्रे गर्ने, त्यहाँसम्म अन्य विकासका संरचना पुर्‍याउने उपाध्यक्ष शर्माको भनाइ छ ।

‘रुपान्तरणकारी तिनै सडकका वरिपरी नयाँ बस्ती निर्माण हुनेछ । तिनै सडकका वरिपरी औद्योगिक क्षेत्र स्थापना हुने छ,’ योजना आयोगका उपाध्यक्ष शर्माले भने, ‘जसले प्रदेशको विकासलाई सन्तुलित बनाउने छ ।’

मुग्लिनदेखि दमौली–पोखरा–कुश्मा हुँदै बागलुङ बुर्तिवाङसम्मको सडकलाई प्रदेशले विकास अक्षको रुपमा लिएको छ ।

कोरलादेखि पोखरा र पोखरादेखि तनहुँको भीमाद हुँदै नवलपरासीको दुम्कीवास त्रिवेणी सडकलाई प्रदेशको अर्को विकास र समृद्धिको आधार मानिएको उपाध्यक्ष शर्माले बताए ।

पोखरा चक्रपथसहित यस्ता ८ सडकले आर्थिक वृद्धिदर, आय, उत्पादन बढाउँदै गरिबी, बेरोजगारी घटाउँदै रोजगारीका अवसर सिर्जना गर्ने उनको भनाइ छ ।

पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास गर्ने पञ्चवर्षीय योजनाको आधार पत्रमा छ ।

प्रदेशको विकास अक्ष मानिएका आठ सडक

१.मुग्लिङ—दमौली—पोखरा—कुश्मा—बाग्लुङ–बुर्तिबाङ
२. पोखरा—पुतलीबजार—वालिङ—गल्याङ—चापाकोट
३. कोरला—जोमसोम—बेनी—कुश्मा—पोखरा—भीमाद—दुम्कीबास—त्रिवेणी
४. अर्मादी–सेतिबेनी–रुद्रबेनी–मिर्मि–गल्याङ—चापाकोट–देउघाट–गैंडाकोट—कावासोती शालिग्राम सांस्कृतिक मार्ग
५. डुमे्र—बेसीशहर—धारापानीे–रुइलाभञ्ज्याङ
६. बेनीघाट—आरुघाट—श्रीनिवास—सानागाउँ—रुइलाभन्जाङ
७. पोखरा चक्रपथ
८. पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास हुने दोस्रो चक्रपथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment