
२ भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल तीन वर्ष थप गरेका छन् ।
प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा जनाएअनुसार सुरक्षा स्थितिलाई ध्यानमा राखेर जनरल बाजवाको कार्यकाल बढाउने निर्णय लिइएको हो ।
जनरल बाजवा नोभेम्बर २०१६ मा सेना प्रमुख भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरीफले सेना प्रमुख नियुक्त गरेका थिए ।
उनी नोभेम्बरमा सेवानिवृत्त हुँदै थिए तर, दुई महिना अगाडि उनको कार्यकाल थप भएको छ । उनको थप भएको तीन वर्षे कार्यकाल वर्तमान कार्यकाल पुरा भएको दिनबाट गणना हुने वक्तव्यमा उल्लेख छ ।
पाकिस्तानको मामिलामा सेना प्रमुखको नियुक्ति तथा सेवा विस्तार प्रधानमन्त्रीको सबभन्दा महत्वपूर्ण निर्माण मध्ये एक मानिन्छ । यसले सरकार र सेनाको सम्बन्धलाई परिभाषित गर्छ । कतिपयले भने यसको प्रत्यक्ष असर सरकार र उसको निर्णय क्षमतामा पर्ने बताएका छन् ।
विश्लेषकहरुका अनुसार प्रधानमन्त्री खान र जनरल बाजवाको केमेस्ट्री अद्भुत छ । पाकिस्तानमा निकै लामो समयपछि यस्तो अवस्था आएको छ, जसमा राजनीतिक र सैन्य नेतृत्वको सोच समान देखिएको छ ।
विपक्षीले भने प्रधानमन्त्री खानमाथि सेनाको मद्धतमा सत्ता पाएको आरोप लगाएको छ । खानको पार्टी पीटीआईले भने यो आरोप अस्वीकार गरेको छ ।
प्रतिक्रिया 4