Comments Add Comment

कान्ति लोकपथमा ढिलाइ, पहिरोले ३० करोड खर्च थपियो

५ भदौ, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक राजमार्ग कान्ति लोकपथको निर्माण चालु आर्थिक वर्षमा पनि नसकिने भएको छ । यद्यपि, यसै आवमा ठूला सवारीका लागि भने सडक खुला गरिने तयारी छ ।

दशैंसम्म ठूला सवारी चलाउने गरी निर्माण भइरहेको सडकमा वर्षाले ठूलो क्षति पुर्‍याएपछि लक्षित समयमा सक्न समस्या परेको कान्ति लोकपथ आयोजनाका प्रमुख विनोद सापकोटाले बताए । आयोजनाका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ मा यो सडकमा कठिन चट्टाने पहिरो रहेको ५ किलोमिटरबाहेक सबै खण्डमा कालोपत्रे सकिनेछ ।

बाँकी ५ किलोमिटर खण्डमा पनि सहज खालको ट्रयाक बनाएर अर्को आर्थिक वर्षमा आयोजनाको काम टुंग्याइने आयोजनाका प्रवक्ता अमिन्द्र खड्काले जानकारी दिए । यो वर्षामा विभिन्न भागमा सडक भासिएर तथा सडकमा पहिरो आएर ठूलो क्षति भएकाले त्यसले पनि ठूलो नोक्सानी भएको उनको भनाइ छ ।

‘अहिले लागेको ठेक्का बाहेकको काम गर्न नै करिब ३० करोड खर्चनुपर्ने भयो,’ उनले भने ।

हालसम्म यो सडक खण्डको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर खण्डमा कालोपत्रे भइसकेको छ । अरु २७ किलोमिटर खण्डको काम यसै वर्ष गर्ने र करिब ५ किलोमिटर खण्डको कालोपत्रे अर्को आर्थिक वर्षमा गरेर आयोजनालाई पूर्णता दिने योजना बनाइएको छ ।

‘सकेसम्म दशैंअघि नै यो रुटमा ठूला सवारी आवागमन खुला गर्ने योजना हो, तर सकिएला जस्तो छैन,’ खड्काले भने, ‘यो आर्थिक वर्षमा ठूला मालबाहक र यात्रुबाहक सवारीलाई सञ्चालन योग्यचाहिँ बनाउँछौं ।’

६२ वर्षअघिको योजना

यो सडकका लागि ०१४ सालमा ट्रयाक खोल्न सुरु गरे ०१६ मा काम सकिएको थियो । तर, त्यसपछि बाग्मती खोलामा पुल नबन्दा र केही चट्टाने भीरको क्षेत्रमा सडकको अवस्था नसुधार्दा करिब ५० वर्ष यो सडक अलपत्र नै रह्यो ।

दोस्रो जनआन्दोलनपछि बल्ल यो मार्गको निर्माणमा सरकारले चासो देखायो । त्यसअनुसार निर्माण सुरु भएको ६० वर्षपछि यो राजमार्गमा कालोपत्रे सुरु भएको हो । हालसम्म आयोजनाले मकवानपुरतर्फ ३० र ललितपुरतर्फ १५ किलोमिटर खण्डमा कालोपत्रे गरिसकेको छ । अघिल्लो वर्षको दशैंमा नै सडकको निर्माण सक्ने भनिए पनि विष्फोटक पदार्थ अभावको कारण ढिलाइ भएको थियो ।

हाल आयोजनाले चट्टानयुक्त सडक क्षेत्रका लागि दुई वटा छुट्टै ठेक्का लगाएर ट्रयाक सहज बनाउने काम गरिरहेको छ । अन्य ट्रयाक खुलिसकेका खण्डमा कालोपत्रे गरिँदैछ ।

बढ्दै लागत

यो बाटो बनेपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ किमी र पालुङ हुँदै आउने १२६ किलोमिटर बाटोको विकल्प तयार हुनेछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म २ अर्ब ५१ करोड खर्च गरेको छ ।

यो आयोजना सकिँदासम्म साढे ३ अर्ब खर्च हुने अनुमान छ । यो वर्ष मात्रै आयोजनाले ६० करोड बजेट पाएको छ । गत वर्ष ६७ करोड खर्च भएको थियो ।

काठमाडौंबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियाको सरकारी कम्पनीले तयार गरेको थियो ।

कान्ति राजपथ निर्माण सकिएपछि ललितपुरका दुर्गम दक्षिणपूर्वी भेग र मकवानपुरको पूर्वोत्तर भेगका बासिन्दाको जीवनयापनमा सुधार आउने स्थानीयको अपेक्षा छ । वीरगन्ज नाकाबाट नेपाल तथा भारतबीच हुने व्यापार विस्तारमा समेत यसले सहयोग पु‍र्‍याउने विश्वास गरिएको छ । यसले पूर्वी नेपाल र वीरगञ्जबाट हुने काठमाडौंको आपूर्ति व्यवस्थालाई सहज गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment