
२ असोज, काठमाडौं । कास्कीको प्राइम सहकारी संस्था लिमिटेडले नियम विपरीत शुल्क असुल गरेको वचतकर्ताले गुनासो गरेका छन् । वचतकर्ताले खाता बन्द गर्दा सहकारी संस्थाले शुल्क लिएको हो ।
संस्थाका निक्षेपकर्ता नविन थापाले सहकारीले आफूलाई खाता बन्द गर्दा नियम विपरीत एक हजार रुपैयाँ शुल्क असुलेको बताए । उनका अनुसार खातामा १० हजार रुपैयाँ उक्त सहकारी संस्थामा रकम जम्मा भएको थियो ।
सहकारी संस्थामा बिहीबार खाता बन्द गर्न पुगेका थापालाई खाता बन्द शुल्क भनेर सहकारीले १ हजार रुपैयाँ लिएको छ । जम्मा १० हजारमा १ हजार शुल्क काटेर सहकारीले थापालाई ९ हजार रुपैयाँ फिर्ता दिएको छ ।
सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले कुनै पनि सहकारीले त्यसरी शुल्क लिन नहुने बताए । खाता बन्द गर्दा शुल्क लिने व्यवस्था नरहेको भन्दै उनले पीडितले उजुरी गरे कारबाही हुने जानकारी दिए ।
प्राइम सहकारी संस्थाले भने नियम विपरीत आफूहरुले शुल्क नदिएको दावी गरेको छ । संस्थाका सचिव तथा कार्यकारी निर्देशक सुरेन्द्रमणि पौडेलले संस्थाको विनियमावली अनुसार नै शुल्क लिएको बताए ।
उनले निक्षेपकर्ता थापाले सहकारीबाट लिएको चेकबुक पनि फिर्ता नगरेको कारण शुल्क लिन सहकारी संस्था बाध्य भएको बताए । ‘हामीले गैह्र कानूनी तरिकाले शुल्क लिएका होइनौ., खाता बन्द गर्दा चेक बुक फिर्ता गर्नुपर्छ तर उहाँले गर्नुभएको छैन’ सचिव पौडेलले भने, ‘वहाँले चेक बुक हरायो, लाग्ने शुल्क लिनुस् भन्नु भएको छ, यसरी बैंकले पनि शुल्क लिन्छ हाम्रो विनियमावलीमा पनि छ ।’
प्रतिक्रिया 4