+
+

ग्वालीचौरमा न्वागी मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १६:५०

१ मंसिर, गुल्मी । पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्व अर्थात न्वागी मेला सुरु भएको छ ।  गुल्मी र बाग्लुङ जिल्लाको सिमाना पौंदीमा न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा यस वर्ष पनि बाग्लुङको बडीगाड गाउँपालिका ५ ग्वालीचौरस्थित खार बजारमा मेला सुरु भएको हो ।

यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौंदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।

परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् ।

 न्वागीको सुरुआत

नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर इस्मा राज्य अन्तगर्त पर्थ्यो ।

गुल्मीको नेटा, पौंदीअमराई, इस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई इस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको समितिका अध्यक्ष कलाधर घिमिरे बताउँछन् ।

बाइसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट इस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए ।

उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।

मेलाको अवसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन् । यस वर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ ।

खुल्ला भलिबल प्रतियोगिता, गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता, लोकगीत तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, कुर्सी दौड, लुठो तान प्रतियोगीता, शैक्षिक प्रदर्शनी, कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तु प्रदर्शनी लगायतका कार्यक्रमले यस वर्ष पनि प्राथमिकता पाएका छन् ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका लोकदोहोरी ,आधुनिक, तथा हास्यकलाकारको बोजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।

कृषकहरुले उत्पादन गरेका नगदे, हिउँदे, खाद्यान्न, बेमौसमी लगायतका कृषि प्रदर्शनीहरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

दुई जिल्लाको पर्व

ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको बडीगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, इस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाइने गरिन्छ ।

मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पीङ्ग लगायत गरि साना र ठूला व्यापारको बिभिन्न स्टलहरु बुकिङ हुने गरेका छन् । विशेष गरी मेलामा बढी मात्रमा फलफुल अन्तर्गत सुन्तला, होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ ।

यसवर्ष करिब १ करोड बराबरको कारोबार गर्ने मेलाको प्रचार प्रसार समितिका संयोजक बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

१ लाख बढी पुरस्कारको भलिवल, ८० हजारको राष्ट्रिय कराँते

यस वर्ष १ लाख २ हजार रुपैया प्रथम पुरस्कार भएको भलिवल प्रतियोगीता राखिएको छ । त्यसैगरी देशभरका करिब २ सय खेलाडीहरुको सहभागीता रहने गरी राष्ट्रिय कराँते प्रतियोगिता पनि आयोजना गरिएको छ ।

बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सितोरियो कराँते बडीगाड डोजोको आयोजनामा ८० हजार राखी प्रथम पुरस्कार रहेको गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?