
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा आयोजकले नेपालले शानदार शुरुवात गरेको छ । दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले सर्वाधिक १५ स्वर्ण जित्यो ।
नेपालले रजत पदक जित्दै दिनको शुरुवात गरेपनि स्वर्ण जित्दै अन्त्य गर्यो ।
साग इतिहासमा नेपाललाई सर्वाधिक स्वर्ण दिलाएका तेक्वान्दो र करातेको खेलहरु सोमबारबाटै शुरु भएकोले नेपालले पहिलो दिन धेरै स्वर्ण आफनो पक्षमा पार्न सफल भएको हो । तेक्वान्दो र करातेमा नेपालले समान ७ स्वर्ण जित्दा ट्रायथलनमा १ स्वर्ण जित्यो ।
कराँतेकी चन्चला दनुवारको रजत पदकबाट दिनको शुरुवात गरेको नेपालले अन्तिममा तेक्वान्दोको पुम्सेतर्फ टिम इभेन्टमा स्वर्ण जितेको हो ।
कराँतेको महिला एकल कातातर्फ चन्चला दनुवार फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भइन् । यस स्पर्धामा पाकिस्तानकी साइदाले स्वर्ण जितिन् र उनी १३औं सागमा पिहलो स्वर्ण जित्ने खेलाडी बनिन्।
सोमबार दिनैभर सातदोबाटोबाट नेपालको लागि खुशीको खबर आइरहँदा कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जिते । सन् १९९९ मा नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले कराँतेको एकल कातामा स्वर्ण जितेका थिए ।
त्यसको २० वर्षपछि नेपालले कातामा स्वर्ण जित्दा मण्डेकाजीले पुरुषको एकल काता र पुरुष टिम कातामा स्वर्ण जित ।
११औं मा छनोट भएर पनि खेल्न नपाएको र १२औं मा कराते नै समावेश नभएपनि मण्डेकाजीले हरेश नखाई मिहिनेत गरेर घरमै दुई स्वर्ण जितेका हुन् । इखले जसरी पनि सागमा स्वर्ण जित्नुपर्छ भनेर लागेका मण्डे स्वर्ण जित्नेमा पूर्ण आत्मविश्वासका साथ खेलेका थिए र सफलता समेत हात पारे ।
टिम कातामा उनले प्रविण मानन्धर र महसुस तामाङसँग मिलेर स्वर्ण जितेका थिए । सबै खेलाडीको सागमा यो पहिलो स्वर्ण थियो ।
यस्तै ११औं सागमा रजत जितेकी अनु अधिकारीले ९ वर्षपछि कराँतेमा स्वर्ण जितिन् ।
तेक्वान्दोतर्फ आयशा शाक्यले पुम्सेमा स्वर्ण जित्दै दुई फरक विधामा स्वर्ण जित्ने कीर्तिमान बनाइन् । सन् २०१० मा ढाका भएको ११औं सागमा फाइटतर्फ स्वर्ण जितेकी आयशाले यस पटक पुम्सेतर्फ दुई स्वर्ण जितिन् ।
एकलतर्फ २९ वर्षमाथी स्वर्ण जितेकी आयशाले २९ वर्षमाथिको यगलमा सन्जिव कुमार ओझासँग मिलेर स्वर्ण जितेकी हुन् ।
तेक्वान्दोमा नेपालले ७ स्वर्ण जित्दा बाँकी पाँच विधामा भने नेपाले नयाँ स्वर्ण विजेता पायो । पुम्सेमै कमल श्रेष्ठ सिना मादेन लिम्बु र पार्वती गुरुङले स्वर्ण जित्दा अन्य दुई टिम इभेन्टमा नेपालले स्वर्ण जित्यो ।
पहिलो पटक सागमा पुम्से विधा समावेश गरिएको हो । १३ इभेन्टमध्ये नेपालले सर्वाधिक ७ वटामा स्वर्ण जित्यो। यस्तै नेपालले १ रजत र ४ कास्य समेत जित्यो ।
यसैगरी पोखरामा सोमबारै देखि शुरु भएको ट्रायथलनमा पनि नेपालले पहिलो दिन एक स्वर्ण जित्यो । २०१६ मा भारतमा भएको १२ औं संस्करणबाट समावेश भएको ट्रायथलनमा नेपालले पहिलो स्वर्ण जितेको हो ।
महिलातर्फ सोनी गुरुङले नेपाललाई स्वर्ण दिलाएकी हुन् । यस्तै नेपालले ट्रायथलनमा एक कास्य समेत जित्यो ।
कोको हुन् त नेपाललाई स्वर्ण दिलाउनेहरु ? हेर्नुस् तस्वीरमाः












प्रतिक्रिया 4