+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गढीमाई मेलामा पशुबली सुरु

मेला हेर्ने लाखौं दर्शनार्थीको भिड

सुरेश बिडारी सुरेश बिडारी
२०७६ मंसिर १७ गते १३:४९

१७ मंसिर, वीरगञ्ज । बाराको गढीमाई मेलामा मंगलबारबाट पशुबली दिन सुरु गरिएको छ । सोमबार अबेर रातिबाट सुरु गरिएको मुख्य पूजा सम्पन्न भएपछि मंगलबार बिहान पञ्चबली दिइएको हो ।

त्यसपछि मेलामा दर्शनार्थीले पशुबली दिन सुरु गरेका हुन् । पञ्चबलीमा बोका, कुखुरा, परेवा, मुसा र राँगा बली पर्छ । मन्दिरका मूल पुजारी थारु समुदायका छन् । ११ औं पुस्ताका रुपमा शिव चौधरी मूल पुजारीको रुपमा छन् ।

मूल पुजारीको घरमा पुजा सकिएपछि सोमबार रातिबाट ब्रम्हस्थानमा पूजा सुरु गरिएको थियो । त्यहाँ पूजा सकिएपछि माईको मन्दिर अगाडी रहेको पुरानो त्रिशुल हटाएर नयाँ फेरिएको थियो । त्यसपछि फर्केर आई ब्रम्हस्थानमै मंगलबार बिहान पञ्चबली दिइएको थियो ।

गढीमाईलाई हाँस, कुखुरा, सुँगुर लगायत अन्य विभिन्न समेत पशुबली दिइन्छ । पशुबली अघि नरबली दिने चलन छ । चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउँछन् । सिमरी गाउँबाट आएका दुखा धामीले यसवर्ष मेलामा नरबली दिएको मूल पुजारी शिव चौधरीले बताए ।

‘मुख्य पूजा नै मान्छेको रगत चढाउने हो, हामी सबैले दिन सक्छौं तर गढीमाईको मन्दिर छेउमा हुँदा प्रत्येक दिन रगत दिनुपर्ने हुन्छ,’ मुख्य पुजारी चौधरीले भने ‘त्यसैले हामीले धामी मानेका छौं, उनीहरु जहिले आउँछन् । रगत चढाउनैपर्छ ।’

मंसिर १ गतेदेखि सुरु भएको मेलामा मंगलबार र बुधबार दुई दिन पशुबली दिने कार्यक्रम राखिएको थियो । मेलामा मंगलबार राँगा र बुधवार बोका, हाँस र कुखुराको पशुबली दिने भनिएपनि दर्शनार्थीहरुले आ–आफ्नो ढंगले बली दिन सुरु गरिसकेका छन् । पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली दिन थालिसकेका छन् ।

गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुर गाउँमा पर्छ । तराईमधेस क्षेत्रको विश्व प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ ।

मेलामा लाखौंको संख्यामा दर्शनार्थीको भिड देखिएको छ । मंगलबार र बुधबार मुख्य पूजाको दिन भएकाले भिड अझै बढ्ने मुल पुजा समितिले जनाएको छ । बरियारपुरदेखि कलैयासम्म गढीमाई जाने आउने भक्तजनको घुँईचो छ ।

गढीमाई मेला नेपालका विभिन्न स्थानबाट मात्रै नभएर भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजन आउने गरेका छन् ।

सीमावर्ती सहर रक्सौल, आदापुर, घोडासहन लगायत विहार राज्यका विभिन्न स्थानबाट भक्तजन मेलामा आएका छन् ।

सोमबारसम्म २० लाख भन्दा बढी भक्तजनले मेला भरिसकेको र मंगलबार र बुधबार गणना गर्नै नसकिने गरि भक्तजन आएको मेला व्यवस्थापन समितिको भनाइ छ ।

पैदलै मन्दिर सवारी

सवारीसाधन मेला स्थलसम्म पुग्न नसक्ने भएपछि दर्शनार्थीहरु पैदल नै मेला भर्न पुगेका छन् । सोमबार बेलुकीदेखि कलैयाबाटै सवारीको जाम लागेपछि सर्वसाधरण हिँडेरै मन्दिर स्थल पुगेका थिए ।

सर्वसाधरणले लिएर गएका मोटरसाइकल, जिप, कार, बस, ट्रक, मिनी बस, तथा ट्रयाक्टर मेला स्थल भन्दा २/३ किलोमिटर वरै खेत र सडक किनारमा रोकेर राखिएका छन् ।  सुरुमा शःशुल्क पार्किङको प्रबन्ध गर्ने तयारी गरिएपनि त्यसलाई हटाइएको छ ।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर छ ।

मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रम्हबाबाको स्थान छ । ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाई लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारू जातिका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?