Comments Add Comment

यसरी समाधान गरौं नेपाल–भारत सीमा समस्या

मैले एउटा कुरा सुनेको छु, शायद यो कुरा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि सुन्नुभएको होला, यदि त्यस दिन उहाँ क्लासमा आएको भए । उहाँको प्रसंग यस अर्थमा जोडिएको हो कि उहाँ अहिले शक्तिशाली पार्टीका केन्दीय सदस्य मात्र नभई सो पार्टीको विदेश विभागका उपप्रमुख पनि हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेपालभारतबीच बढ्दै गएको सीमा विवादबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न नेपालको प्रतिनिधिका रुपमा नयाँदिल्ली जाँदैहुनुहुन्छ भन्ने समाचारहरु सुन्न थालिएको छ । रिजालजी माधव नेपालको नजिकका सहयोगी नेता पनि मानिनुहुन्छ ।

सुनिएको कुरा के भने भारत स्वतन्त्र भएलगत्तै बनेको सरकारका गृहमन्त्री बल्लव भाइ पटेलले भारतले आफू आसपासका स–साना देशहरु आफ्नो भूमिमा मिलाउने उपयुक्त समय आएकाले यसबारे सोच्ने कि भन्ने विषय उठाएछन् । प्रधानमन्त्री थिए, जवाहरलाल नेहरु । नेहरुले गमेर जवाफ दिएछन्, ‘पटेल भाइले राखेको प्रस्ताव सही भए पनि नेपालमा बीपी कोइराला जिवित रहुञ्जेल हामी यसो गर्न सक्दैनौं । बीपीलाई भारतको राजनीति हामीलाईभन्दा बढी थाहा छ, यदि नेपाललाई भारतमा गाभ्ने हो भने बीपी भारतका प्रधानमन्त्री बन्नेछन् र हाम्रो अस्थित्व त्यति सजिलो हुँदैन । त्यसैले यसबेलामा नेपाललाई भारतसँग मिसाउने विषय ननिकालौं, बीपीपछि सोचौंला । नेपाललाई सक्दो कमजोर पार्ने प्रयास भने जारी राख्नुपर्छ ।

भनिन्छ, नेहरु–पटेल सम्वादको अडियो रेकर्ड अझै पनि भारत सरकारसँग सुरक्षित छ ।

नेहरुले जीनवभर भारतको सत्ता समाले, मर्ने बेलामा छोरी इन्दिरा गान्धीलाई स्थापित गरेर गए । इन्दिरा गान्धीको हत्यापछि राजीव आए । राजीवको हत्यापछि पनि कांग्रेसले नेहरु पथ छोडेको छैन । अहिले सत्ता बाहिर भए पनि नेहरुकै नाति पार्टीका प्रमूख छन् । नेहरुबाट सुरु भएको नेपाल सताउने खेल इन्दिरा हुँदै राजीवसम्म आयो । कहिले सीमामा सेना राख्ने त कहिले नाकावन्दी, अनि सीमास्तम्भ सार्ने आदि ।

बद्री ओझा

यस अर्थमा हामीले सघैं यस विषयमा सजक रहनुपर्छ । भारत निर्वासनमा रहेका बीपी यही तथ्य बुझेर नेपाल फर्केका हुन सक्छन् । अथवा भनौं भारतीयहरुसँग पेलिएर बस्नुभन्दा राजाकै जेलमा बस्छु भनेर बीपी फर्केका थिए । बीपीकै एउटा पुस्तकमा नेपाललाई जातीय दंगाबाट टाढा राख्न सके भारतको केही नचल्ने प्रसंग छ । राजनीतिको कुरा फरक छ, यसलाई यहाँ नमिसाउँ ।

लहडमा ल्याइएका कतिपय विषयले पछि पिर्छन् । माओवादीले राम्रो होम वर्क नै नगरी जातका आधारमा संघीयता लागू गर्ने विषय उठाएर कत्रो बखेडा सुरु भयो । जातिका नाममा उठेको स्वर अझै मत्थर भएको छैन । देश टक्रन सक्ने खतरा अझै बाँकी छ ।

भारतले आफू स्वतन्त्र भएको करिव १७ वर्षपछि सिक्किमलाई बिना रक्तपात आफ्नो देशमा मिलायो । यसको छनक हाम्रो पनि देखिएको छ, त्यो हो, नेपाली भूमिमा बसोबास गर्दै आएका पुराना मधेसीहरुलाई भन्दा भारतबाट भर्खरै आएका वा उतै बसोबास गर्दै आएका भारतीयलाई नेपाली नागरिकता दिने प्रचलन ।

मधेसमा अत्याधिक नव नागरिकको संख्या बढ्दै जाँदा जनसंख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र स्वतः बढ्नेछन् । पहाड रित्तिने क्रम अझ बढेको छ । यसो हुँदा कुनै दिन भारतीय मूलका नेपाली नागरिकताधारीको संघीय संसदमा दुई तिहाइ बहुमत भए तत्काल संविधान शंशोधन गरेर मतदानमार्फत नेपाललाई भारतमा मिलाउने प्रयास गर्न बेर लाग्दैन ।

यसबारे नेपाली नेताहरुले समयमै सोच्नुपर्छ । देशको अस्थित्व समाप्त भए जनतालाईभन्दा नेतालाई बढी पीडा हुन्छ, कारण अहिले हाम्रा नेताहरु भोलि महानगरका मेयरमा पनि फिट नहुन सक्छन् । अधिकांश नेपाली मूलका मानिसको जनमत रहेको दार्जीलिङमा अहिले पनि गैरगोर्खा नश्लका नेताहरुले चुनाव जितेका हामीले देखेकै छौं ।

कुनै अतिवादी सोच होइन, तथ्यपरक विश्लेषण गरौं । कुनैबेला स्वतन्त्र राज्य रहेको कश्मिर अहिले कस्तो रणभूमि बनेको छ, यसमा हामीले सोच्नुपर्छ । नेपालले यसैबेला भारतलाई साइजमा राख्न सकेन भने हामीले देश गुमाउन सक्छौं । यसैबेला यस अर्थमा कि नेपालमा करिव ६० वर्षपछि बलियो सरकार बनेको छ ।

नेहरुले भने झैं भारतले नेपाललाई कमजोर पार्ने कदम चाल्दै नै रहेको छ । चाहे राजनीतिमा हस्तक्षेप गरेर होस् वा सीमास्तम्भ सारेर होस् वा नाकाबन्दी नै । अथवा प्रलोभन बाँढेर । अहिले पनि भारतीय दूताबासबाट भत्ता लिनेमा पत्रकारदेखि कर्मचारीसम्म छन् भने अधिकांश नेताहरुको रोजिरोटी नै उतैबाट चल्छ भन्ने सुनिन्छ । त्यस्तै ०७२ को संविधान जारी पछि भारतको रबैया हामीले भोगेकै हौं ।

अहिले भारतका प्रधानमन्त्रीसँग सीमा विवादबारे छलफल गर्न पूर्वप्रधानमन्त्री माधव नेपालको नेतृत्वमा एक प्रमण्डल भारत जाने प्रक्रियामा छ, भन्ने सुनिएको छ । त्यसैले प्रधानमन्त्रीको समेत अनुभव रहेका माधव नेपालजस्तो वरिष्ठ नेता, उहाँलाई भारतीय राजनीतिको पनि राम्रो अनुभव छ । उहाँले छलफल र चिन्तन गरी सर्वदलीय समितिको नेतृत्व गरी भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ । नेपाल दलमा सीमाविदहरु पनि सहभागी गराइनुपर्छ ।

यस्तो बेला यो पार्टी, वा यो वादी उ वादी नभनी विज्ञताका आधारमा मानिसहरुसँग छलफल गर्नुपर्छ । स्मरण रहोस्, महेन्द्रले पञ्चायत लागू गरेपछि विदेशमा रहेका नेपालीहरुलाई फर्काएका थिए । यदुनाथ खनालदेखि भेषबहादुर थापासम्म । यो तथ्य वर्तमान नेपाली नेतृत्वले बिर्सनुहुँदैन ।

सरकारी क्षेत्रबाट सम्भव नभए गैरसरकारी क्षेत्रकै पहलमा भए पनि चीनका सीमाविदहरुसँग पनि छलफल गर्नुपर्छ । लिपुलेक क्षेत्र नेपाल, भारत र चीन तीनै देशको भूमि जोडिएको विन्दु भएकाले चीनको सुझाव पनि आवश्यक छ । भारत र चीनबीच यसै नाकाबाट व्यापार गर्ने गरी सम्झौतासमेत भइसकेको परिप्रेक्षमा अझ चीनको सहयोग आवश्यक छ । चीनको आवश्यकता त्यतिबेला अझ बढ्छ, जब मोदीले वार्ताका लागि आनाकानी गर्छन् । यसको सुइँको पाइसकिएको छ । प्रधानमन्त्री ओलीले धेरैपटक फोन गर्न खोज्दा मोदीले सम्पर्कमा आउन आनाकानी गरेका छन् भन्ने कुरा पनि बजारमा आएका छन् ।

यदि मोदीले वार्ता गर्ने चासो नराखे सीमा जोडिएको राष्ट्र चीनलाई पनि गुहार्नुपर्छ । त्यति गर्दा समाधान नभए यस विषयलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ । भारतलाई साइजमा राख्ने यो असल बाटो हुन सक्छ । यो उपयुक्त समय पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment