Comments Add Comment

पत्रकार जोसेफ पुलित्जर : आवाजविहिनहरुको आवाज 

२१ औं शताब्दीको आजको दिनसम्म आइपुग्दा पनि नेपाल लगायत विश्वका धेरै सञ्चारमाध्यमहरु राजधानी केन्द्रित पत्रकारिता गर्ने र काठमाडौंलाई नै समाचारको आधार मान्ने परम्परा धेरै देख्ने गरिन्छ । राजनीति नै समाचारको मूल स्रोत ठान्ने परम्परावादी सोचाई राख्नेहरुको लागि एक उदाहरणीय पात्र हुन् जोसेफ पुलित्जर ।

पत्रकारिता जस्तो पेशाले मानिसको समस्याग्रस्त जीवनशैली, चासोको विषय र अन्य विषयबस्तुहरुलाई भन्दा परम्परावादी सोचबाट समाचारको विषयबस्तु छान्नेहरुलाई परास्त गर्दै उदाएका विश्वचर्चित पत्रकार हुन् पुलित्जुर ।

हंगेरीबाट आप्रवासी बनेर आएका जोसेफले आफ्नो जीवनकालको अन्तिमसम्ममा अमेरिकाको सबैभन्दा धनीहरुको सूचीमा आफ्नो नाम लेख्न सफल भएका थिए । अमेरिकी गृहयुद्धको समयपछि मध्यपश्चिमबाट समाचारपत्रको व्यवसाय बारे सिकेका उनले असफल रूपमा रहेको ‘न्यु योर्क वल्र्ड’लाई देशकै सबैभन्दा धेरै बिक्री हुने पत्रिकाको रुपमा विकास गरे।

पत्रिकामा विश्वव्यापी रोचक समाचार

उनले पत्रकारलाई केवल एउटा देशको सीमित शहरमा मात्रै संकुचित गरेर राख्न चाहेनन् । पत्रिकालाई पनि शहरको आसपासमा मात्रै सीमित गराएनन् । त्यसैले उनले एक निडर महिला पत्रकार नेली बेलीलाई विश्वभर यात्रामा पठाएर आकर्षक आकर्षक समाचारको संकलन गर्न लगाए ।

अन्य पत्रिकाहरु त्यतिबेलासम्म पनि राजनीतिक उतारचढाव र परम्परागत रुपमा नै समाचारहरुको खोजीमा व्यस्त थिए । त्यही बेलामा एकमात्रै प्रतिनिधि पठाएर भएपनि उनले विश्वका विभिन्न स्थानको समाचार आकर्षक ढंगले प्रस्तुत गर्न थाले । जसले गर्दा उनी र पत्रिका समेत विश्वचर्चित मात्रै बनेन यसले आर्थिक रुपमा समेत उनलाई निकै फाइदा समेत गर्‍यो ।

उनले जीवन गुजारेको त्यो शताब्दी नै विश्व पत्रकारिताको लागि एक क्रान्तिकारी युगको रुपमा विकास भएको थियो । पुलित्जर जन्मिनुभन्दा एक दशक अघि नै विश्व पत्रकारिता क्षेत्रमा पेनी प्रेसको विकास भइसकेको थियो । त्यतिबेला ६ सेन्टसम्ममा बिक्री हुने गरेका समाचारपत्रहरुलाई उनले एक एक सेन्टमा बिक्री गर्न सुरु गरेका थिए । यसले नै त्यतिबेला पत्रकारिता क्षेत्रमा ठूलो क्रान्तिको बिगुल फुकिसकेको थियो । ‘पेनी प्रेस’ को यो क्रान्तिकारी अवधारणको सुरुवात सन् १८३३ मा सुरु भएको थियो । जब ‘बेन्जामिन डे’ले न्यूयोर्क शहरको एक अखबार ‘द सन’ स्थापना गरेका थिए।

पुलित्जरको क्रान्ति

पेन्नी प्रेसको सुरुवात पछि धेरै मानिसहरुमा पत्रिकाको पहुँच पुगेको भएपनि त्यतिबेला समाचारहरु सम्पादकको रोजाइको आधारमा प्रकाशित हुन्थ्यो । जनताहरुले के चाहन्छन् ? भन्ने बारेमा पत्रिकाको सम्पादन मण्डलले केही पनि ध्यान दिने गर्दैन’थे । त्यही बेलामा पुलित्जरको आवश्यकता विश्व पत्रकारिताले महसुस गरिरहेको थियो । उनले पनि त्यही आवश्यकता पूरा गर्नको लागि ‘द न्युयोर्क वल्र्ड’ नामक पत्रिका किनेर नयाँ अभ्यासको सुरुवातमा लागे ।

निडर महिला रिपोर्टर नेलीमार्फत् विश्वभरीका घटनाहरूलाई प्रकाशित गरेपछि एकाएक उनको पत्रिका विश्वचर्चित हुन पुग्यो । यद्यपि पुलित्जरको त्यो अखबार त्यतिबेला आलोचित पनि नभएको त होइन । आलोचित भएपनि त्यही पत्रिका नै विश्वमा चर्चित मात्रै भएन । त्यही पत्रिकाले नै विश्वलाई ‘पित पत्रकारिता’को अवधारणा सिकायो ।

पीत पत्रकारिता सन् १८९० को दशकमा जोसेफ पुलिट्जर र विलियम र्‍याण्डल्फ हष्र्टबीचको अस्वस्थ प्रतिस्पर्धाबाट जन्मिएको एउटा नकारात्मक व्यवस्था हो । समकालीन यी दुई पत्रकारहरुले आफ्नो पत्रिका धेरै बिक्री गराउनको लागि गरेको अस्वस्थ प्रतिस्पर्धा र सनसनीपूर्ण प्रस्तुतिले नै पत्रकारितामा अहिलेसम्म पनि नराम्रो छाप छाडेको छ ।

को हुन् पुलित्जर ?

जोसेफ पुलित्जरको १० अपि्रल १८४७ मा हंगेरीमा जन्मिएका व्यक्ति हुन् । उनी त्यहाँका एक व्यापारीका छोरा थिए । बाबुको जीवनकालभरी त उनले आर्थिक अभावको महसुस गर्नु परेन । तर, बाबुको मृत्युसँगै उनको अभावको दिन सुरु भयो । उनीहरुले भोग्नुपरेको आर्थिक समस्या यति चर्कियो कि उनीहरु आफ्नो जन्मभूमि छाडेर अमेरिका पलायन हुन बाध्य भए ।

उनीमाथि सानै उमेरमा पारिवारिक जिम्मेवारी थपिएको थियो । त्यसकारण पनि उनले अमेरिका गए लगत्तै त्यहाँको घोडाचढी सेनामा सामेल भए । युद्ध चलिरहेको बेलामा सामेल भएका उनी युद्धको अन्त्यसँगै अमेरिकी सेनाबाट पनि बिदा भए ।

त्यससँगै कमजोर आर्थिक स्थिति भएको परिवारमा हुर्किएका उनी पनि बेरोजगारहरुको सूचीमा सामेल भए । उनले जागिरको लागि त्यसपछि धेरै तिर भौतारिए । भर्खरै गृहयुद्ध सकिएको अमेरिकामा उनले सहजै जागिर पाउन नसकिरहेको बेलामा जर्मनबाट निर्वासनमा रहेका कार्ल शुर्जले मिसौरीमा प्रकाशित गरेको एक जर्मन भाषाको अखबारमा रिपोर्टरको काम पाएका थिए । सन् १९६९ सम्मा उनले आफूलाई अत्यन्त मेहनती पत्रकारको रुपमा साबित गरिसकेका थिए ।

१८८३ मा पुलित्जर न्युयोर्क शहरको भ्रमणमा गए । सोही वर्ष न्यूयोर्कमा घाटामा चलिरहेको न्यूयोर्क वल्र्ड किनेर उनले त्यसैमा समाचार प्रकाशित गर्न थाले । पुलित्जरको त्यो अखबार अरुकोभन्दा भिन्न स्वभावको थियो । जसका कारण बिस्तारै पत्रिकाको नाफा पनि बढिरहेको थियो । पुलित्जरले सबैभन्दा पहिले उनले जनताले समाचारमा के चाहन्छन् बुझे र सम्पादकहरूलाई मानवीय चासोका कथाहरू, ठूला शहर अपराधका झूटा कथाहरू र घोटालाका समाचारहरुमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । पुलित्जरको निर्देशन अनुसार काम भएपछि सो पत्रिकाले आफूलाई आम जनताको समाचारपत्रको रूपमा स्थापित गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment