
२२ माघ, काठमाडौं । चार सचिवको अवकाश र एकजनाको राजीनामासँगै निजामती सेवाका पाँचजना विशिष्ठ श्रेणीका प्रशासक खाली भएको छ । रिक्त पाँच सचिव बढुवाका लागि लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेका छन् ।
गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, डा. गजेन्द्र ठाकुर, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएकामा अनिल ठाकुरको ठाउँमा दिनेश भट्टराई बरिष्ठताका आधारमा सचिव बढुवा भइसकेका छन् । उनलाई प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सचिव बढुवा सिफारिस समितिले एक रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस गर्छ । क्लस्टर अनुसार सचिव सिफारिस गर्नुपर्ने भएकाले डा. गजेन्द्र ठाकुरको ठाउँमा प्राविधिक सहसचिवबाटै बढुवा हुनेछन् ।
त्यस्तै कृषि सचिवबाट राजीनामा दिएका डा. युवकध्वज जिसीको ठाउँमा पनि कृषि प्राविधिक समूहकै बरिष्ठतम सहसचिवको बढुवा हुनेछ । कृषि सेवाबाट योगेन्द्र कुमार कार्की बरिष्ठ सहसचिव हुन् भने प्राविधिकतर्फ सागर राई बरिष्ठ हुन् ।
यद्यपि कृषि तथा पशुपन्छी मन्त्रालयमा अर्का सचिव प्रकाश माथेमा पनि रहेकाले जिसीको ठाउँमा सचिव बढुवा गर्ने वा खाली राख्ने भन्ने निर्णय सरकारले गर्न बाँकी छ । डा. जिसीको राजीनामा सोमबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।
को-को हुन् सचिवका दाबेदार ?
माघ २२ पछि रिक्त रहेका प्रशासन सेवाका तीन सचिवका लागि बरिष्ठताका आधारमा बढुवा गर्दा एकनारायण अर्याल, रामशरण पुडासैनी र टेकनारायण पाण्डे मुख्य दाबेदार हुन् । सिफारिस समितिले भने तीन सचिवका लागि ९ जनाको नाम सिफारिस गर्नुपर्छ ।
प्रशासन सेवातर्फ सचिवका दाबेदार सहसचिवमा अर्जुन पोखरेल, डा. मधु मरासिनी, लक्ष्मी बस्नेत, मानबहादुर जिसी, कृष्णबहादुर राउत, गोकर्णमणी दवाडी, विष्णु नेपाल र सुमनराज अर्याल पनि हुन् ।
यीमध्ये बस्नेत र राउत अहिले सचिव बन्न पाउँदैनन् । उनीहरुले सचिव बन्नुपर्ने तालिम लिएका छैनन् । ४० वर्षको उमेर हाराहारीमा रहेका उनीहरुले सचिव बनेको पाँच वर्षपछि अवकाश लिनुपर्ने हुँन्छ । त्यसैले उनीहरु तत्काल सहसचिवमै रहन खोजेका छन् ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली अध्यक्ष रहेको सिफारिस समितिमा मुख्य सचिव लोकदर्शन रेग्मी सदस्य छन् । त्यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव र कानुन मन्त्रालयका सचिव आमन्त्रित सदस्य हुन्छन् भने एकजना विज्ञ राख्ने नियम छ ।
बरिष्ठता नचलाई सचिव बढुवा हुँदा सम्भावित उम्मेदवारमध्ये एकनारायण अर्याल हाल कोलकातास्थित महावाणिज्यदूत छन् । उनी लामो समय गृह मन्त्रालयमा बसेको काबिल प्रशासक मानिन्छन् । त्यस्तै टेकनारायण पाण्डे हाल ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव हुन् भने पुडासैनी अर्थमन्त्रालयका क्याडर हुन् ।
प्राविधिकतर्फका सचिव बढुवा हुन लागेका सागर राई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत छन् । यसअघि उनी १ नम्बर प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा कार्यरत थिए ।
इन्जिनियरिङ समूहबाट अख्तियारमा कार्यरत रामकृष्ण सापकोटा र शहरी विकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलाल पनि सचिवका दाबेदार हुन् ।
अख्तियार आयुक्त बन्दै राई
प्रधानमन्त्रीले सबैभन्दा विश्वास गरेका प्रेम राईले गृहसचिवबाट अवकाश पाएलगत्तै दिनेश थपलियाले जस्तै कुनै संवैधानिक नियुक्ति पाउने अनुमान धेरैको छ । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने गरी हाल आयुक्तमा सिफारिस गर्ने सम्भावना छ ।

तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको अवकाश र आयुक्त राजनारायण पाठक भ्रष्टाचार काण्डमा परेपछि आयोगमा दुई आयुक्त रिक्त छन् । संवैधानिक परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवाको सिफारिसमा एकजना आयुक्तसहित राईलाई अख्तियारमा लैजाने तयारी रहेको स्रोतले जनाएको छ ।
प्रमुख आयुक्त नवीन घिमिरे आगामी भदौमा अवकाश हुँदैछन् । घिमिरेको अवकाशपछि राई प्रमुख आयुक्त हुने अनुमान कतिपयको छ । यद्यपि बरिष्ठताका आधारमा आयोगकै आयुक्त गणेशराज जोशी प्रमुख आयुक्तका दाबेदार हुनेछन् । तर आयोगका आयुक्तमध्येबाट एकजना प्रमुख आयुक्त बनाउँदा बरिष्ठताको अर्थ नहुने दावी गरिएको छ ।
भावी मुख्य सचिव को ?
लोकदर्शन रेग्मी मुख्य सचिव हुँदै उनलाई कुनै देशमा राजदूत बनाएर प्रेम राईलाई मुख्य सचिव बनाउने कसरत पनि भएको थियो । पछिल्लो समय रेग्मी आफैंले जापान वा अष्टे्रलियाको राजदूत बन्न खोजेको चर्चा पनि चलेको थियो ।
तर अब मुख्य सचिव रेग्मीले आफ्नो तीन वर्षे पूरै कार्यकाल बिताउने देखिन्छ । रेग्मी कात्तिकमा ३ वर्ष पूरा गरी अवकाश हुनेछन् । उनीभन्दा अघि नै ५ वर्षे अवधिका कारण धेरै सचिव अवकाश हुने भएकाले कात्तिकपछि बरिष्ठताका आधारमा चन्द्र घिमिरे मुख्य सचिवका दाबेदार हुनेछन् ।
हाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सचिव रहेका घिमिरेको ५ वर्षे अवधि माघसम्म छ । कात्तिकमै रेग्मी अवकाश हुने भएकाले उनले उमेरका कारण पूरै ३ वर्ष मुख्य सचिव चलाउन पाउनेछन् ।
रेग्मीभन्दा अगाडि परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायतले असोजमा अवकाश पाउनेछन् । माघ २२ मा चार सचिव अवकाशपछि वैशाखमा महेश दाहालले पनि अवकाश पाउनेछन् ।
प्रतिक्रिया 4