
२४ माघ, विराटनगर । विराटनगरमा आयोजित दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि ५ नम्बर प्रदेशले जितेको छ । साबिक विजेता गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै ५ नम्बर प्रदेशले उपाधि जितेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गरे ।
गण्डकीका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरे । सागर आचार्य र किसनबहादुर मागरले गोल गर्न सकेनन् ।
खेलको ३७औं मिनेटमा गण्डकीका पिताम्बर थापाले गरेका थिए । खेलको अन्तिम समय १ मिनेट बाँकी छँदा प्रदेश ५ का शशी दर्लामीले गोल गर्दै खेललाई बराबरी पारे ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।
उदयीमान खेलाडी गण्डकीका पिताम्बर थापा, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ, सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामीले जनही नगद ५ हजार रुपैयाँ पुस्कार पाए ।
शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलमा पराजित गरेको छ ।
प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ को सहभागिता थियो ।
प्रतिक्रिया 4