+
+

पश्चिम सेती नबन्दा स्थानीय निराश

‘जाँतो पिस्ने काम पनि मेसिनले गर्छ भन्थे, तर बत्तीसमेत बाल्न पाएनौं’

रामहरि ओझा रामहरि ओझा
२०७६ माघ २८ गते ९:२७

२८ माघ, डोटी । बैतडी, शिगास गाउँपालिका–५ ढुंगाडका कर्णबहादुर चन्द (६२)ले जवानीमैसेती नदीबाट विद्युत उत्पादन गर्ने कुरा पहिलो पटक सुनेका थिए । त्यतिबेला कुन कम्पनीले काम गर्ने हो, कसरी गर्ने हो भन्ने थाहा थिएन उनलाई । तर, विद्युत उत्पादन हुने कुरा सुनेपछि गाउँ झिलिमिली हुने सपना देख्दै आए । २०३८ सालतिर उनले पालेको यो सपना बुढ्यौली लाग्दासमेत पूरा भएन ।

परियोजना निर्माण हुने भनेर विद्युतको राष्ट्रिय प्रसारण लाइन पनि उनको गाउँमा गएन, न त परियोजना नै बन्यो । निराशाजनक स्वरमा उनी भन्छन् ‘अब त के बन्ला र खै ?’ उनी अब हल्ला मात्रै हुने तर काम नहुने योजना भएको ठान्छन् पश्चिम सेतीलाई ।

सन १९८१ मा फ्रान्सको सोग्रेह नामक कम्पनीले अध्ययन गरी बैतडीको ढुंगाड भन्ने स्थानदेखि लगभग ८ किलोमिटर माथि बाँध बनाइ ३७ मेगावाट बिजुली उत्पादन गर्न सकिने निष्कर्ष निकालेको थियो । सन १९८७ मा सोग्रेहले पुनः सम्भाव्यता अध्ययन गर्‍यो र सन् १९९१ मा सार्वजनिक गरेको प्रतिवेदनमा जलासयरहित आयोजनाकै रुपमा तीन सय ६० मेगावाट बिजुली उत्पादन गर्न सकिने उल्लेख गर्‍यो । तर, उसले काम अघि बढाएन ।

गाउँमा बिजुली बलेपछि जाँतो पिस्न र ओखलमा धान कुट्न पर्दैन, मेसिनबाट हुन्छ भन्थे । तर यस्तो सपना देखाइएको ४० वर्षसम्म पनि मेसिन चलाउन त परको कुरा, बत्ती बाल्न पनि पाएनाैं’
–स्थानीय

सोग्रेहपछि स्मेक कम्पनी पश्चिम सेती बनाउन भनेर आयो । ऊ पनि काम नगरी फर्कियो । थ्रीगर्जेजले पनि काम अघि बढाएन । त्यसैले स्थानीयबासी निराश छन् । ‘सोग्रेह गयो, सात सय ५० मेगावाट विद्युत उत्पादन गर्छु भनेर स्मेक आयो,’ परियोजना निर्माण भएमा डुबान क्षेत्रमा पर्ने भनिएको डोटी आदर्श गाउँपालिका–५ का करिब ५५ वर्षीय नरबहादुर सिंह भन्छन् ‘करिब २० वर्षपछि स्मेक पनि भाग्यो, थ्री–गर्जेज भन्नेले त बनाउँछ कि भनेको, त्यो पनि फर्कियो ।’ जति पटक चर्चा भयो त्यतिनै पटक आफुहरुले धोका पाएकाले अब पनि परियोजना बन्ने आश नभएको सिंह बताउँछन् ।

थ्री–गर्जेजले डुबान क्षेत्रमै अस्थायी टहरा बनाएर परियोजनाको बिस्तृत अध्ययन गर्दा उत्साहित भएका स्थानीयबासी कम्पनीको सामान लैजान एकाएक हेलिकप्टर आएपछि फेरि निराश भए । पछिल्लो समय पश्चिम सेती परियोजनामा कतारका लगानीकर्ताहरुले चासो देखाएको भन्दै बिभिन्न सञ्चारमाध्यममा समाचारहरु आइरहँदा स्थानीयबासीमा भने कत्ति पनि उत्साह देखिँदैन । ‘यो सब हामीलाई मूर्ख बनाउने योजना मात्रै हो, पश्चिम सेती परियोजना बन्दैन,’ ७५ वर्षीय प्रेमबहादुर साउँद ठोकुवाका साथ भन्छन्, ‘हामीहरुलाई झुक्याउने काम मात्रै भइरहेको छ ।’

विद्युत निकाल्ने भन्दै पहिलो पटक नयाँ मान्छेहरु गाउँमा आएको बिर्सेका छैनन् उनले । ‘गाउँमा बिजुली बल्छ अनि जाँतो पिस्न पनि पर्दैन, ओखलमा धान कुट्नु पनि पर्दैन । सबै काम मेसिनबाट हुन्छ भन्थे, तर ४० वर्ष भइसक्यो, मेसिन चलाउने त परैको कुरा, बत्ती बाल्न पनि पाएका छैनौं,’ प्रेमबहादुर भन्छन् ।

पछिल्लो समय पश्चिम सेती बन्नु पर्ने भन्दै काठमाडौंमा कचौरा सहितको प्रदर्शन भएको विषयले पनि आश जगाउन सकेको छैन स्थानीयमा । पश्चिम सेती मूल सरोकार समितिका महासचिव समेत रहेका ढुंगाडका विष्णु चन्द भन्छन्, ‘अब त पश्चिम सेतीको नाम सुन्दा पनि रिस उठ्न थालेको छ ।’

उनी प्रस्तावित सपना परियोजनाकै कारण आफ्नो गाउँठाउँको विकास ४० वर्ष पछाडि धकलिएको बताउँछन् । ‘नदीले बर्सेनि जमिन बगाउँदैछ, राज्यले नदी नियन्त्रणका कार्यक्रमहरु पनि प्रभावकारी रुपमा चलाउन सकेको छैन,’ विष्णु भन्छन्, ‘हामीहरुलाई सरकार भएको पनि अनुभूति छैन ।’ उनी स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारहरुले आफूहरुलाई उपेक्षा गरेको बताउँछन् ।

तलाराका डम्मरबहादुर सिंहले भने सम्पूर्ण रुपमा आश मारिसकेका छैनन् । तर परियोजना निर्माण हुनेमा ढुक्क भने उनी पनि छैनन् । ‘फिप्टी–फिप्टी जस्तो लाग्छ मलाई,’ डम्मर बहादुर भन्छन्, ‘समाचारहरु आउँदा बनि पो हाल्छ कि भन्ने लाग्छ, फेरि कुरा सेलाउँदा अब बन्दैन भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?